नेपालीहरुको स्वाद विदेशी मसलामा निर्भर, दुई महिनामै बाहिरियो अर्बौँ रकम

काठमाडौं । दशैं सुरु भइसक्यो । घरघरमा मासुका विभिन्न मीठा परिकार पाक्छन्। खसीको मासु होस् वा कुखुरा, अचार होस् वा अन्य परिकार, हाम्रो जिब्रोलाई मसालेदार नै चाहिन्छ । तर, के नेपालीहरुकाे भान्सालाई स्वादिष्ट बनाउने यही मसलामा हामी कति आत्मनिर्भर छाैं ? हाम्रा भान्सामा प्रयोग हुने मसलाको ठूलो हिस्सा कहाँबाट आउँछ ? र, स्वदेशमै उत्पादन गर्न सकिने मसलाका लागि समेत विदेशी बजारमा निर्भर हुनुपर्ने अवस्था किन छ ? नेपालमा उत्पादनको पर्याप्त सम्भावना हुँदाहुँदै नेपालीको भान्सामा प्रयोग हुने मसलाका लागि हरेक वर्ष ठूलो रकम विदेशिने गरेको छ । चाडपर्वमा विभिन्न परिकार, मिठाई तथा मासुजन्य खाद्य पदार्थको प्रयोग बढ्ने भएकाले दालचिनी, जिरा, धनियाँ, मरिच, ल्वाङ, सुकमेल, तेजपातलगायतका मसलाको खपत पनि बढ्छ । चाडपर्व नजिकिँदै गर्दा नेपालमा विदेशका विभिन्न मुलुकमा अर्बौको मसला आयात भइसकेको भन्सार विभागको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ सम्ममा मात्रै नेपालले १ अर्ब ९७ करोड ५८ लाख ६९ हजार रुपैयाँ बराबरको ७ हजार ६४७ टन विभिन्न प्रकारका मसला आयात गरेको छ । नेपालमै उत्पादन गर्न सकिने मरिच, जिरा, धनियाँ, बेसार, अदुवा, दालचिनी, अलैंची, ल्वाङ, जायफललगायतका मसला विदेशबाट ठूलो परिमाणमा आयात भइरहेका छन् । यसले नेपाली उपभोक्ताको भान्सा विदेशी उत्पादनमा निर्भर हुँदै गएको मात्र देखाउँदैन, कृषि उत्पादनको सम्भावना हुँदाहुँदै पनि त्यसलाई बजार र उद्योगसँग जोड्न नसक्दा ठूलो रकम बाहिरिरहेको अवस्थासमेत उजागर गरेको छ । जिरा र धनियाँमै करोडौँ बाहिरियो भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको अवधिमा मात्रै ५५ करोड ८० लाख रुपैयाँ बराबरको १ हजार ८५४ टन जिराको दाना आयात भएको छ । यसै अवधिमा पिसेको जिराको धुलोमा समेत नेपालीको ३२ लाख २५ हजार रुपैयाँ बाहिरिएको छ । त्यसैगरी यस अवधिमा १ हजार ७७८ टन धनियाँको दाना आयातमा २५ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ भने पिसेको धनियाँको धुलोका लागि थप ३३ लाख १८ हजार रुपैयाँ रकम बाहिरिएको छ । अर्थात् नेपाली भान्सामा दैनिक प्रयोग हुने जिरा र धनियाँका लागि मात्रै दुई महिनामै ठूलो रकम विदेशी बजारमा पुगेको छ । मरिचदेखि सुकुमेलसम्म विदेशकै भर यस अवधिमा ९ करोड १४ लाख रुपैयाँ बराबरको ११७ टन मरिच आयात भएको छ । सेतो मरिचका लागि ३ करोड ५१ लाख रुपैयाँ र कालो मरिचका लागि ४ करोड १० लाख १५ हजार रुपैयाँ बराबरको नेपाली रकम बाहिरिएको छ । त्यस्तै, ६ करोड ४३ लाख रुपैयाँ बराबरको ल्वाङ आयात भएको छ भने जायफलका लागि ९० लाख रुपैयाँ खर्च भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा सानो इलाइची अर्थात् सुकुमेलको दाना आयातमा मात्रै ७ करोड ३६ लाख ३३ हजार रुपैयाँ बाहिरिएको छ । सुकुमेलको पिसेको धुलोका लागि समेत १० लाख ६८ हजार रुपैयाँ बराबरको आयात भएको छ । करोडौँको दालचिनी आयात नेपालमा दालचिनी उत्पादनको प्रचुर सम्भावना हुँदाहुँदै पनि यसको व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरण अपेक्षाकृत कमजोर रहँदा वर्षेनी अर्बौ रुपैयाँ बाहिरिँदै गएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/०८४को दुई महिनामा ९८ लाख ३६ हजार रुपैयाँ बराबरको दालचिनी आयात भएको छ । दालचिनीका रूखका फूलका लागि ४ करोड २९ लाख रुपैयाँ बराबरको आयात भएको छ भने दालचिनीको धुलोमा मात्रै ६ करोड ४३ लाख १५ हजार रुपैयाँ बराबरको रकम बाहिरिएको छ । देशका विभिन्न पहाडी तथा मध्यपहाडी क्षेत्रमा दालचिनी खेतीका लागि उपयुक्त हावापानी र जमिन उपलब्ध छन् । तर स्वदेशी उत्पादनले आन्तरिक माग पूरा गर्न नसक्दा नेपालले हरेक वर्ष ठूलो रकम खर्च गरेर विभिन्न मुलुकबाट दालचिनी आयात गर्दै आएको छ । यसले एकातर्फ विदेशी मुद्रा बाहिरिने अवस्था सिर्जना गरेको छ भने अर्कोतर्फ स्वदेशमै रोजगारी तथा किसानको आम्दानी बढाउने अवसरसमेत खेर गइरहेको छ । नेपाली भान्सामा भारतदेखि अमेरिकासम्मका मसला नेपालले सबैभन्दा धेरै मसला भारतबाट आयात गर्ने गरेको छ । तर नेपालको मसला आयात भारतमा मात्रै सीमित छैन । अमेरिका, अस्ट्रेलिया, चीन, इन्डोनेसिया, भियतनाम, बुल्गेरिया, अर्जेन्टिना, कुवेत, युक्रेन, साउदी अरेबिया र पाकिस्तानलगायत विभिन्न मुलुकबाट समेत नेपालमा मसला भित्रिने गरेको छ । नेपालमा आयात हुने मसलाको सूची पनि लामो छ । सुख्खा तथा नपिसिएको मरिचदेखि दाना वा पिसिएको मरिचसम्म विदेशबाट आउँछन् । सेतो तथा कालो मरिच, सिचुआन मरिच, भेनिला, दालचिनी, ल्वाङ, जायफल, जावित्री, सुकुमेल, धनियाँ र जिराको बीउ पनि आयात हुने गरेको छ । त्यस्तै, सौंफ, ज्वानो, अदुवा तथा सुठो, केसर, ताजा बेसार, बेसारको धुलो तथा विभिन्न प्रकारका मसला मिश्रणसमेत विदेशबाट नेपाल भित्रिने गरेका छन् । उत्पादन गर्न सकिने मसला पनि आयातमै निर्भर नेपालमा अदुवा, बेसार, धनियाँ, जिरा, मरिच, अलैंचीलगायतका मसला उत्पादन गर्ने सम्भावना छ । तर उत्पादनको सम्भावना र बजारको वास्तविकताबीच ठूलो खाडल देखिएको छ । मसलाको उत्पादन बढाउन सकिने अवस्था हुँदाहुँदै पनि मागअनुसार उत्पादन हुन सकेको छैन । उत्पादन भएका मसलाको प्रशोधन, भण्डारण र बजारीकरणका लागि आवश्यक पूर्वाधार पर्याप्त नहुँदा स्वदेशी उत्पादनले आयातित मसलासँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ । जसका कारण नेपाली किसानले उत्पादन गर्न सक्ने मसलाका लागि समेत विदेशी उत्पादनमा निर्भर हुनुपर्ने अवस्था बनेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !
बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने ...

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । ...

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो
सिड्नी । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ । अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० ...

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५... ...


