लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

लमजुङ । बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको सङ्कल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ । मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म गरिने विशेष पूजामा जनताको कल्याणको कामना गर्दै सङ्कल्प गरिन्छ । “पहिले राजाको भलो होस्, राम्रो होस् भनेर सङ्कल्प गरिन्थ्यो । अहिले देशका जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्ने गरिएको छ”, उनले भने । यहाँ कालिका भगवतीको आराधनासँगै विभिन्न देवीदेवताको नाम पुकारेर पूजा गर्ने परम्परा छ । महाकाली, महालक्ष्मी, महासरस्वती, ब्रह्मा, विष्णु, महेश्वर, दश अवतारका देवता, चिरञ्जीवी, पञ्चायन देवता, गोरखनाथ, शिव पञ्चायत र चण्डीदेउरालीलगायत तेत्तीस कोटी देवीदेवताको स्मरण गर्दै पूजा गरिने मुख्य पुजारी बरालले बताए । स्थानीय धार्मिक मान्यताअनुसार लमजुङ कालिकालाई जेठी, गोरखा कालिकालाई माइली, उदिपुर कालिकालाई साइँली र बागलुङ कालिकालाई कान्छी मान्ने परम्परा छ । यी चार कालिका मन्दिरलाई दिदीबहिनीका रूपमा जोडेर हेर्ने जनविश्वास रहेको बरालले बताए । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार कालिका भगवती तत्कालीन शाह राजपरिवारकी कुलदेवी थिइन् । विसं १५५० मा यशोब्रह्म शाह लमजुङका राजा बनेपछि गाउँसहर दरबारसँगै कालिका मन्दिर स्थापना गरी कुलदेवीका रूपमा पूजा गर्ने परम्परा सुरु भएको मानिन्छ । राजपरिवारको समयदेखि चलिआएको पूजामा अहिले सङ्कल्पको उद्देश्य परिवर्तन भए पनि परम्परागत विधि कायम रहेको उनले बताए । मन्दिरको पूजा तथा व्यवस्थापनमा २२ जना सुसारेको भूमिका रहन्छ । मन्दिरभित्र प्रवेश गरी देवीको पूजा गर्ने परम्परा बराल, बोहोरा, आले र राना समुदायका पुजारीसँग जोडिएको छ भने अन्य सुसारेले पूजाको तयारी र व्यवस्थापनमा सहयोग गर्छन् । यहाँको दसैँ परम्परामा फूलपाती भित्र्याउने विधि विशेष महत्वको छ । फूलपातीको अघिल्लो दिन षष्ठीमा दरबार परिसरमा विशेष पूजा गरिन्छ । त्यसपछि फूलपाती लिन जाने आठ जना सुसारेको टोली बेँसीसहरस्थित लक्ष्मीनारायण मन्दिर पुग्छ । त्यहाँ पूजा तथा भजनकीर्तन गरेपछि टोली बेँसीसहर नगरपालिका–७ स्थित मस्र्याङ्दी क्याम्पसनजिकैको मस्र्याङ्दी नदी किनारमा जान्छ । त्यहाँ एउटा बोकाको बलि दिइन्छ । त्यसपछि टोली रातभरि त्यहीँ बसेर भजनकीर्तन गर्दै जाग्राम बस्छ । भोलिपल्ट बिहान स्नान गरेपछि टोली फूलपातीका सामग्री सङ्कलन गर्न बेँसीसहर नगरपालिका–८ स्थित फूलबारीतर्फ लाग्छ । फूलबारीबाट आवश्यक फूल तथा पूजासामग्री सङ्कलन गर्दै चण्डीथुम्का पुग्छ । बेलपत्र, अशोकको पात, जयन्ती, आकुरीमाकुरी फूललगायत पूजा सामग्री सङ्कलन गरी फूलपाती तयार गरिन्छ । सङ्कलन गरिएका फूललाई बाटोमा बिसाउन नहुने परम्परा रहेको छ । लमजुङ दरबारबाट दस अवतारको पूजा गरी कलश बोकेका माउलेनी, भजन गाउने भजनिया, मालश्री गाउने समूह तथा नौमती बाजा र निसानसहितको टोली चण्डीथुम्का पुग्छ । त्यहाँ दुवै टोलीको भेट भएपछि पूजा गरी कुपिण्डो र बलि अर्पण गरिन्छ । त्यसपछि मालश्री धुन, भजन र बाजागाजासहित फूलपातीको डोली कालिका मन्दिरमा ल्याएर दसैँघरमा भित्र्याइन्छ । बडादसैँमा यहाँ सरकारी परम्पराअनुसार बोका, सुँगुर र भेडालगायत २७ वटा पशु तथा छवटा राँगाको बलि दिइन्छ । भक्तजनले व्यक्तिगत रूपमा पनि बलि चढाउने भएकाले दसैँमा बलि दिइने पशुको सङ्ख्या ६० सम्म पुग्ने गरेको छ । चैतेदसैँमा भने २७ वटा बलि दिने परम्परा छ । भस्मी प्रशासन कार्यालय लमजुङका प्रमुख ईश्वरकमल श्रेष्ठका अनुसार मन्दिरमा बडादसैँका लागि रु पाँच लाख र चैतेदसैँका लागि रु दुई लाख ७० हजार खर्च हुने गरेको छ । पूजाका लागि छुट्याइने बजेट २०७८ यता बढ्दै आएको छ । यस वर्षको भने हालसम्म रकम निकासा नभएको उनको भनाइ छ । देवीदेवताको स्मरण, कालिका मन्दिरलाई दिदीबहिनीका रूपमा जोड्ने धार्मिक मान्यता र फूलपाती भित्र्याउने परम्पराले यस मन्दिरको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई आज पनि जीवन्त राखेको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन् । ३५ वर्षमुनिका युवा खुलातर्फ ई. सुवास पौडेलले फराकिलो अग्रता बनाएका छन् । एक हजार ९८६ मतगणना हुँदा गण्डकी प्रदेश खुलातर्फ किरणबाबु श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी)ले ७०१ मत पाएका छन् । ...

भारतबाट दसैँ मनाउन घर फर्किनेको गड्डाचौकीमा अनिवार्य स्वास्थ्य परीक्षण
दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो। भारतबाट फर्किने नागरिकमा... ...

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते
जाजरकोट। जाजरकोटको जुनीचाँदे गाउँपालिका–२, गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनीचाँदे–३, स्यालाकी ३० वर्षीया ...

प्रोत्साहन अनुदानले बढ्यो दुध सङ्कलन
हेटौँडा समाचारदाताहेटौँडा, असोज २९ गते । मकवानपुरको मनहरी गाउँपालिकामा उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन भएपछि दुध सङ्कलनमा वृद्ध भएको छ । गाउँपालिकाको तथ्... ...


