काठमाडौं । फुटबलको इतिहासमा केही नाम यस्ता छन्, जसलाई सम्झन कुनै तथ्यांक, उपाधि वा कीर्तिमान आवश्यक पर्दैन । उनीहरूको खेल्ने शैली, मैदानमा देखाएको जादु र समर्थकको मनमा बनाएको स्थान नै उनीहरूको परिचय हो । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी त्यस्तै दुई नाम हुन् । दुई दशकभन्दा लामो समयसम्म विश्व फुटबललाई आफ्नो वरिपरि घुमाउन सफल यी दुई महान् खेलाडीको अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लागेसँगै फुटबलको एउटा अविस्मरणीय युगको अन्त्य भएको छ । प्रकृतिले फुटबललाई दिएका दुई दुर्लभ हिरा मेसी र रोनाल्डोले खेललाई केवल मनोरञ्जनमा सीमित राखेनन् । उनीहरूले फुटबललाई नयाँ उचाइ दिए, नयाँ मापदण्ड स्थापित गरे र विश्वभरका करोडौँ समर्थकका लागि खेललाई भावनासँग जोडिदिए । एकातिर मेसीको अद्भूत ड्रिब्लिङ, पास र गोल गर्ने कला थियो भने अर्कोतिर रोनाल्डोको असाधारण शारीरिक क्षमता, इच्छाशक्ति, आकाश छुने हेडर र गोलप्रतिको भोक थियो । करिब २० वर्षसम्म विश्व फुटबलको बहस यी दुई खेलाडीका वरिपरि घुमिरह्यो । कसले बढी गोल गर्यो, कसले धेरै उपाधि जित्यो, कसको प्रदर्शन उत्कृष्ट रह्यो र कसले कुन कीर्तिमान तोड्यो भन्ने बहसले फुटबल समर्थकलाई सधैँ उत्साहित बनाइरह्यो । अब भने अन्तर्राष्ट्रिय फुटबलमा उनीहरूको त्यो प्रत्यक्ष प्रतिस्पर्धा देख्न पाइने छैन । ४१ वर्षका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णय सार्वजनिक गर्नुभयो । उहाँले जारी गरेको सन्देशमा पोर्चुगलको राष्ट्रिय टोलीसँगको आफ्नो २३ वर्ष लामो यात्रालाई गर्वका साथ टुंग्याउने बताउनुभएको छ । उहाँले नोभेम्बरको अन्तर्राष्ट्रिय विश्रामपछि पोर्चुगलको राष्ट्रिय टोलीको सात नम्बर जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने संकेत गर्नुभएको छ । सात नम्बरको जर्सी रोनाल्डोको पहिचानकै एउटा हिस्सा बनिसकेको छ । क्लब फुटबलदेखि राष्ट्रिय टोलीसम्म उहाँले यही जर्सीलाई आफ्नो खेल जीवनको विशेष प्रतीक बनाउनुभएको थियो । रोनाल्डोले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘राष्ट्रिय टोलीसँग मैदानमा बिताएको मेरो यात्रा अब समाप्त हुँदैछ । म गर्वका साथ बिदा हुँदैछु । मैले पोर्चुगलका लागि आफ्नो सबै कुरा दिएको छु ।’ रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल यात्रा सन् २००३ अगस्ट २० मा कजाकिस्तानविरुद्धको खेलबाट सुरु भएको थियो । त्यतिबेला उहाँ केवल १८ वर्षको हुनुहुन्थ्यो । युवा उमेरमै राष्ट्रिय टोलीमा स्थान बनाउनुभएका रोनाल्डोले त्यसपछि लगातार आफ्नो प्रतिभा प्रमाणित गर्दै जानुभयो । सुरुमा युवा खेलाडीका रूपमा राष्ट्रिय टोलीमा प्रवेश गर्नुभएका उहाँ केही वर्षमै टोलीका प्रमुख खेलाडी बन्नुभयो । पछि कप्तानको जिम्मेवारीसमेत पाउनुभयो । मैदानमा उहाँको नेतृत्व, गोल गर्ने क्षमता र निर्णायक समयमा प्रदर्शन गर्ने बानीले पोर्चुगललाई नयाँ पहिचान दिलायो । २३ वर्षको अन्तर्राष्ट्रिय यात्रामा उहाँले पोर्चुगलका लागि २३४ खेल खेल्नुभयो । यसक्रममा उहाँले १४६ गोल गर्दै पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा राख्नुभयो । उहाँको नाममा ४६ असिस्टसमेत दर्ज छन् । विश्वकप फुटबल रोनाल्डोको करियरको सबैभन्दा ठूलो व्यक्तिगत लक्ष्य र अधुरो सपना दुवै रह्यो । उहाँले सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपबाट आफ्नो विश्वकप यात्रा सुरु गर्नुभएको थियो । त्यसपछि दक्षिण अफ्रिकामा सन् २०१०, ब्राजिलमा सन् २०१४, रुसमा सन् २०१८, कतारमा सन् २०२२ र सन् २०२६ को विश्वकपमा पनि पोर्चुगलको प्रतिनिधित्व गर्नुभयो । उहाँले लगातार ६ वटा विश्वकप खेल्ने दुर्लभ उपलब्धि हासिल गर्नुभयो । त्यतिमात्र होइन, उहाँ ६ फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो पुरुष खेलाडी पनि बन्नुभयो । विश्वकपका ती प्रतियोगितामा उहाँले कुल २७ खेल खेल्दै ११ गोल गर्नुभएको थियो । तर, व्यक्तिगत कीर्तिमान र सफलताका बाबजुद रोनाल्डोको एउटा ठूलो सपना भने अधुरै रह्यो । उहाँले आफ्नो करियरमा पोर्चुगललाई विश्वकपको उपाधि जिताउन सक्नुभएन । रोनाल्डोको सबैभन्दा चर्चित गोलमध्ये एउटा सन् २०१८ मा रियल म्याड्रिडबाट युभेन्टसविरुद्ध गरेको बाइसिकल किक हो । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा उहाँले हावामा पछाडितर्फ फर्किएर गरेको प्रहार सिधै गोलपोस्टभित्र पुगेको थियो । म्यानचेस्टर युनाइटेडबाट खेल्दा रोनाल्डोले पोर्टोविरुद्ध च्याम्पियन्स लिगको क्वाटरफाइनलमा करिब ४० यार्ड टाढाबाट शक्तिशाली प्रहार गर्दै गोल गर्नुभएको थियो । रोनाल्डोको अर्को विशेषता उहाँको फ्रिकिक प्रहार थियो । ३० यार्डभन्दा बढी दूरीबाट उहाँले हानेको नकल बल फ्रिकिकले विपक्षी गोलरक्षकलाई निकै कठिन अवस्थामा पुर्याउँथ्यो । सन् २०१८ को रुस विश्वकपमा पोर्चुगल र स्पेनबीच भएको समूह चरणको खेल रोनाल्डोको अन्तर्राष्ट्रिय करियरको सबैभन्दा सम्झनलायक खेलमध्ये एक हो । सन् २०१९ मा युभेन्टसबाट खेल्दा रोनाल्डोले सिरी एमा स्याम्पडोरियाविरुद्ध गरेको हेडर पनि निकै चर्चित रह्यो । उहाँले करिब २.५६ मिटरको उचाइसम्म पुगेर हेडरमार्फत् गोल गर्नुभएको थियो । असाधारण उफ्राइ र हावामा लामो समय टिकेजस्तो देखिने उहाँको क्षमताका कारण उक्त गोललाई ‘सुपरम्यान हेडर’ नाम दिइएको थियो । रोनाल्डोको अन्तर्राष्ट्रिय करियरमा सबैभन्दा महत्त्वपूर्ण उपलब्धि सन् २०१६ को युरोकप उपाधि हो । पोर्चुगलले लामो समयदेखि प्रतीक्षा गरेको युरोपियन च्याम्पियन बन्ने सपना रोनाल्डोको कप्तानीमा पूरा भएको थियो । फ्रान्समा आयोजित युरोकपको फाइनलमा पोर्चुगलले आयोजक फ्रान्सलाई १-० ले पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो । रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको घोषणाअघि पोर्चुगिज राष्ट्रिय टोलीभित्र प्रशिक्षकसँगको मतभेदको चर्चा पनि सार्वजनिक भएको थियो । सेप्टेम्बरमा उहाँ टोलीको प्रशिक्षण शिविर छाडेर बाहिरिएको खबर आएको थियो । प्रशिक्षक जर्ज जेसुससँग खेल समय र टोलीमा आफ्नो भूमिकालाई लिएर मतभेद भएको बताइएको थियो । रोनाल्डोले नर्वेविरुद्धको खेलमा आफूलाई मैदानमा उतार्ने विश्वास दिलाइएको तर अन्ततः पूरै खेल बेन्चमा बस्नुपरेको गुनासो गरेको विवरण सार्वजनिक भएको थियो । त्यसपछि डेनमार्कविरुद्धको खेलमा पनि प्रारम्भिक टोलीमा स्थान नपाउने जानकारी दिइएको विषयले विवादलाई थप चर्काएको थियो । अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए पनि रोनाल्डोले व्यावसायिक फुटबलबाट सन्न्यास लिनुभएको छैन । उहाँ साउदी अरेबियाको क्लब अल नासरबाट खेलिरहनुभएको छ र क्लब फुटबलमा आफ्नो यात्रा जारी राख्नुहुनेछ । उहाँले यसअघि सन् २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताउनुभएको थियो । अब राष्ट्रिय टोलीको यात्रासमेत टुंग्याउने निर्णयसँगै पोर्चुगलको जर्सीमा उहाँलाई देख्न पाइने छैन । तर, क्लब फुटबलमा उहाँको प्रदर्शन र गोल गर्ने भोक कति समयसम्म कायम रहन्छ भन्ने चासो समर्थकमा रहनेछ । ४१ वर्षको उमेरमा पनि व्यावसायिक फुटबल खेलिरहनु उहाँको अनुशासन र शारीरिक तयारीको अर्को उदाहरण हो । रोनाल्डोको सन्न्यासलाई केवल एक खेलाडीको बिदाइका रूपमा मात्रै हेर्न मिल्दैन । यो विश्व फुटबलको एउटा लामो समयदेखि चलिरहेको युगको अन्तिम अध्याय हो । मेसी र रोनाल्डोले आफ्नो करियरमा फरक शैलीबाट विश्व फुटबललाई प्रभावित गरे । मेसीले आफ्नो असाधारण खेल दृष्टि, बल नियन्त्रण, ड्रिब्लिङ र सटिक पासमार्फत् समर्थकलाई मन्त्रमुग्ध बनाउनुभयो । रोनाल्डोले भने गति, शक्ति, हेडिङ, लामो दूरीको प्रहार र गोल गर्ने अदम्य इच्छाशक्तिबाट आफ्नो छुट्टै पहिचान बनाउनुभयो । एक महिनाको अन्तरालमा दुवै खेलाडीको अन्तर्राष्ट्रिय यात्राले बिदाइको मोड लिएको खबरले समर्थकलाई भावुक बनाएको छ । अगस्टमा सन्न्यासको घोषणा गर्नुभएका मेसीले अक्टोबर ६ मा अर्जेन्टिनाका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नुभएको थियो । अब अन्तर्राष्ट्रिय फुटबलमा न त मेसीको जादुई ड्रिब्लिङ देख्न पाइनेछ, न त रोनाल्डोको असाधारण हेडर र निर्णायक गोल । यी दुई खेलाडीलाई लिएर समर्थकबीच हुने बहस पनि अब इतिहासका सम्झनामा सीमित हुँदै जानेछ । अब फुटबलमा नयाँ नायक जन्मिनेछन्, नयाँ कीर्तिमान बन्नेछन् र नयाँ पुस्ताले रंगशाला भरिनेछन् । तर, मेसी र रोनाल्डोको युगमा हुर्किएको पुस्ताका लागि उनीहरूको खेल हेर्न बिताएका ती रात, अन्तिम मिनेटका गोल, असम्भव लाग्ने हेडर र एकअर्कासँगको प्रतिस्पर्धा सधैँ विशेष रहनेछ । फुटबल चलिरहनेछ, तर मेसी र रोनाल्डोको त्यो जादु अब अन्तर्राष्ट्रिय मैदानमा दोहोरिने छैन ।
अब मैदानमा देखिने छैन त्यो जादु…

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






