Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जुम्ली महिलाको छलाङ

जुम्ली महिलाको छलाङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुम्ली महिलाको छलाङ

जुम्लाको पातारासी गाउँपालिका-४ लाम्रीकी ५० वर्षीया चन्नरुपा बुढाका दुई छोरा यसपालि दसैँमा घर फर्किने तयारीमा थिए। दुवै रसुवागढी क्षेत्रको जलविद्युत् आयोजनामा मजदुरी गर्थे। तर, १० भदौमा रसुवामा आएको विनाशकारी बाढीपछि उनीहरू सम्पर्कविहीन छन्। चन्नरुपा छोराहरूको खबरको पर्खाइमा छिन्। तर कठिन परिस्थितिबिच पनि उनले स्याउ खेती र स्थानीय कृषक समूहको नेतृत्वलाई निरन्तरता दिइरहेकी छन्। चन्नरुपाको परिचय परिवारमा बिहान-बेलुकीको छाक टार्ने घरायसी हेरचाहकर्तामा मात्रै सीमित छैन। उनी कुशल घरमूली हुन्। स्थानीय रानी कृषक समूहकी अध्यक्ष छिन्। व्यावसायिक कृषितर्फ उन्मुख स्याउ बगैँचाकी मालिक मात्रै होइनन्, दुर्गम ग्रामीण भेगमा नेतृत्व र उत्प्रेरणाकी स्रोत पनि बनेकी छिन्। उनी २६ महिला र पाँच पुरुष गरी ३१ सदस्य भएको रानी कृषक समूहको नेतृत्व गर्छिन्। सदस्यहरूसित मिलेर अन्नबाली, फलफूल र तरकारीको उत्पादन बढाउने, खाद्य सुरक्षालाई सुधार्ने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने काम गर्छिन्। अन्नबालीमा देखापर्ने नयाँ रोगकिरा, समस्या र चुनौती पहिल्याउँदै समाधान खोज्नमा अग्रसर हुन्छिन्। जुम्लाको पातारासी गाउँपालिका–४ की किसान चन्नारुपा बुढा। तस्बिरः युएनडीपी नेपाल घरमूलीका रूपमा तीन वर्षअघिसम्म उनको मुख्य चिन्ता परिवारलाई खान पुग्ने अन्न उत्पादन गर्नु थियो। उनको परिवारले बारीमा मकै, गहुँ, जौ, जुम्ली सिमी र आलु लगाउँथ्यो। यसका लागि बिहानदेखि साँझसम्म मेलापातमा दश नङ्ग्रा खियाउनुपर्थ्यो। परिवारलाई पेटभर खान पुग्ने अन्न उब्जाउन सक्नु नै ठुलो खुसी थियो। अहिले उनी खेतीलाई आयआर्जनको स्रोतका रूपमा हेर्छिन्। परम्परागत निर्वाहमुखी सोचाइलाई बदलेर आयआर्जनको अवसरका रूपमा हेर्न समूहका सदस्यलाई पनि प्रोत्साहित गर्छिन्। कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोगमा चन्नरुपासहितका सदस्यलाई उन्नत र व्यावसायिक कृषि अभ्यासबारे महिनावारी तालिम र नियमित प्राविधिक सहयोग दिन थालेपछि उनको पुरानो सोच फेरिएको छ। नेपाल सरकारसँगको सहकार्यमा नर्वे र फिनल्यान्ड सरकार तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा सञ्चालित परियोजना जुम्लासहित १० जिल्लाका २८ स्थानीय तहमा लागु गरिएको छ। हरेक वर्ष १५ अक्टोबरमा मनाइने अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसले जुम्लाजस्ता ग्रामीण भेगका महिलाको योगदानलाई सम्झाउँछ। युएनडीपीको अद्यावधिक विवरणअनुसार एक करोड २२ लाख ६० हजार अमेरिकी डलर (२८ असोज २०८३ को नेपाल राष्ट्र बैंकको खरिददरअनुसार करिब एक अर्ब ८६ करोड ५५ लाख नेपाली रुपैयाँ) बजेटको यस परियोजनाले महिला, युवा र सीमान्तकृत समुदायसहितका कृषकलाई नवीकरणीय ऊर्जा र आधुनिक कृषि प्रविधि प्रयोग गरेर उत्पादन तथा बजारीकरण सुधार्न सघाउँछ। साउन २०८० देखि सुरु भएको यो परियोजना असार २०८४ सम्म सञ्चालन हुनेछ। हरेक वर्ष १५ अक्टोबरमा मनाइने अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसले जुम्लाजस्ता ग्रामीण भेगका महिलाको योगदानलाई सम्झाउँछ। जहाँका महिला दिनहुँ खेतीपातीमा खटिएर जीविकोपार्जन गर्ने मात्रै होइन, रैथाने बीउबिजन जोगाउने, जैविक विविधता संरक्षण गर्ने, जलस्रोत व्यवस्थापन गर्ने र बिग्रेको माटोलाई पुनर्जीवन दिएर प्रकृतिको संरक्षण गर्ने काममा पनि सक्रिय छन्। जुम्लाका स्याउ उत्पादक किसान। तस्बिरः युएनडीपी नेपाल स्वच्छ ऊर्जालाई खाद्य उत्पादनसँग जोड्दा नेपालको ग्रामीण अर्थतन्त्र र सामाजिक संरचनाप्रतिको दृष्टिकोणलाई रचनात्मक सुधार गर्न सम्भव भैरहेको युएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाको भनाइ छ। “जुम्ला लगायतका ग्रामिण क्षेत्रमा महिलाहरू निर्वाहमुखी खेतीबाट बजारसंग जोडिदा उद्यमी बन्ने र यसको नेतृत्व लिनेतर्फ प्रेरित भैरहेका छन्,” उनी भन्छिन्, “रेरासले उनीहरुलाई स्थानीय अर्थतन्त्रको केन्द्रमा राख्छ, आत्मनिर्भरताको सुनिश्चितता गर्छ।” खेती, अब आम्दानीको स्रोत जुम्लाका धेरै पुरुष मौसमी कामदारका रूपमा भारत तथा अन्य सहरबजारमा जाने भएकाले यहाँको कृषिकर्म महिलाले धानेका छन्। यति मात्रै होइन, उनीहरू घरव्यवहार र मेलापातको दोहोरो बोझमा हुन्छन्। तातोपानी गाउँपालिकाका कृषि अधिकृत मोहनसिंह महतका अनुसार कृषि श्रमशक्तिमा महिलाको हिस्सा करिब ८० प्रतिशत र पुरुषको २० प्रतिशत छ। परियोजनाले पनि ग्रामीण कृषक महिलाको उत्थानमा जोड दिएको छ। युएनडीपीका अनुसार परियोजनाबाट लाभान्वितमध्ये ७१ प्रतिशत महिला र ११ प्रतिशत दलित छन्। परियोजनाले जुम्लाको पातारासी गाउँपालिका, चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका कृषक, विशेष गरी महिलाको कार्यबोझ घटाउने लैङ्गिकमैत्री कृषि औजार तथा उपकरण र उत्पादन तथा आय बढाउन आवश्यक सहायता उपलब्ध गराउँदै आएको छ। चन्नरुपाले स्याउ खेतीका लागि जग्गा तयार गर्ने, बिरुवा रोप्ने, स्याहार्ने, काँटछाँट गर्ने, सिँचाइ गर्ने, गुणस्तरीय दाना फलाउनेदेखि टिप्नेसम्मका तरिका सिकेकी छन्। यहाँका अधिकांश कृषकले स्याउको बिरुवा रोपेर छोडिदिने, कहिलेकाहीँ काँटछाँट गर्ने र फलेपछि एकैचोटि टिप्न मात्रै बगैँचा पुग्ने गर्थे। आवश्यक ज्ञान नभएर टिप्ने बेला नभईकनै बगैँचा निखार्ने चलन थियो। चन्नरुपा आफ्नो बगैँचाको नियमित हेरचाह गर्छिन्। राम्ररी हिउँ वा वर्षा नपरेको बेला जलविद्युतबाट सञ्चालित लिफ्ट सिँचाइ गर्छिन्। यी सुधारिएका खेती अभ्यासले उनको स्याउ उत्पादन र यसले पाउने मूल्य दुवै बढेको छ। “छोराछोरी हुर्काएजसरी गरेर बगैँचालाई पनि उचित मल, पानी र स्याहार दिने हो भने ठूला, रहरलाग्दा, रसिला र स्वादिला स्याउ फल्ने रहेछन्,” उनी भन्छिन्। रानी कृषक समूहका सबै सदस्यले आफ्नो बगैँचाका लागि तिला नदीबाट लिफ्टिङ गरिएको सिँचाइ सुविधा पाएका छन्। नदीबाट पानी तान्न पातारासीकै ९९८ किलोवाटको चुकेनी खोला जलविद्युत् आयोजनाको बिजुली प्रयोग हुन्छ। जुम्लाका गाउँमा उत्पादिन स्याउ संकलन केन्द्र। तस्बिरः युएनडीपी नेपाल सुधारिएको खेतीले उत्पादनमा देखिने परिवर्तन ल्याएको छ। यसपालिको सिजनमा चन्नरुपाले ३६ बोटबाट १२ क्विन्टल स्याउ उत्पादन गरिन्। गत वर्ष त्यति नै रूखबाट पाँच क्विन्टलमात्रै फलेको थियो। गत वर्षसम्म स्याउ बेच्न बिचौलियाको भर पर्नुपर्थ्यो। प्रतिकिलो ४० रुपैयाँमा बेच्नुपर्थ्यो। यसपालि गुणस्तरीय स्याउ उत्पादन भएपछि जुम्ला सदरमुकाम खलङ्गास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले आफैँले बोटैबाट टिपेर प्रतिकिलो ८० रुपैयाँमा खरिद गरेर लग्यो। “राम्रा, चिटिक्कका, आकारप्रकार मिलेका, रङ परेका, स्वाद परेका गुणस्तरीय स्याउ उत्पादन गरियो भने दाम पनि राम्रै आउँदो रहेछ भन्ने ठुलो सिकाइ भयो,” उनी भन्छिन्। चन्नरुपाको अनुभवले तालिम, प्राविधिक सहायता र बजारसँगको पहुँचले निर्वाहमुखी खेतीलाई आम्दानीको स्रोत बनाउन कसरी सघाउन सक्छ भन्ने देखाउँछ। उनी आलुखेतीमा पनि सफल छिन्। वर्षौँ पुरानो बीउ प्रयोग गर्दा उनको खेतमा एक सिजनमा ३५ किलोभन्दा बढी आलु फल्दैनथ्यो। त्यसले परिवारमा खान समेत पुग्दैनथ्यो। तालिम पाएपछि उनले उन्नत जातको बीउ रोपिन्। रोप्ने र हेरचाह गर्ने तौरतरिका सुधारिन्। यस वर्ष उनले छ क्विन्टल आलु फलाइन्। खाएर बचेको बेच्नसमेत पर्याप्त भयो। उत्पादनवृद्धिले आयआर्जनमा सघाएको छ। यसपालि उनले स्याउ, जुम्ली सिमी र तरकारी खेती गरेर तीन लाख ५० हजार रुपैयाँजति कमाइ गरिन्। परियोजनाको सहयोग पाउनुअघि उनको वार्षिक कमाइ डेढ लाख रुपैयाँजति हुन्थ्यो। आम्दानी बढेपछि घरखर्च धान्न सहज भएको छ। आम्दानी बढेसँगै उनीजस्ता कृषक महिलाको घरपरिवार र समुदायका निर्णय प्रक्रियामा सहभागिता पनि बढेको छ। संघर्षले खारिएको नेतृत्व चन्नरुपाका लागि संघर्ष नयाँ कुरा होइन। उनको १५ वर्षको उमेरमै विवाह भयो। अनि ३५ वर्षकै उमेरमा श्रीमान् गुमाइन्। एक्लैले छोराछोरी हुर्काइन्। दस जनाको परिवारलाई आफ्नै खेतीकमाइले वर्षभरि खान नपुग्ने भएपछि छोराहरू ज्यालादारी गर्थे। तीमध्ये दुई जना रसुवागढी क्षेत्रको जलविद्युत् आयोजनामा मजदुरी गर्न गएका थिए। पहिले दुई जनालाई ओखलमा ५० किलो धान कुट्न दिनभर लाग्थ्यो। हप्तौँसम्म जिउ दुख्थ्यो। अहिले मिलले ५० किलो धानको भुस छुट्याएर १५ मिनेटमा चामल निकाल्छ। केही वर्षयता स्याउ खेतीमा सुधार आएपछि बगैँचा बढाएर परिवारै यसैमा लाग्ने योजना बनिरहेको थियो। सोहीअनुसार चन्नरुपाले बिरुवा लगाएर बगैँचा फैलाइरहेकी थिइन्। उनले ३०० बोट स्याउ रोपेकी छन्। तर, छोराहरू बेपत्ता भएपछि परिवारको त्यो योजनामा अनिश्चितता थपिएको छ। यस्तो पीडाका बाबजुद उनी कृषक समूहको नेतृत्व गरिरहेकी छिन् र सामाजिक कार्यमा सक्रिय छिन्। लामो समयदेखि सामाजिक काममा सक्रिय उनी आर्थिक रूपमा थप आत्मनिर्भर हुँदै गएकाले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने सोच पनि बनाइरहेकी छन्। प्रविधिले अवसर पातारासीको लासीकी २५ वर्षीया सम्झना बुढाका लागि बिजुलीबाट चल्ने सिलाइ मेसिनले उनको काम गर्ने तौरतरिका नै बदलिएको छ। परियोजनाकै अनुदान सहयोगमा उनले विद्युतीय सिलाइ मेसिन र त्यसलाई चलाउने १० दिनको तालिम पाइन्। उनले यसअघि खुट्टे कल चलाउँथिन्। यसमा धेरै बल लाग्थ्यो। दिनभर कल चलाएपछि हात र खुट्टामा दुखाइ हुन्थ्यो। हिउँदमा भने चिसो भएर कल नै जाम हुन्थ्यो। विद्युतीय मेसिनले धेरै सहज भएको छ। “बिजुलीले चल्ने मेसिन खुट्टाले थोरै थिचिसकेपछि चल्छ,” उनी भन्छिन्, “साह्रै सजिलो छ, काम पनि छिटो छ।” अहिले उनले दिनभरमा सात जोर कुर्ता-सुरुवाल सिलाउन सक्छिन्। खुट्टे कलमा तीन जोरभन्दा बढी सिलाउन सकिँदैनथ्यो। प्रतिजोर ज्याला ३५० रुपैयाँ लिन्छिन् र मासिक कमाइ २५ हजार रुपैयाँजति हुने गरेको छ। यो उनको पहिलेको मासिक कमाइ १३ हजार रुपैयाँभन्दा झन्डै दोब्बर हो। सम्झना बुढा। तस्बिरः युएनडीपी नेपाल उनले सिलाइ काम थाल्नुको पछाडि पनि आफ्नै कथा छ। उनले १६ वर्षको उमेरमा विवाह गरिन् र अर्को वर्षभित्रै आमा बनिन्। उनीहरूको खेतीउब्जनीले छ महिना पनि खान पुग्दैनथ्यो। त्यसैले उनी आयआर्जनको उपाय खोज्दै थिइन्। त्यही बेला गाउँमै एक महिने निःशुल्क सिलाइ तालिम पाइन्। सीपलाई नियमित आम्दानीको स्रोत बनाउने निर्णय गरेर पति र छोरासहित गाउँबाट करिब ९० मिनेट पैदल दूरीमा रहेको स्थानीय बजार लासीमा झरिन्। उनले सुरुमा तीन हजारको खुट्टे कल किनेर भाडाको पसलमा सिलाइ थालिन्। सिलाइ व्यवसाय फस्टाउँदै गएपछि उनले सानो फेन्सी पसल थपिन्। पछि छुट्टै पसल पनि थपिन्, त्यसलाई श्रीमानले हेर्छन्। छ वर्षअघि सानो लगानीमा सुरु गरेको व्यवसायको मूल्य अहिले करिब ३० लाख रुपैयाँ पुगेको सम्झना बताउँछिन्। विद्युतीय सिलाइ मेसिन जोडेपछि अर्का एक जनालाई पनि रोजगारी दिएकी छन्। दुई वर्षअघि लासीमा सम्झनासहित १४ महिलाले विद्युतीय सिलाइ मेसिन पाएका थिए। यसले उनीहरूलाई कार्यबोझ घटाउन, आम्दानी बढाउन र व्यवसाय विस्तार गर्न सघाएको छ। जुम्लाको तिलानदी किनारमा गरिएको मार्सी धान खेती। तस्बिरः युएनडीपी नेपाल समयको बचतले ल्याएको खुसी पातारासीमा बिजुलीबाट चल्ने मिलले महिलाको समय बचेको छ, कार्यबोझ घटेको छ। पहिले महिलाहरू २० देखि ३० मिनेट हिँडेर पानीघट्टसम्म पुगेर अन्न पिस्थे। गाउँभरिमा एउटै मात्रै घट्ट हुने भएकाले पालो पाउन गाह्रो हुन्थ्यो। स्थानीय सरा बुढाका अनुसार पहिले लामो समय पालो कुर्नुपर्थ्यो। “अहिले बिजुली मिलले अन्न छिटो पिस्छ, पालो पनि पाइहालिन्छ,” उनी भन्छिन्। यति मात्रै होइन, घट्ट खोला नजिक हुने भएकाले बाढीको डर हुन्थ्यो। सराका अनुसार घट्ट चलाउने पुरुषबाट कतिपय महिलाले दुर्व्यवहार र हिंसा पनि भोगेका थिए। बिजुलीबाट चल्ने मिलले काम मात्रै छिटो भएको छैन, महिलाका लागि सुरक्षित पनि बनाएको छ। सराले बचेको समयलाई बगैँचाको स्याहारमा उपयोग गर्छिन्। स्याउ र सिमी उत्पादनका लागि पाएको सहयोगले परिवारको आम्दानी बढेको छ। पोलिहाउसले बाह्रैमास तरकारी खान सम्भव भएको छ। चन्दननाथ नगरपालिका-९, उमगाडकी कामकाजी महिला सपना गिरीका लागि खेतीको बोझ घटेपछि आराम गर्न र आफ्नो स्वास्थ्यको ख्याल गर्न समय मिलेको छ। उनी स्थानीय साइदेउ बाल विकास केन्द्रमा २०६८ सालदेखि सहजकर्ता छिन्। जागिरसँगै घरायसीधन्दा र मेलापात धान्ने जिम्मा पनि उनैलाई छ। मंसिर २०८२ मा ८० प्रतिशत अनुदानमा बिजुलीबाट चल्ने थ्रेसर पाएपछि धान चुट्न सजिलो र छिटो भएको सुनाउँछिन्। उनले अहिले एक दिनमा १० भारीसम्म धान चुट्न सक्छिन्। पहिले लठ्ठीले चार भारीजति धान झाटेपछि गलेर लखतरान पर्थिन्। उनीसमेत आबद्ध रहेको २४ सदस्यीय हाम्रो कुलदेव कृषि उत्पादन तथा उपभोक्ता समूहले पनि बिजुली मिल पाएको छ। यसले धान, दाल कुट्न सजिलो भएको छ। पहिले दुई जनालाई ओखलमा ५० किलो धान कुट्न दिनभर लाग्थ्यो। हप्तौँसम्म जिउ दुख्थ्यो। अहिले मिलले ५० किलो धानको भुस छुट्याएर १५ मिनेटमा चामल निकाल्छ। “पहिले बिदाको दिन खेती कामले मारामार हुन्थ्यो, गलेर लखतरान हुन्थे, अहिले काम सजिलो र छिटो हुने भएकाले आराम गर्ने समय पाउँछु,” उनी भन्छिन्। बिजुलीबाट चल्ने कृषि औजार प्रयोग गरेर श्रीमान्‌ले पनि काममा सघाउन थालेका छन्। पहिले भने गाउँका धेरै पुरुषहरू घरधन्दा र मेलापात महिलाकै भरमा छोड्थे। सपनाका अनुसार समय बचत हुन थाले पनि महिलाहरू कृषक समूहका बैठकमा नियमित सहभागी हुने र आम्दानी बढाउने खालका नयाँ सीप सिक्न उत्साहित हुने गरेका छन्। “खासगरी महिलाले सन्तानको हेरचाह र वृद्धवृद्धा सदस्यको स्याहारमा बढी समय दिन पाइरहेका छन्,” उनी भन्छिन्। जुम्लाको पटारशी गाउँपालिकास्थित विद्युतीय मिलका सञ्चालक गोरखबहादुर बोहरा। तस्बिरः युएनडीपी नेपाल कमाइले दिएको आँट तातोपानी गाउँपालिका-६, धौलापानीकी २७ वर्षीया पवित्रा कोइराला न्यौपानेका लागि कृषि कमाइ आर्थिक स्वतन्त्रताको आधार बनेको छ। उनको परिवारमा श्रीमान्, छोराछोरी र सासूससुरा छन्। स्याउ, सिमी र रैथाने बालीको खेती गरेर परिवार पाल्छिन्। परम्परागत खेतीप्रणालीमा आधारित सीमित उत्पादनका कारण पहिले वर्षभरि खानलाई धान्न कठिन हुन्थ्यो। सासूससुराले चलाएको किराना पसलको सानोतिनो कमाइले गुजारा टार्नुपर्थ्यो। स्याउ र सिमी उत्पादनका लागि पाएको सहयोगले परिवारको आम्दानी बढेको छ। पोलिहाउसले बाह्रैमास तरकारी खान सम्भव भएको छ। हिउँदमा हिउँ र तुसारो पर्ने भएकाले तरकारी फल्दैनथ्यो। पोलिहाउसले गर्दा बाह्रैमास थरिथरिका ताजा तरकारीसहितको भान्सा जुर्न थालेको छ। कमाइ बढेपछि पारिवारिक निर्णयमा पवित्राको भूमिका बलियो भएको छ। “पहिले सासुससुराकै खटनपटनमा चल्नुपर्थ्यो, अहिले मेरो आफ्नै बैंक खाता छ, स्याउ सिमी बेचेको खातामा जम्मा हुन्छ, १०० रुपैयाँ माग्नुपर्ने स्थिति अब छैन,” उनी भन्छिन्। पवित्रा अधिकारी न्यौपाने। तस्बिरः युएनडीपी नेपाल उनले यसपालिको सिजनमा दुई लाख ७० हजार रुपैयाँको स्याउ बेचिन्। गत वर्ष एक लाख ४० हजार रुपैयाँजति मात्रै भएको थियो। परियोजनाले सहकारीमार्फत बजारीकरणमा सहजीकरण गरेपछि सुधार आएको उनी बताउँछिन्। पाँच दिन स्याउ टिप्ने काम गरेर ज्यालाबापत पाँच हजार रुपैयाँ पनि कमाएको उनले बताएकी छन्। उनले आफ्नै कमाइबाट सहरमा बसेर लोकसेवा तयारी गरिरहेका श्रीमान्‌लाई खर्च पठाउँछिन्। दलित महिलालाई अवसर स्थानीय सहकारीले कृषकको उत्पादन सङ्कलन र बजारीकरणलाई व्यवस्थित बनाउने काम गरेका त छन् नै, दलित महिलालाई रोजगारी पनि दिएका छन्। तिनैमध्येकी एक हुन् वसन्ती नेपाली। उनी तातोपानीमा महिलाले नेतृत्व गरेको धौलीगाड कृषि सहकारीमा काम गर्छिन्। उनी पहिले प्रौढ शिक्षाको कक्षा पढाउँथिन्। सन्तान जन्मेपछि पारिवारिक हेरचाहमा सीमित भइन्। तर सहकारीले उनलाई कामकाजी बन्ने ठाउँ दिएको छ। यो सहकारी छ वर्षअघि रैथाने बीउ संरक्षण गर्ने उद्देश्यले हाँकु सामुदायिक बीउ बैंकका रूपमा स्थापना भएको थियो। २०८० सालमा सहकारीका रूपमा दर्ता भएपछि रैथाने उत्पादन सङ्कलन र बजारीकरण गरिरहेको छ। खासगरी महिला कृषकका उत्पादनलाई बजारमा जोड्न विद्यालयलाई दिवा खाजाका लागि खाद्यान्न आपूर्ति गर्न थाल्यो। लटरम्म फलेका स्याउ टिप्दै जुम्ली महिला। तस्बिरः विद्या राई कार्यक्षेत्र बढेपछि सहकारीले वसन्तीलाई मंसिर २०८२ मा सहजकर्ताका रूपमा भर्ती गर्‍यो। उनले सहकारीका सदस्यहरूको घरघर पुगेर बचत उठाउने, बीउबिजन र अन्न सङ्कलन गर्ने, प्याकेजिङ गर्ने र विद्यालयको दिवा खाजाका खाद्यान्न पुर्‍याइदिने गर्छिन्। सामान किनबेचपछि विद्युतीय भुक्तानी लिन र कम्प्युटरमा बिल-भौचर तयार गर्न सिकेकी छिन्। कक्षा १० सम्म पढेकी उनी अहिले थप पढ्ने इच्छा राखेकी छन्। “तत्काललाई कम्प्युटर राम्रो चलाउने हुनुछ,” उनी भन्छिन्। प्रविधिको सिकाइले अवसरको दायरा बढ्ने उनले बुझेकी छन्। बदलिँदै सोच, बदलिँदै जीवनस्तर जुम्लाको पातारासी, चन्दननाथ र तातोपानीका महिला आफ्नो कामको मूल्य र सम्मान पाउन थालेपछि कृषि उपज उत्पादन, सङ्कलनदेखि प्रशोधन, बजारीकरण र नेतृत्वसम्मको सम्पूर्ण कृषि चक्रमा सक्रिय सहभागिता देखाउन थालेका छन्। पहिले उनीहरूको भूमिका खासगरेर निर्वाहमुखी थियो, अहिले उनीहरू आफ्नो कृषि सीप, ज्ञान र अनुभवलाई आम्दानी बढाउन, आर्थिक निर्णय गर्न, कृषिकर्मको स्वामित्व लिन र समूह तथा समुदायको नेतृत्व गर्न उपयोग गर्न थालेका छन्। स्थानीय उत्पादन बिक्रीमा राखेकी वसन्ती नेपाली। तस्बिरः विद्या राई चन्नरुपाले मार्सी, मकै, कोदो, फापरको पीठो, चिनो, कागुनो, आलु र जुम्ली सिमीलगायत समूहका उत्पादनलाई बजारसँग जोड्ने काममा अगुवाइ गरिरहेकी छन्। “मैले पहिले यो खेतीपातीलाई पेट भर्ने माध्यमको रूपमा हेर्थे, अहिले कुराहरू सुनियो, सिकियो, खानपुग्ने मात्रै होइन आम्दानी गर्ने गरी खेती गर्नुपर्छ भन्ने जानियो,” उनी भन्छिन्, “हाम्रो समूहकै लागि हित होस् भनेर अझ व्यवस्थित र व्यावसायिक रूपमा खेतीलाई जोड्नुपर्छ भनेर लागिरहेको छु।” परियोजनाको सहयोगमा समूहका सदस्यले महिनैपिच्छे तालिम पाउँछन्। प्राविधिकले कृषकका समस्या बुझेर समाधान गरिदिन्छन्। यसले कृषक र समूह दुवैलाई सक्रिय बनाएको छ। उनीहरूले समूह सञ्चालन, सरकारी अनुदान माग्न, उत्पादन सुधार गर्न र बजारको महत्त्व सिकेका छन्। दुई वर्षयता चन्नरुपाको समूहले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट आलु र जुम्ली सिमी उत्पादनका लागि अनुदान पायो। जुम्लाको खलंगास्थित तरकारी बजार। तस्बिरः युएनडीपी नेपाल आलु उत्पादन पकेट क्षेत्रको विकास गरिएको छ। समूहमा आबद्ध हरेक सदस्यले आलु खेती गर्नैपर्ने नियम छ। यसै वर्षको सुरुवातदेखि समूहले छ वटा विद्यालयमा दिवा खाजाका लागि रैथाने बाली तथा तरकारी बेच्दै आएका छन्। हालसम्म दुई लाख रुपैयाँको उत्पादन बिक्री गरेका छन्। उनले स्थानीय तहसँग रैथाने बाली र तरकारीको बजारीकरणमा सहयोग गरिदिन अनुरोध गरिरहेकी छन्। उत्पादन वृद्धि भएपछि रानी कृषक समूहमा बचत दर पनि बढेको छ। पहिले मासिक एक सय रुपैयाँ बचत गर्न गाह्रो पर्ने सदस्यहरू अहिले एकैजनाले महिनामा एक हजार रुपैयाँसम्म बचत गर्छन्। आपत्‌मा परेका सदस्यलाई समूहमा उठेको बचतबाट सहुलियत ब्याजमा ऋण प्रवाह गर्छन्। उनीहरूले परियोजनाको सहयोग अवधिपछि पनि खाद्य सुरक्षामा योगदान र व्यावसायिक कृषिलाई निरन्तरता दिन बचत काम लाग्ने बताउँछन्। बिक्रीबा लागि राखिएको रैथाने बालीबाट बनेको दिवा खाजा। तस्बिरः युएनडीपी नेपाल जुम्ली महिलाको यो छलाङ पुरुषले पनि महसुस गर्न थालेका छन्। तातोपानीका कृषि अधिकृत महतका अनुसार खेतीबाट कमाइ हुन थालेपछि पुरुषहरू पनि यसतर्फ आकर्षित हुन थालेका छन्। उनी भन्छन्, “खेतीमार्फत महिलाले कमाइ गर्न थालेको र आर्थिक रूपमा आत्मनिर्भर हुन थालेको फाइदा पुरुषले पनि चिन्न थालेका छन्, चासो राख्न थालेका छन्।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

नेपाल प्रहरीले सुरु गर्‍यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?
ताजा खबरJust now

नेपाल प्रहरीले सुरु गर्‍यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?

काठमाडौं । डिजिटल सञ्चारको माध्यमका रूपमा पोडकास्ट लोकप्रिय भइरहेका बेला नेपाल प्रहरीले पनि आफ्नै पोडकास्ट सुरु गरेको छ। नागरिकसँगको संवादलाई प्रभावकारी बनाउने, प्रहरीप्रतिको बुझाइ स्पष्ट पार्ने तथा समाजमा प्रहरीको भूमिका र अनुभवबारे खुला छलफल गर्ने उद्देश्यले प्रहरीले ‘नेपाल पुलिस पोडकास्ट’ सञ्चालनमा ल्याउन लागेको हो। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत पोडकास्टको पहिलो एपिसोडको झलक सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ। सार्वजनिक गरिएको ...

केन्द्रबिन्दु
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
ताजा खबरJust now

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । कास्की र मोरङका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा बुधबार दिउँसो चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई सोही स्थानमा बस्ने ५० वर्षीय हिमालकुमार दाहालसमेत छन् । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार रुपैयाँ नगद र ११ थान ...

हिमालय टाइम्स
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]
ताजा खबरJust now

नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]

काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाको आकाशमा रङ्गीबिरङ्गी चङ्गा उड्न थालेका छन् । शरद ऋतुको नीलो आकाश, पारिलो घाम र मन्द बताससँगै चङ्गा उडाउने परम्पराले उपत्यकामा दशैँको रौनक थपेको छ । चङ्गा, लट्टाई र माँझा किन्ने ग्राहकको भीडले बजारका गल्लीहरू पनि उत्सवमय बनेका छन् । काठमाडौंका असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल […] ...

लोकपथ
प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने
ताजा खबरJust now

प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play