अन्तर्राष्ट्रिय अपराध रोकथाम तथा न्यूनीकरणसम्बन्धी नीति निर्माणमा छलफल गर्न आयोजित अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख एवं प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा छन् । इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा मंसिर १४ देखि १७ गतेसम्म सञ्चालन हुने महासभामा सदस्य राष्ट्रहरूको सहभागितामा अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि आवश्यक नीति निर्माण प्रक्रियाबारे छलफल हुनेछ । महासभाका क्रममा इन्टरपोलको ‘कमिसन फर द कन्ट्रोल अफ इन्टरपोल फाइल’ का विभिन्न रिक्त पदमा निर्वाचनसमेत हुने कार्यक्रम छ । नेपाली प्रतिनिधिमण्डलले इन्टरपोलका अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, कतार, भारत, जापान, बेलायत, अस्ट्रेलिया, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमनका प्रतिनिधिसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने सम्बन्धमा द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ ।
इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीको टोली चीन प्रस्थान

Read Complete Original Article
Published originally on पर्दाफास






