देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम घमाइलो हुने

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो बुलेटिन जारी गर्दै देशभरका सबै भूभागबाट मनसुन बहिर्गमन भएको औपचारिक घोषणा गरेको हो । नेपालमा मनसुन बाहिरिने सरदर (औसत) मिति अक्टोबर २ (असोज १६) मानिए पनि यस वर्ष भने सरदर अवधिभन्दा १२ दिन ढिलो गरी अर्थात् अक्टोबर १४ (असोज २८) मा मनसुन पूर्णरूपमा बाहिरिएको छ । यससँगै देशभरका मौसम सामान्यतया घमाइलो र सुक्खा बन्दै गएको छ । महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पश्चिमी भूभाग र गण्डकी प्रदेशको पश्चिमी भेगका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो । त्यसको ११ दिनपछि बुधबार देशको पूर्वी भूभागसहित सम्पूर्ण क्षेत्रबाट मनसुनी प्रणाली पूर्णरूपमा बाहिरिएको मौसमविद्हरूले जनाएका छन् । यस वर्षको मनसुन नेपाल भित्रिने र बाहिरिने दुवै तालिका सरदर मितिभन्दा पछाडि धकेलिएको थियो । सामान्यतया नेपालमा जुन १३ (जेठ ३०) मा मनसुन भित्रिने गर्दछ। तर यस वर्ष विगत छ वर्षयताकै ढिलो गरी जुन १९ (असार ५) मा मात्र मनसुन नेपाल प्रवेश गरेको थियो । भित्रिने समय ढिलो भएका कारण बहिर्गमनको समय पनि पछाडि धकेलिएको मौसम पूर्वानुमान महाशाखाको विश्लेषण छ । नेपालमा मनसुनको अवधि वर्षैपिच्छे फरक–फरक हुने गरेको छ । मौसमसम्बन्धी ऐतिहासिक तथ्यांकअनुसार सन् १९७९ मा २४ जुनमा भित्रिएको मनसुन जम्मा ७३ दिनमै अर्थात् ४ सेप्टेम्बरमा बाहिरिएको थियो । त्यसैगरी सन् २०२२ मा भने ५ जुनमा भित्रिएको मनसुन १३४ दिनसम्म सक्रिय रहँदै १६ अक्टोबरमा मात्र बाहिरिएको थियो ।यस वर्ष मनसुनको सुरुआती चरणमा प्रशान्त महासागरमा विकसित भएको ‘एलनिनो’ प्रणालीका कारण कम वर्षा हुने आँकलन गरिएको थियो । तर, समग्र मनसुन अवधिमा देशमा सरदर वर्षा नै दर्ता भएको छ । यद्यपि, भौगोलिक विविधताअनुसार वर्षाको मात्रा र प्रतिशतमा भने भिन्नता देखिएको छ । तराई र पहाडी क्षेत्रको तुलनामा यसपालि हिमाली क्षेत्रमा बढी वर्षा भएको विवरणहरूले देखाएका छन् । सामान्यतया मनसुन याममा नेपालमा १५ सयदेखि १६ सय मिलिमिटरसम्म वर्षा मापन हुने गर्दछ । मनसुन बाहिरिने अन्तिम समयतिर बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण देशका कतिपय स्थानमा भारी वर्षा भए तापनि समग्रमा मनसुनी वर्षा औसत दायरामै सीमित रहेको छ । कसरी हुन्छ मनसुनको अन्त्य ?जल तथा मौसम विज्ञान विभागका जलवायु विश्लेषण शाखाका मौसमविद् अशोक बखरेलका अनुसार मनसुन अन्त्य हुनका लागि वायुमण्डलको आद्र्रता, हावाको दिशा र तापक्रमको अन्तरले मुख्य भूमिका खेल्छन् । मनसुन सक्रिय रहँदा पूर्वबाट पश्चिमतर्फ हावा बहने प्रणाली हुन्छ । तर, मनसुन बाहिरिने क्रममा हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ फर्किन थाल्छ । साथै वायुमण्डलमा रहेको जलवाष्पयुक्त आद्र्रता घट्दै जान्छ । बंगालको खाडीमा जलवाष्प बन्ने प्रक्रिया कमजोर हुनुका साथै सूर्यको दक्षिणायन यात्रासँगै दिन छोटो हुने र बाष्पीकरणको दर घट्ने भएकाले मनसुन निष्क्रिय बन्दै जान्छ । मौसमविद्हरूका अनुसार मनसुन सकिएलगत्तै पश्चिमा सागरहरू (भूमध्य सागर, क्यास्पिअन सागर र अरब सागर) बाट आउने सुक्खा र चिसो हावा नेपाल प्रवेश गर्न थाल्छ । यद्यपि अक्टोबर र नोभेम्बर महिनालाई ‘पोस्ट मनसुन’ अवधि मानिने भएकाले यो समयमा पश्चिमी वायु पूर्णरूपमा सक्रिय भइसकेको हुँदैन । नेपालमा डिसेम्बर महिनादेखि मात्रै पश्चिमी वायु पूर्ण रूपमा प्रभावशाली भई हिउँदे वर्षा गराउने गर्दछ । मनसुन बाहिरिएसँगै दिउँसो र रातिको तापक्रमबीचको अन्तर (डायर्नल टेम्प्रेचर रेन्ज) पनि बढाउँछ । मनसुन याममा दिउँसो र रातिको तापक्रममा खासै ठूलो अन्तर नहुने भए पनि अबका दिनमा दिउँसो घमाइलो र राति चिसो बढ्दै जानेछ । यात्रा सहज हुने अपेक्षागत वर्ष नेपालले हिले दशैँको सामना गर्नुपरेको भए पनि यस वर्ष भने दशैँको समयमा मौसम अनुकूल रहने अनुमान गरिएको छ । मनसुन पूर्णरूपमा बाहिरिएकाले अबका केही दिन देशभरको मौसम सामान्यतया सफा र घमाइलो रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगका एक–दुई स्थानमा स्थानीय वायुको प्रभावका कारण छिटपुट वर्षा हुनसक्ने सम्भावना रहे पनि सर्वसाधारणको यात्रामा असर पर्ने गरी ठूलो वर्षाको सम्भावना छैन । दशैँका बेला टीका लगाउन, आफन्त तथा परिवारजनसँग भेटघाट गर्न र टाढाको यात्रा गर्नुपर्ने नागरिकका लागि सफा र घमाइलो मौसमले निकै सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । तथापि, स्थानीय वायुमण्डलीय अवस्थाका कारण तत्कालीन रूपमा मौसममा हल्का परिवर्तन हुनसक्ने भएकाले महाशाखाले बुलेटिन र सूचनाहरू नियमित रूपमा लिन सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई अनुरोध गरेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

ट्रम्पबाट धोका पाएको जेलेन्स्कीको स्वीकारोक्ति, रुसी इन्धन सम्झौता र स्टारलिंक अवरोधले चिन्तित
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग इन्धन खरिदसम्बन्धी सम्झौता गरेपछि आफूले धोका पाएको महसुस गरेको बताएका छन् । अमेरिका र युक्रेनबिच सम्बन्ध तनावपूर्ण भइरहेका बेला अमेरिकी कम्पनी... ...

सकियो मख्यमन्त्री सम्मेलन, प्रदेशलाई अधिकार सम्पन्न बनाउने साझा संकल्प
विराटनगर । विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ ले संघीयता कार्यान्वयनमा देखिएका जटिलता हटाउँदै प्रदेशको अधिकार सुनिश्चित गर्न ‘कोशी घोषणा– २०८३’ जारी गरेको छ । मंगलबार र बुधबारको छलफलपछि ६ प्रदेशका मुख्यमन्त्रीले प्रदेश अधिकारको पूर्ण प्रयोग, अन्तरप्रदेश साझेदारी र प्रतिबद्धता शीर्षकमा लामो ९ पृष्ठ घोषणापत्र जारी गरेका हुन् । यो घोषणामा सुदूरपश्चित प्रदेशको पनि सहमति छ । सरकारको नीति तथा कार्यक्रमको शैलीमा ...

लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा
लमजुङ । बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको सङ्कल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ । मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म गरिने विशेष पूजामा जनताको कल्याणको कामना गर्दै सङ्कल्प गरिन्छ । “पहिले राजाको भलो होस्, राम्रो होस् भनेर सङ्कल्प गरिन्थ्यो । ...

जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
• जाजरकोटको जुन चाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। • दुर्घटना बिहान २ बजे सुर्खेतबाट जुन चाँदे आउँदै गरेको जिपको भएको हो, जसले ३०० मिटर तल खसेको छ। • मृतकमा २० वर्षीय सन्तबहादुर बस्नेत र ३० वर्षीया बिपना भण्डारी छन्, जबकि घाइतेको अवस्था मध्यम रहेको छ। ...


