काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९, सिसीटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको संकेत उल्लङ्घन गर्ने २३ र तीव्रगतिमा सवारी चलाउने ५८ जना रहेका छन्। त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १३, लेन अनुशासन उल्लङ्घन गर्ने आठ, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २१ र एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने दुई जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३६९ जना चालकलाई समेत कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए। उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा जाँचलाई तीव्रता दिइएको छ। ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको छ। विशेष गरी मापसे गरी सवारी चलाउने, तीव्रगति अपनाउने र ट्राफिक संकेतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको जनाइएको छ। ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित जाँच गरी सिसीटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ। प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
उपत्यकामा एकै दिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

Read Complete Original Article
Published originally on नेपालन्युज






