दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौं । चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनहरुका तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरुको परम्परा नै छ । चाडपर्वमा खानपान र रमाइलोमा ध्यान दिँदा स्वास्थ्यप्रति भने पर्याप्त सचेतना अपनाएको पाइँदैन । चाडबाडका नाममा शरीरलाई चाहिनेभन्दा बढी खानेकुराहरु खाने, शारीरिक सक्रियता र व्यायाम नगर्ने अनि नियमित औषधि सेवनमा समेत ध्यान नदिने कारणले गर्दा यस्तो समयमा मुटुरोगको जोखिम बढ्न सक्छ । मुटुरोग विषेशज्ञ चिकित्सकहरु मुटुको स्वास्थ्य जोगाइराख्न सन्तुलित खानपान, नियमित व्यायाम, रक्तचाप, मधुमेह तथा कोलेस्ट्रोलको नियन्त्रण र धूमपान तथा मदिराको सेवनबाट टाढा रहन सुझाइरहेका हुन्छन् । तर त्यसमा नागरिकको ध्यान पुग्छ कि पुग्दैन ? आमनागरिकले चिकित्सकका सल्लाह र सुझावलाई कतिको अनुशरण गर्दछन् ? दसैँको खानपानलाई सुव्यवस्थित र सन्तुलित कसरी बनाउने, यस्तो समयमा मुटुरोगको जोखिम कसरी घटाउने र हृदयाघातका लक्षण देखिएमा के गर्ने भन्ने विषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्सालसँग रासस समाचारदाता प्रगति ढकालले गरेको कुराकानीको सम्पादित अंशः दसैँलाई नेपालीको ठूलो पर्व मानिन्छ र मीठा परिकार खाने र रमाइलो गर्ने चलन छ । चाडपर्वमा हाम्रो खानपानको मात्रा र शैली नमिल्दा मुटुको स्वास्थ्य बिग्रने खतरा रहन्छ । दसैँको खानपानलाई कसरी व्यवस्थित गर्नुपर्ला ?हाम्रो स्वास्थ्यसँग दैनिक जीवनशैली, शारीरिक गतिविधि या गतिशीलता, सोचाइ र खानपानको प्रत्यक्ष सम्बन्ध हुन्छ । मुटुको स्वास्थ्यका लागि यी सबै र खानपानको विशेष महत्व छ । धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ । यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा बोसोको मात्रा (कोलेस्ट्रोल) बढ्ने जोखिम बढी मात्रामा निम्त्याउँछ । त्यसमाथि शारीरिक गतिविधि पनि कम भयो भने यससँग जोडिएर आउने अरु विभिन्न कारणले मुटुरोगको जोखिम बढ्छ । त्यसैले चाडपर्वमा पनि सन्तुलित खानपान र सक्रिय जीवनशैली अपनाउनुपर्छ । चाडबाडका नाम र निहुँमा शरीरले नथेग्ने र आवश्यक पनि नपर्नेगरी अत्यधिक खानपान गर्नु हुदैन । अघिपछि जस्तै सन्तुलित र आवश्यक खानामा मात्र ध्यान दिनुपर्दछ । दसैँमा चिल्लो पदार्थको मात्रा बढी भएका तथा एउटै तेल पटक–पटक प्रयोग गरेर तारे भुटेका परिकार बढी खाने चलन छ । यस्ता खानाले विशेषगरी मुटुरोगको जोखिम के कस्तो हुन्छ?एक–दुई दिन यसरी तारेका या भुटेका चिल्ला परिकार खाँदैमा तत्कालै ठूलो जोखिम हुन्छ भन्ने त होइन । तर नियमित रूपमा यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा असर पक्कै गर्छ । एउटै तेल पटक–पटक प्रयोग गरेर खाना तार्दा त्यसको गुणस्तर बिग्रन सक्छ र मुटु र त्यो मात्र नभएर शरीरलाई हानि पु¥याउने पदार्थ बन्न सक्दछ । त्यसैले यस्ता परिकारहरु कम खानु नै राम्रो हुनेछ । विशेषगरी मधुमेह, उच्च रक्तचाप वा मुटुरोग भएका व्यक्तिहरु त झन यस्ता खानेकुराबाट टाढा रहेकै राम्रो हुन्छ । सकेसम्म कम चिल्लो भएका, उमालेर वा अन्य स्वस्थ तरिकाले पकाइएका परिकार खानु उपयुक्त हुन्छ । हामी नेपालीका पर्वमध्ये दसैँसँग जोडिएर आउनेमा मासु एक हो । दसैँका नाम र निहुँमा अनियन्त्रित रुपमा मासु खाने प्रचलन अद्यापि छ । मुटुको स्वास्थ्यका दृष्टिले कस्तो प्रकारको मासु सेवन गर्नु उपयुक्त होला ?मासु आफैँमा नराम्रो या अखाद्य पदार्थ होइन । तर यसको सेवन मात्रा र पकाउने तरिकामा ध्यान दिनुपर्छ । सबैभन्दा पहिले त मासु तयार पार्ने या किन्ने ठाउँ सफा हुनु अति आवश्यक छ । यो स्वच्छ र सफा भएन भने यहीँको मासुका कारण खाद्य विषाक्तता, झाडापखाला लगायतको जोखिम रहन्छ । त्यसपछि मासु केको भन्ने पनि हुन्छ । जस्तो कि रातो मासुको अत्यधिक सेवनले कोलेस्ट्रोल तथा युरिक एसिड बढ्ने र स्वास्थ्यमा अन्य जोखिम निम्त्याउने सम्भावना हुन्छ । धेरै तेलमा तारिएको मासु तथा अत्यधिक पोलेको मासुको सेवनमा पनि ध्यान दिनु आवश्यक छ । त्यसैले रातो मासुको अत्यधिक सेवन धेरै राम्रो होइन भनेर बुझ्नुपर्दछ । मासुको विकल्पमध्ये माछा राम्रो मानिन्छ । त्यसपछि कुखुराको हो । तर माछा खाँदा पनि धेरै तेलमा तारेर खानु हुँदैन । मासुको मात्रा सीमित राख्ने र पकाउने स्वस्थ तरिका अपनाउने गर्नुपर्दछ । त्यसैले म भन्छु, मासु खानुहोस्, दसैँ मनाउनुहोस् तर मुटु भने जोगाउनुहोस् । उमेरअनुसार खानपानमा के कस्तो सावधानी अपनाउनुपर्ला ?उमेरसँगै स्वास्थ्य अवस्था र रोगको जोखिम पनि फरक हुन्छ । ६०–७० वर्ष उमेरका व्यक्तिमा उच्च रक्तचाप, मुटुरोग वा पाचनसम्बन्धी समस्या हुन सक्छ । त्यस्ता व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानपानमा नियन्त्रण गर्नुपर्छ । बालबालिका तथा किशोरकिशोरी शारीरिक रूपमा बढी सक्रिय हुन्छन् । उनीहरूको आवश्यकता फरक हुन सक्छ । तर उमेर जुनसुकै भए पनि आवश्यकताभन्दा बढी खाने बानी राम्रो होइन । दसैँमा मासुसँगै मदिरा, चिसो पेय पदार्थ तथा धूमपानको सेवन पनि बढ्ने गरेको छ । मुटुरोग भएका वा जोखिम समूहमा रहेका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ । नियमित औषधि सेवन गरिरहेका व्यक्तिले चाडपर्वका कारण औषधि छुटाउनु हुँदैन । हृदयाघातका प्रमुख लक्षण के–के हुन् ? लक्षण देखिएमा तत्काल के गर्नुपर्छ ?हृदयाघातका प्रमुख लक्षणमध्ये छातीको बीच भागमा दुख्ने, भारी हुने वा कुनै वस्तुले थिचेजस्तो महसुस हुनु हो । यसबाहेक मुटुको धड्कन बढ्ने, धेरै पसिना आउने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने तथा बेहोस हुनेजस्ता लक्षण पनि देखिन सक्छन् । सबै व्यक्तिमा एउटै प्रकारका लक्षण नदेखिन सक्छन् । त्यसैले छातीमा असहजता हुने वा हृदयाघातको शङ्का लाग्ने लक्षण देखिएमा त्यसलाई सामान्य ठानेर बस्नु हुँदैन । यस्तो अवस्थामा नजिकको अस्पतालको आकस्मिक कक्षमा तत्काल पुग्नुपर्छ । अस्पतालमा प्रारम्भिक रूपमा इलेक्ट्रोकार्डियोग्राम ९इसिजी० र आवश्यक रगत परीक्षण गरी हृदयाघात भए–नभएको जाँच गरिन्छ । त्यसपछि अवस्थाअनुसार उपचार अघि बढाइन्छ । मुटुरोगको जोखिम भएका व्यक्तिका परिवारका सदस्यले के कुरामा ध्यान दिनुपर्छ ?पहिले नै मुटुरोग भएका, उच्च रक्तचाप वा मधुमेह भएका, कोलेस्ट्रोल बढी भएका, लामो समयदेखि धूमपान गर्ने तथा मोटोपन भएका व्यक्ति मुटुरोगको जोखिममा हुन्छन् । परिवारका सदस्यले यस्ता व्यक्तिलाई छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा अन्य असामान्य लक्षण देखिएमा तत्काल अस्पताल लैजानुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । उनीहरूले नियमित सेवन गरिरहेका औषधि छुटाउनु हुँदैन । चाडपर्वका बेला भोजभतेर, रङ्ग रमाइलो बढी हुने भएकाले औषधि छुट्ने सम्भावना बढी हुन्छ । यस्तो बेलामा परिवारका सदस्यहरुले पनि ध्यान दिनुपर्छ । खानपानमा नियन्त्रण र नियमित स्वास्थ्य जाँच परिवारले ध्यान दिने र निगरानी गर्नुपर्ने कुरा हुन् । स्वस्थ व्यक्तिले पनि दसैँमा खानपान नियन्त्रण गर्नुपर्छ कि मुटुरोग भएका व्यक्तिले मात्र सावधानी अपनाए पुग्छ ?स्वस्थ व्यक्तिले पनि खानपानमा ध्यान दिनुपर्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो भन्ने त सबैले बुझेकै कुरा हो । दसैँ, तिहारलगायत विभिन्न चाडपर्वमा नेपालीले खाने र रमाइलो गर्ने परम्परा छ । यो राम्रो पक्ष हो, तर त्यसलाई अत्यधिक बनाउनुहुँदैन । दसैँ धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको पर्व हो । यस समयमा परिवारका सदस्य भेट्ने, आफन्तसँग समय बिताउने, पूजापाठ गर्ने र नयाँ ठाउँमा घुम्न जाने अवसर पनि त मिल्छ । यस्ता गतिविधिले मुटुमात्र होइन समग्र स्वास्थ्यमा नै सकारात्मक प्रभाव पार्दछ । त्यसैले दसैँलाई खानपिनमा मात्र केन्द्रित गर्नुहुँदैन । परिवारसँग भेटघाट गर्ने, रमाइलो गर्ने, घुमघाममा जाने, शारीरिक रूपमा सक्रिय रहने अवसरका रूपमा पनि लिनुपर्छ । नियमित हिँडडुल र व्यायामले मुटुको स्वास्थ्यमा कस्तो फाइदा पुर्याउँछ ?नियमित व्यायामले मुटुको स्वास्थ्य कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ । दिनमा कम्तीमा ३० देखि ४५ मिनेट छिटो छिटो हिँड्ने, दौडिने, पौडी खेल्ने वा आफूलाई अनुकूल हुने शारीरिक गतिविधि गर्नुपर्छ । सबैले एकै प्रकारको व्यायाम गर्नुपर्छ भन्ने छैन । कसैले हिँडडुल गर्न सक्छन्, कसैले खेलकुदमा सहभागी हुन सक्छन् भने कसैले खेतीबारीमा पनि काम गर्न सक्छन् । जसरी होस् शरीरलाई चलायमान र जतिसक्दो सक्रिय राख्ने गर्नाले शारीरिक तन्दुरुस्तीका साथै मुटुलाई पनि स्वस्थ राख्न सहयोग पुग्दछ । सन्तुलित खानपान, नियमित व्यायाम, तौल नियन्त्रण, रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको नियमित जाँच तथा नियन्त्रण आवश्यक छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने र धूमपान तथा मदिराबाट टाढा रहने हो भने मुटुरोगको जोखिम घटाउन सकिन्छ । पछिल्लो समय कम उमेरमै हृदयाघात हुने गरेका समाचार सुन्ने गरिएको छ । यसका कारणहरु के हुन सक्छ ?उमेर बढ्दै जाँदा मुटुरोगको जोखिम पनि बढ्छ । तर पहिले ५०–६० वर्षको उमेरमा बढी देखिने हृदयाघात अहिले ३०–३५ वर्षका व्यक्तिमा पनि देखिन थालेको छ । कतिपय २०–२५ वर्षका व्यक्तिमा समेत भएका घटना पनि हाम्रा अभिलेखमा छन् । यसमा बजारीया खाना ९जङ्क फुड०को अत्यधिक सेवन, शारीरिक गतिविधिमा कमी, धूमपान र बदलिँदो जीवनशैलीले भूमिका खेलेको हुन सक्छ । सहरी जीवनशैलीमा लामो समय मोबाइल वा कम्प्युटर प्रयोग गर्दै बस्ने र शारीरिक श्रम कम गर्ने प्रवृत्ति पनि बढ्दै गएको छ । बालबालिकामा पनि जङ्क फुडको सेवन बढ्दै गएको छ । त्यसैले घरपरिवार, स्वास्थ्य संस्था र राज्यका विभिन्न तहबाट स्वस्थ खानपान र सक्रिय जीवनशैलीका बारेमा सचेतना बढाउन आवश्यक छ । अबका दिनमा यस्ता कुरामा राज्य र सम्बद्ध निकाय एवं संस्थाहरुले लगानी बढाउनुपर्ने अवस्था मैले देखेको छु । अन्यथा मुटुरोगको अहिलेको अवस्था झन् बढ्दै गयो भने यसले भोलिका दिनहरु थप भयावह बन्दै जाने खतरा देखिँदै छ । अन्त्यमा, मानिसलाई आफ्नो मुटु जोगाउन आम नागरिकलाई के सुझाव दिन चाहनुहुन्छ ?हामीले स्वास्थ्यका लागि के गर्नुपर्छ भन्ने धेरै कुरा थाहा पाएकै छौँ । नियमित व्यायाम गर्नुपर्छ, धेरै खानु हुँदैन, खानपान नियन्त्रण गर्नुपर्छ र धूमपान तथा मदिराबाट टाढा रहनुपर्छ भन्ने कुरा बुझेकै छौँ । अब आफूले बुझेका कुरा व्यवहारमा लागू गर्न आवश्यक छ । सन्तुलित खानपान गर्ने, शरीरलाई सक्रिय राख्ने, तौल नियन्त्रण गर्ने र रक्तचाप, मधुमेह तथा कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने बानी बसालौँ । दीर्घरोग भएका व्यक्तिले नियमित औषधि सेवन गरौँ । चाडपर्वमा रमाइलो गर्दा पनि स्वास्थ्यलाई बेवास्ता नगरौँ, ध्यान दिउँ । औषधि र उपचारको आफ्नै भूमिका हुन्छ, तर आफ्नो स्वास्थ्यको हेरचाह गर्ने जिम्मेवारी सबैभन्दा पहिला त आफ्नै हो । त्यसैले यस दसैँमा हामी सबैले स्वस्थ जीवनशैली अपनाउने प्रयास गरौँ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिउँ । चाडबाड मनाउँदा खानपान र त्यसबाट मुटु स्वास्थ्यमा आउन सक्ने जोखिमलाई विशेष ध्यान दिउँ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ । परम्परागत विधिअनुसार पूजाअर्चना गरी गोरखाबाट पठाइए... ...

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो। निर्णयअनुसार अक्टोबर १८ देखि २० (कात्तिक १–३) सम्म तीन दिन त... ...

थपिए एक लाख ८७ हजार मतदाता
गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । ...

भेरी करिडोरमा अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार बिहान करिब ११ः१५ बजे दुर्घटना भएको हो। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीदेखि जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको ...


