Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इजरायलमा आम निर्वाचन : नेतान्याहुलाई चुनौती दिँदै आइजेनकोट

इजरायलमा आम निर्वाचन : नेतान्याहुलाई चुनौती दिँदै आइजेनकोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजरायलमा आम निर्वाचन : नेतान्याहुलाई चुनौती दिँदै आइजेनकोट

काठमाडौं । इजरायलमा अक्टोबर २७ अर्थात आज हुने आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चुनौती दिने प्रमुख विपक्षी नेताका रूपमा गादी आइजेनकोट उदाएका छन् । लामो समय इजरायली सेनामा बिताएका आइजेनकोट पछिल्लो समय राजनीतिमा सक्रिय छन् । उनी नेतान्याहुको विकल्प खोजिरहेका मतदातामाझ प्रभावशाली उम्मेदवारका रूपमा प्रस्तुत भइरहेका छन् । उनले मध्यमार्गी पार्टी ‘याशर’को नेतृत्व गरेका छन् । आइजेनकोटका लागि सबैभन्दा ठूलो राजनीतिक लाभ उनी नेतान्याहु जस्ता होइनन् भन्ने तथ्यलाई मानिएको छ । इजरायलको राजनीतिक भविष्यका लागि महत्वपूर्ण मानिएको यस निर्वाचनमा नेतान्याहुको विकल्प खोज्ने मतदाताको समर्थन उनले पाउन सक्ने विश्लेषण गरिएको छ । यसअघि नेतान्याहुभन्दा आइजेनकोट चार सिटले अगाडि रहेको मत सर्वेक्षण सार्वजनिक भएको थियो । आइजेनकोटको राजनीतिक यात्रामा उनको पारिवारिक पृष्ठभूमि पनि चर्चामा आएको छ । नेतान्याहुका समर्थक मानिने एक टेलिभिजन प्रस्तोता यिनोन मागलले आइजेनकोटलाई लक्षित गर्दै जातीय पृष्ठभूमिसँग जोडेर विवादास्पद टिप्पणी गरेका थिए । उनले आइजेनकोटलाई ‘मोरक्कन मूलका’ भन्दै अश्केनाजी यहुदी अभिजात वर्गको नियन्त्रणमा रहेको व्यक्तिका रूपमा चित्रण गरेका थिए । ती टिप्पणीले युरोपेली मूलका यहुदी र मध्यपूर्व तथा उत्तर अफ्रिकी मूलका यहुदी समुदायबीच लामो समयदेखि रहँदै आएको असमानताको बहसलाई पुन: सतहमा ल्यायो । मागलले पछि आफ्नो टिप्पणी जातीय पृष्ठभूमिको उपहास गर्न नभई पर्दा पछाडिबाट सञ्चालित व्यक्तिलाई जनाउने शब्दका रूपमा प्रयोग गरेको दाबी गरे । नेतान्याहुले समेत उक्त टिप्पणीको आलोचना गरेका थिए । को हुन् आइजेनकोट ? ६६ वर्षीय आइजेनकोट मोरक्कोबाट इजरायल आएका आप्रवासीका छोरा हुन् । नौ सन्तानमध्ये दोस्रो उनी पाँच सन्तानका पिता हुन् । उनले गाजा युद्धमा आफ्नो छोरा गुमाएका थिए । उनको पृष्ठभूमि नेतान्याहुको तुलनामा फरक छ । नेतान्याहु राजनीतिक प्रभाव र शक्तिको केन्द्र मानिने जेरुसेलमको उच्चवर्गीय परिवेशमा हुर्किएका हुन् भने आइजेनकोटले आफ्नो अधिकांश जीवन सेनामा बिताएका छन् । सन् १९७८ मा इजरायली सेनाको गोलानी ब्रिगेडमा भर्ती भएका आइजेनकोटले करिब चार दशक लामो सैन्य सेवापछि सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाको प्रमुखको जिम्मेवारी सम्हाले । त्यस अवधिमा उनले नेतान्याहुकै सरकारअन्तर्गत काम गरेका थिए । सन् २०१६ मा घाइते प्यालेस्टिनी आक्रमणकारीलाई गोली हानी हत्या गरेका इजरायली सैनिक एलोर अजारीको घटनाले इजरायली सेनाको अनुशासन र नैतिकतासम्बन्धी बहस चर्काएको थियो । दक्षिणपन्थी राजनीतिज्ञहरूको दबाबका बाबजुद आइजेनकोटले उक्त घटनामा सैन्य अनुसन्धान र कानुनी कारबाहीको समर्थन गरेका थिए । उनले सेनाको अनुशासन र नैतिकता कायम राख्नु आवश्यक रहेको बताएका थिए । सन् २०२२ मा उनी पूर्वसैन्य प्रमुख बेनी गान्ट्जसँगै राजनीतिमा प्रवेश गरे । सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणपछि उनीहरू नेतान्याहुको आपत्कालीन युद्ध मन्त्रिपरिषदमा सहभागी भए । तर युद्धपछिको स्पष्ट रणनीति नभएको भन्दै दुवै नेता सन् २०२४ जुनमा मन्त्रिपरिषद्बाट बाहिरिए । युद्धले आइजेनकोटको परिवारलाई पनि गहिरो क्षति पुर्‍यायो । सन् २०२३ डिसेम्बरमा गाजामा सैन्य कारबाहीका क्रममा उनका २५ वर्षीय कान्छा छोरा गलको मृत्यु भयो । उनका दुई भतिजाले पनि युद्धमा ज्यान गुमाए । मतसर्वेक्षणको नतिजा के छ ? निर्वाचनअघि सार्वजनिक भएका विभिन्न मतसर्वेक्षणले आइजेनकोटको याशर पार्टीले संसद्का १२० सिटमध्ये २० देखि २३ सिट जित्न सक्ने देखाएका छन् । केही सर्वेक्षणमा उनको पार्टी नेतान्याहुको लिकुड पार्टीभन्दा चार सिटले अगाडि देखिएको छ । प्रधानमन्त्रीका रूपमा कसलाई उपयुक्त ठानिन्छ भन्ने प्रश्नमा पनि आइजेनकोटले नेतान्याहुलाई पछि पारेको दाबी गरिएको छ । तर सर्वेक्षणमा देखिएको अग्रताले मात्र सरकार गठन सुनिश्चित गर्दैन । इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ । इजरायलमा मतदाताले प्रत्यक्ष रूपमा कुनै एक उम्मेदवारलाई नभई राजनीतिक दललाई मत दिन्छन् । दलहरूले प्राप्त गर्ने मतको अनुपातका आधारमा संसदमा सिट बाँडफाँट गरिन्छ । यस व्यवस्थाका कारण कुनै एक दलले स्पष्ट बहुमत प्राप्त नगरेको अवस्थामा सरकार गठनका लागि विभिन्न दलबीच गठबन्धन आवश्यक पर्छ । निर्वाचनमा सबैभन्दा बढी सिट जित्ने दलका नेतालाई स्वत: सरकार गठनको जिम्मेवारी दिइँदैन । राष्ट्रपति समक्ष बहुमत जुटाउन सक्ने सम्भावना भएको सांसदलाई सरकार गठनको जिम्मेवारी दिइन्छ । नेतान्याहुको गठबन्धनमा दक्षिणपन्थी तथा अतिवादी दक्षिणपन्थी र अतिरूढिवादी यहुदी दलहरू छन् । अर्कोतर्फ नेतान्याहुविरोधी गठबन्धनमा पनि स्पष्ट बहुमत जुट्ने सम्भावना नरहेको सर्वेक्षणहरूले देखाएका छन् । यस्तो अवस्थामा निर्वाचनपछि राजनीतिक गतिरोध उत्पन्न हुन सक्ने जोखिम छ । आइजेनकोटका लागि वामपन्थी, मध्यमार्गी र दक्षिणपन्थी दलहरूलाई एउटै गठबन्धनमा ल्याउनु चुनौतीपूर्ण हुनेछ । कतिपय परिस्थितिमा अरब दलहरूको समर्थनसमेत आवश्यक पर्न सक्छ । नेतान्याहु र आइजेनकोटको नीतिमा के फरक छ ? आइजेनकोटले आफ्नो चुनावी अभियानमा आफूलाई ‘योद्धा, नेता र एकताका पक्षधर’का रूपमा प्रस्तुत गरेका छन् । उनको पार्टीको नाम ‘याशर’ हो, जसको हिब्रु भाषामा अर्थ ‘सीधा’ हुन्छ । उनका प्रमुख चुनावी एजेन्डामा सन् २०२३ अक्टोबर ७ को आक्रमणका बेला भएको सुरक्षा असफलताको छानबिन गर्न स्वतन्त्र राज्य आयोग गठन गर्ने र सबै नागरिकका लागि अनिवार्य सैन्य सेवा वा राष्ट्रिय सेवा लागू गर्ने विषय छन् । नेतान्याहुले अक्टोबर ७ को घटनाबारे स्वतन्त्र छानबिन आयोग गठन गर्ने विषयमा प्रतिरोध गर्दै आएका छन् । त्यस्तै, वर्तमान गठबन्धनका केही दलले अतिरूढिवादी यहुदी समुदायलाई सैन्य सेवाबाट व्यापक छुट दिनुपर्ने माग गरिरहेका छन् । आइजेनकोट भने सबै नागरिकलाई सैन्य वा राष्ट्रिय सेवामा सहभागी गराउने पक्षमा छन् । तर सुरक्षा नीतिमा आइजेनकोट नेतान्याहुभन्दा धेरै फरक छैनन् । उनले गाजा, लेबनान र इरानमा इजरायलले सञ्चालन गरेका सैन्य कारबाहीलाई व्यापक रूपमा समर्थन गरेका छन् । इजरायली सेनामा रहँदा आइजेनकोटको नाम ‘दाहिया सिद्धान्त’सँग जोडिएको थियो । यस सिद्धान्तले भविष्यमा सशस्त्र समूहबाट हुने आक्रमण रोक्न नागरिक पूर्वाधारसमेतमा व्यापक सैन्य बल प्रयोग गरेर प्रतिरोध सिर्जना गर्ने रणनीतिलाई जोड दिन्छ । उनी युद्धको पूर्ण विस्तार नगरी शत्रुको सैन्य क्षमता कमजोर बनाउने गोप्य तथा सीमित सैन्य कारबाहीको पनि समर्थक मानिन्छन् । इरानका विषयमा उनी र नेतान्याहु दुवै इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने र तेहरान समर्थित सशस्त्र सञ्जाल कमजोर बनाउने पक्षमा छन् । तर पछिल्लो द्वन्द्वमा स्पष्ट रणनीतिको अभाव रहेको भन्दै आइजेनकोटले नेतान्याहुको आलोचना गरेका छन् । उनका अनुसार सैन्य उपलब्धिलाई कूटनीतिक प्रयाससँग जोड्न आवश्यक छ । गाजाको युद्धलाई लिएर पनि उनले नेतान्याहुमाथि आलोचना गरेका छन् । राजनीतिक स्वार्थका कारण युद्ध लम्ब्याएर प्रधानमन्त्री नेतान्याहुले इजरायली बन्धकहरूको जीवन जोखिममा पारेको आरोप उनले लगाएका थिए । यही मतभेद युद्ध मन्त्रिपरिषद्बाट बाहिरिनुको एउटा कारण बनेको थियो । आइजेनकोट इजरायलको सुरक्षा संयन्त्रबाट आएका नेता हुन् । त्यसैले प्यालेस्टिनी मुद्दामा उनको नीतिले इजरायलको वर्तमान रणनीतिक दिशामा आमूल परिवर्तन ल्याउने निश्चित छैन । सरकार गठन गर्न उनलाई दक्षिणपन्थी दलहरूको समर्थन आवश्यक पर्न सक्ने भएकाले पनि नीतिगत परिवर्तन सीमित हुन सक्छ । इजरायलमा सरकार परिवर्तन हुँदैमा प्यालेस्टिनीहरूको अवस्थामा ठूलो सुधार आउने सम्भावना कम देखिएको छ । गाजाका विषयमा उनले १८ महिनाभित्र हमासको शासन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम योजनालाई कार्यान्वयन गर्ने वा उनले ‘रचनात्मक’ भनेका सैन्य अभियान सञ्चालन गर्ने विकल्प अघि सारेका छन् । नेतान्याहुले पनि हमासको शासन अन्त्य गर्ने लक्ष्य प्रस्तुत गर्दै आएका छन् । तर आइजेनकोटको तर्कमा नेतान्याहु सत्तामा रहँदासम्म हमासको शासन अन्त्य हुन सक्दैन । पश्चिम किनारमा प्यालेस्टिनीमाथि निरन्तर इजरायली नियन्त्रण कायम रहँदा इजरायल द्विराष्ट्रिय राज्यमा परिणत हुन सक्ने चेतावनी आइजेनकोटले राजनीतिमा प्रवेश गर्नुअघि नै दिएका थिए । उनले त्यस्तो अवस्थालाई इजरायलको यहुदी राष्ट्र निर्माणको अवधारणाका लागि गम्भीर चुनौती मानेका थिए । तर सन् २०२३ अक्टोबर ७ पछि उनले दुई राज्य समाधानको समर्थन गरेका छैनन् । हालैको एक अन्तर्वार्तामा उनले दुई राज्य समाधानको पक्षमा वकालत गर्नेहरूलाई ‘भ्रममा रहेको’ टिप्पणी गरेका थिए । यद्यपि, त्यसको विकल्पमा कस्तो राजनीतिक व्यवस्था हुनुपर्छ भन्ने स्पष्ट खाका उनले प्रस्तुत गरेका छैनन् । आइजेनकोटले पश्चिम किनारको औपचारिक विलय र अवैध बस्तीहरूको विस्तारको विरोध गर्दै आएका छन् । पश्चिम किनारको विवादित ई–१ क्षेत्रमा इजरायली बस्ती निर्माण गर्ने योजनालाई उनले अन्तर्राष्ट्रिय स्तरमा इजरायलले चुकाउनुपर्ने मूल्यका कारण ‘गल्ती’ भनेका छन् । त्यस्तै, उनले यहुदी बस्तीका बासिन्दाबाट हुने हिंसामाथि कडाइ गर्ने प्रतिबद्धता जनाएका छन् । उनले त्यस्तो हिंसालाई ‘यहुदी आतंकवाद’को संज्ञा दिँदै सरकारका कारण सुरक्षा निकायको काममा अवरोध पुगेको आरोप लगाएका छन् । ट्रम्पसँग आइजेनकोट र नेतान्याहुको सम्बन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहुप्रति आफ्नो समर्थन स्पष्ट पारिसकेका छन् । अक्टोबर १८ मा उनले नेतान्याहुलाई ‘पूर्ण र नि:सर्त समर्थन’ रहेको बताएका थिए । उनले नेतान्याहुलाई ‘महान् योद्धा प्रधानमन्त्री’ भन्दै अन्य व्यक्ति इजरायलको नेतृत्वमा आए अमेरिकाका लागि गलत विकल्प हुन सक्ने संकेत गरेका थिए । इजरायली स्रोतहरूका अनुसार आइजेनकोट र अन्य विपक्षी नेताहरूले अमेरिकी प्रशासनलाई निर्वाचनमा हस्तक्षेप नगर्न आग्रह गरेका थिए । त्यसका लागि रिपब्लिकन पार्टीकी प्रमुख दाता मिरियम एडेल्सनजस्ता मध्यस्थकर्ताको सहयोग लिइएको बताइएको छ । तर ट्रम्पले नेतान्याहुलाई समर्थन गर्न छाडेनन् । ट्रम्प र नेतान्याहुबीच लामो समयदेखि राजनीतिक सहकार्य रहँदै आएको छ । सन् २०१७ मा अमेरिकी दूतावास जेरुसेलम सार्ने निर्णय, सन् २०१८ मा इरान आणविक सम्झौताबाट अमेरिका बाहिरिने निर्णय, सन् २०२० को अब्राहम सम्झौता र सन् २०२५–२०२६ मा इरानमाथि भएका आक्रमणका विषयमा उनीहरूबीच सहकार्य देखिएको छ । यद्यपि, पछिल्लो समय लेबनान र गाजामा इजरायली आक्रमणले क्षेत्रीय शान्ति प्रयासमा असर पारेको भन्दै ट्रम्प प्रशासनभित्र असन्तुष्टि देखिएको विवरणहरू आएका छन् । आइजेनकोट नेतृत्वको सरकार बनेमा नेतान्याहुका दक्षिणपन्थी सहयोगी इतामार बेन–गभिर र बेजालेल स्मोट्रिच सरकारमा नहुने सम्भावना रहन्छ । त्यस्तो अवस्थामा ट्रम्प प्रशासनलाई क्षेत्रीय कूटनीति अघि बढाउन केही सहज हुन सक्ने विश्लेषण गरिएको छ । विशेषगरी साउदी अरेबियासँग इजरायलको सम्बन्ध सामान्यीकरण गर्ने अमेरिकी प्रयासमा नयाँ सरकारले फरक वातावरण सिर्जना गर्न सक्छ । साउदी अरेबियाले प्यालेस्टिनी राज्य स्थापनातर्फ विश्वसनीय प्रगति हुनुपर्ने माग गर्दै आएको छ । अतिदक्षिणपन्थी दलहरूको समर्थनमा निर्भर नहुने सरकारले यस विषयमा कूटनीतिक पहल अघि बढाउन तुलनात्मक रूपमा सहज वातावरण पाउन सक्छ । तर आइजेनकोटले चुनाव जिते पनि सरकार गठन गर्न आवश्यक संसदीय समर्थन जुटाउनुपर्नेछ । त्यसैले इजरायलको आगामी राजनीतिक दिशा निर्वाचनको नतिजासँगै गठबन्धन निर्माणको क्षमतामा निर्भर हुनेछ । सीएनएनको सहयोगमा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए
ताजा खबरJust now

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

झापा। पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन्। असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन्। अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा २८१ जना र भदौ महिनामा २२० विदेशी पर्यटक पूर्वीनाकाबाट नेपाल भित्रिएका छन्। पूर्वीनाकाबाट भुटान, अमेरिका, अस्ट्रेलिया, बेलायत, बङ्गलादेशलगायत ५३ देशका पर्यटक यस अवधिमा नेपाल भित्रिएको ...

नेपालन्युज
प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड ६१ लाख बढी पुग्यो मौज्दात, सहयोग आउने क्रम जारी
ताजा खबरJust now

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड ६१ लाख बढी पुग्यो मौज्दात, सहयोग आउने क्रम जारी

• रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुटिरहेको छ। • आज बिहान ९ः०० बजेसम्म कोषका विभिन्न खातामा १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ मौज्दात रहेको छ। • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ रुपैयाँ र डलर ...

नेपालबहस
स्थापना दिवसमा नेपाल तरुण दलको देशभर सामाजिक कार्यक्रम, मन्दिर सरसफाइदेखि रक्तदानसम्म
ताजा खबरJust now

स्थापना दिवसमा नेपाल तरुण दलको देशभर सामाजिक कार्यक्रम, मन्दिर सरसफाइदेखि रक्तदानसम्म

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो ७४ औँ स्थापना दिवसको अवसरमा देशभर विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरेको छ। दिवसका अवसरमा मङ्गलवार देशभरका करिब ३५ जिल्लामा रक्तदान,... ...

रातोपाटी
युद्धविरामपछि पनि गाजामा नरसंहार जारी रहेको संयुक्त राष्ट्रसंघीय आयोगको निष्कर्ष
ताजा खबरJust now

युद्धविरामपछि पनि गाजामा नरसंहार जारी रहेको संयुक्त राष्ट्रसंघीय आयोगको निष्कर्ष

काठमाडौँ । संयुक्त राष्ट्रसंघको एक अनुसन्धान आयोगले गत वर्ष अक्टोबरमा भएको युद्धविरामपछि पनि इजरायलले गाजामा नरसंहार जारी राखेको निष्कर्ष निकालेको छ। इजरायलले भने आयोगको प्रतिवेदनलाई आफ्नो देशलाई बदनाम गर्ने गलत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play