काठमाडौं । इतिहासकार महेशराज पन्तको २२औं पुस्तक ‘राणा : काल, कर्ता र किताब’ लोकार्पण गरिएको छ । नेपालयको आरशालामा आयोजित कार्यक्रममा इतिहासकारद्वय महेशराज पन्त र दिनेशराज पन्तको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा राणाकालसँग सम्बन्धित २२ वटा अनुसन्धानमूलक लेख समेटिएका छन् । लेखक पन्तले यसअघि विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखलाई परिष्कार र परिमार्जन गरी पुस्तकमा समावेश गरिएको जानकारी दिनुभयो । कार्यक्रममा इतिहासकार दिनेशराज पन्तले पिता नयराज पन्तले विसं १९९७ मा स्थापना गरेको पाठशाला र संशोधन मण्डलले नेपालको इतिहासको खोज तथा तथ्यगत सुधारमा पुर्याएको योगदानबारे चर्चा गर्नुभयो । उहाँले उक्त अनुसन्धान परम्परालाई निरन्तरता दिइरहेका दाजु महेशराज पन्तको प्रशंसा पनि गर्नुभयो । नेपालयका सम्पादक विमल आचार्यले महेशराज पन्तको अनुसन्धान तथा सम्पादन यात्राको चर्चा गर्दै उहाँको पुस्तक प्रकाशन गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । महेशराज पन्तले ह्याम्बर्ग विश्वविद्यालयबाट इन्डोलजीमा विद्यावारिधि गर्नुभएको छ । उहाँका २२ वटा शोधपुस्तक र करिब आठ सय अनुसन्धानमूलक लेख प्रकाशित छन् । दुई सय ८४ पृष्ठको ‘राणा : काल, कर्ता र किताब’ पुस्तकको मूल्य ६७५ रुपैयाँ छ ।
इतिहासकार पन्तको ‘राणा लोकार्पण’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






