काठमाडौं।चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा आमरण अनसन बसेका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि इलाम जिल्ला अस्पतालमा उपचाररत केसीलाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। उनको उपचार त्रिवि शिक्षण अस्पतालमा गरिने केसीको सचिवालयले जनाएको छ। गत कात्तिक १४ गते राति अस्पताल भर्ना गरिएका केसीको स्वास्थ्य परीक्षण गर्दा रगतमा ग्लुकोजको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको थियो। चिकित्सा शिक्षा क्षेत्रमा पूर्वाधार र आवश्यक तयारी बिनै विभिन्न प्रतिष्ठानलाई पठनपाठनको अनुमति दिइएको भन्दै केसीले कात्तिक १३ गतेदेखि इलाममा आफ्नो २५औं सत्याग्रह सुरु गरेका थिए। चिकित्सा शिक्षा आयोगले यस वर्ष एमबीबीएसतर्फ ११० सिट थप गर्ने निर्णय गरेपछि उनी विरोधमा उत्रिएका हुन्। सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गर्ने निर्णयप्रति उनले असहमति जनाएका छन्। विशेष गरी नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थपिएका सिट तत्काल फिर्ता गर्नुपर्ने उनको माग छ। साथै, स्वार्थको द्वन्द्व देखिने निर्णय खारेज गर्नुपर्ने र चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार सुनिश्चित गर्नुपर्ने माग उनले अघि सारेका छन्। सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै केसीले गत बिहीबार इलामस्थित नारायण मन्दिरमा अनसन सुरु गरेका थिए।
अनसनरत गोविन्द केसीलाई काठमाडौं ल्याइयो

Read Complete Original Article
Published originally on नेपालन्युज






