Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपिएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमका व्याटर निरिह

एनपिएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमका व्याटर निरिह

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमका व्याटर निरिह

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर पूरा गर्‍यो । यस जितसँगै लुम्बिनीले एनपिएलको इतिहासमा लिग चरणमा पहिलोपटक सुदूरपश्चिमलाई हराउने सफलता पनि हासिल गरेको छ । यसअघि प्रतियोगिताका दुई संस्करणमा आमनेसामने हुँदा लुम्बिनीले सुदूरपश्चिमलाई लिग चरणमा पराजित गर्न सकेको थिएन । लुम्बिनीको जितमा ओपनर डार्सी सर्ट र आसिफ शेखले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सहज जिततर्फ डोर्‍याउनुभयो । सर्टले मात्र १८ बलमा चार चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४० रन बनाउनुभयो । उहाँले सुरुआतदेखि नै आक्रामक शैली अपनाउँदै सुदूरपश्चिमका बलरमाथि दबाब सिर्जना गर्नुभएको थियो । अर्का ओपनर आसिफ शेखले ३२ रनको योगदान दिनुभयो । सर्ट र आसिफले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै लुम्बिनीको जितको आधार तयार पार्नुभयो । दुवै ओपनरको उत्कृष्ट प्रदर्शनका कारण लुम्बिनीले लक्ष्य पछ्याउने क्रममा कुनै ठूलो दबाब सामना गर्नुपरेन । निरोशन डिक्वेला सात रनमा बोल्ड हुँदा शमिम हुसेन एक रनमा आउट हुनुभयो । कप्तान रोहित पौडेल पाँच रनमा अविजित रहनुभयो । सुदूरपश्चिमका बलरमध्ये अनिल खरेलले दुई विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पार्नुभयो । यद्यपि, लुम्बिनीका ब्याटरलाई ठूलो साझेदारी गर्नबाट रोक्न सुदूरपश्चिमका बलर सफल भएनन् । किशोर र शेरको घातक बलिङयसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले कमजोर प्रदर्शन गर्दै १७ ओभर २ बलमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । लुम्बिनीका बलरले सुरुदेखि नै दबाब कायम राखेपछि सुदूरपश्चिमको ब्याटिङ क्रम लामो समय टिक्न सकेन । लुम्बिनीको बलिङमा किशोर महतो र शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्नुभयो । किशोरले चार विकेट लिनुभयो भने शेरले तीन विकेट झार्नुभयो । उहाँहरूको प्रभावशाली बलिङका कारण सुदूरपश्चिम ठूलो योगफल बनाउन असफल भयो । कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले पनि एक–एक विकेट लिनुभयो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाउनुभयो । अनिल खरेल १७ रनमा अविजित रहनुभयो । सैफ जैबले १३ रन बनाउँदा विनोदले नौ तथा इशान पाण्डेले सात रन जोड्नुभयो । ब्रान्डन म्याकमुलेन दुई रनमा आउट हुँदा शेर्फन रदरफोर्डले एक रन मात्र बनाउन सक्नुभयो । स्कट कुग्गेलाइन र हेमन्त धामी खाता नखोली आउट हुनुभयो । अन्य ब्याटरले पनि उल्लेख्य योगदान दिन नसक्दा सुदूरपश्चिम ८७ रनमै समेटियो । लुम्बिनीका बलरले नियमित अन्तरालमा विकेट लिँदै विपक्षी टोलीलाई ठूलो साझेदारी बनाउन दिएनन् । एनपिएलमा पहिलोपटक डीआरएस प्रयोगतेस्रो संस्करणको एनपिएलमा नेपालमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोगमा आएको छ । लुम्बिनी र सुदूरपश्चिमबीचको खेलमा उक्त प्रणाली प्रयोग गरिएको थियो । खेलको दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्लु (लेग बिफोर विकेट) को अपिल गर्नुभएको थियो । तर, मैदानी अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिने निर्णय गर्नुभयो । यद्यपि, पुनरावलोकनमा लुम्बिनीको अपिल सफल हुन सकेन । डीआरएसको प्रयोगले एनपिएलको तेस्रो संस्करणलाई थप प्रविधिमैत्री बनाएको छ । अम्पायरको निर्णयमा पुनरावलोकन गर्ने सुविधाले खेलमा निर्णयको शुद्धता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहद्वारा प्रतियोगिताको उद्घाटनयसअघि प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपिएलको तेस्रो संस्करण उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री शाहले मैदानमा बल अम्पायरलाई हस्तान्तरण गरेसँगै प्रतियोगिताको औपचारिक सुरुआत भएको थियो । एनपिएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन् । उक्त खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । त्यसैगरी, दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुने तालिका छ । प्रतियोगिताका आगामी खेलसँगै टोलीहरू अंकतालिकामा आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा मैदान उत्रनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीको क्षतिमा २१ अर्ब रुपैयाँ बीमा दाबी
ताजा खबरJust now

भोटेकोशी बाढीको क्षतिमा २१ अर्ब रुपैयाँ बीमा दाबी

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब अर्थात् २० अर्ब ९० करोड रुपैयाँको बीमा दाबी परेको छ । बीमा प्राधिकरणअनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा कुल दुर्ई हजार चार सय २७ बीमितबाट उक्त दाबी परेको हो । उक्त बीमा दाबीमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भएको छ । प्राधिकरणको ...

हिमालय टाइम्स
ग्लोबल आइएमईलाई तेस्रोपटक ‘बेष्ट बैंक अवार्ड’
ताजा खबरJust now

ग्लोबल आइएमईलाई तेस्रोपटक ‘बेष्ट बैंक अवार्ड’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । उक्त पछिल्लो अवार्डसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको ...

हिमालय टाइम्स
एनपिएलको टेलिकम पार्टनरमा एनटिसी
ताजा खबरJust now

एनपिएलको टेलिकम पार्टनरमा एनटिसी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन-३ (एनपिएल-३) प्रतियोगितामा नेपाल टेलिकम(एनटिसी) अफिसियल टेलिकम पार्टनर रहने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमतर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन-३ को आयोजक नेपाल क्रिकेट संघ(क्यान) तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमतर्फबाट ...

हिमालय टाइम्स
एनपीएलले नेपाललाई खेल पर्यटनको रूपमा चिनाउछ: मन्त्री पोखरेल
ताजा खबरJust now

एनपीएलले नेपाललाई खेल पर्यटनको रूपमा चिनाउछ: मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने बताएका छन्। सोमबार साँझ एनपीएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play