सोमालियामा कुपोषणको भयावह अवस्था, ३ वर्षकी छोरी काखमा च्यापेर ९० किलोमिटर पैदल

जुबाल्यान्ड । आफ्नी ३ वर्षकी बिरामी छोरीलाई काखमा च्यापेर हलिमा अब्दुल्लाही इब्राहिम लगातार तीन दिनसम्म पैदल हिँडिन् । सोमालियाको दुर्गम गाउँबाट करिब ९० किलोमिटर टाढा रहेको अस्पतालसम्मको यो यात्रा उनले छोरीको ज्यान जोगाउनका लागि तय गरेकी हुन् । बालिकाको शरीर सुन्निँदै गएको थियो र गाउँ नजिकै कतै पनि स्वास्थ्य उपचारको सुविधा उपलब्ध थिएन । अन्ततः तीन दिनपछि हलिमा किस्मायो रिफरल अस्पताल पुगिन्, उनकी ३ वर्षीया छोरी आसो हसन अब्दीलाई सिधै आपत्कालीन उपचार कक्षमा भर्ना गरियो । सेतो पर्खाल र फलामका खाटहरू भएको उक्त वार्डमा हलिमाले छोरीलाई बैजनी कपडामा बेरेर काखमा राखिन् । त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बालिकाका खुट्टा र पैतलाको परीक्षण गरे । उनको शरीरमा कुपोषणका कडा लक्षणहरु देखिएका थिए । परीक्षणपछि स्वास्थ्यकर्मीहरूले कुपोषणका कारण शरीरमा पानी जमेर सुन्निने रोग ‘एडिमा’ भएको पुष्टि गरे । अस्पतालमा उपचाररत ३ वर्षीया आसो सोमालियाले भोगिरहेको राष्ट्रिय सङ्कटको एक प्रतिनिधि पात्र मात्र हुन् । ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन’ (आईपीसी) को विश्लेषण अनुसार ६ महिनादेखि ५ वर्षमुनिका करिब १९ लाख २० हजार सोमाली बालबालिका कडा कुपोषणबाट ग्रस्त छन् । तीमध्ये ४ लाख ३३ हजार बालबालिका कडा रूपमा कुपोषित हुने जोखिममा छन् । कडा कुपोषणले बालबालिकाको ज्यानै जाने जोखिम उच्च रहन्छ । सोमालियामा कुपोषणका घटनामध्ये आधाभन्दा बढी देशको दक्षिणी क्षेत्रमा देखिएका छन् । त्यहाँका समुदायहरू विभिन्न रोगको प्रकोप, खाद्य असुरक्षा तथा स्वास्थ्य सेवा, खानेपानी र सरसफाइको अभाव झेलिरहेका छन् । त्यसमाथि मौसमी प्रणालीमा हुने परिवर्तनको ढाँचा ‘एल निनो’ का कारण आउन सक्ने सम्भावित बाढीले थप परिवारहरूलाई विस्थापित बनाउन सक्नेछ । यसले निम्त्याउने बाढी–पहिरोले स्वास्थ्य सेवाको पहुँचलाई अझै कठिन बनाउने चेतावनी दिइएको छ । बालिका आसोको उपचार भइरहेको अस्पतालमा गत अगस्ट महिनामा मात्रै कडा कुपोषण भएका १ सय ५२ जना बालबालिका भर्ना भएका थिए । जसमध्ये चार जनाको उपचारका क्रममा मृत्यु भएको जुबाल्यान्ड स्वास्थ्यमन्त्री इस्माइल गरासले जानकारी दिएका छन् । कटौतीमा मानवीय सहायता, थपिँदै बाढी र विस्थापनको जोखिम यो मानवीय सङ्कट यस्तो समयमा निम्तिएको छ, जब मानवीय सहायता संस्थाहरूसँग सहयोगका लागि साधन–स्रोतको चरम अभाव छ । विश्व खाद्य कार्यक्रम (डब्ल्युएचओ ) सीमित सहायता मात्र उपलब्ध गराउन सकेको छ । सोमालियाको यो आपत्कालीन अवस्थाले विश्वभर भोक, रोग र गरिबीविरुद्धको लडाइँलाई कमजोर बनाउँदै लगेको अवस्थामा अन्तर्राष्ट्रिय मानवीय सहायता कोषमा भएको कटौतीको डरलाग्दो चित्र प्रस्तुत गर्दछ । संयुक्त राष्ट्रसङ्घीय बालकोषका सोमालिया प्रतिनिधि स्यान्ड्रा लाटोफका अनुसार बालबालिकाहरू कुपोषणका कारण मरिरहेका छन् भने दादुराजस्ता महामारीले यो खतरालाई अझ भयावह बनाएका छन् । ‘हामीले उनीहरूका लागि अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ,’ किस्मायो भ्रमणका क्रममा लाटोफले भनिन् । उनले समुदायस्तरका स्वास्थ्यकर्मी, स्थानीय नेता, सरकारी निकाय र मानवीय सहायता संस्थाहरूबीच अझ मजबुत सहकार्य हुनुपर्नेमा जोड दिइन् । विस्थापन र बाढीले सङ्कट अझ गहिरिने खतरा देशको दक्षिणी भूभागमा रहेको २ लाख ५० हजारभन्दा बढी जनसंख्या भएको बन्दरगाह शहर किस्मायोको बाहिरी इलाकास्थित लुग्लो विस्थापित शिविरमा अनुदान र सहायता कटौतीको प्रत्यक्ष असर स्पष्ट देखिन्छ । यहाँ रातो माटो, निगालोका बाँस र प्लास्टिकका त्रिपालले छाएका अस्थायी छाप्राहरू खडा छन्, जसको बीच–बीचमा फोहोर पानी जमेका साना खाडलहरू छन् । शिविरस्थित पोषण केन्द्रमा आमाहरू आफ्ना साना बालबालिकालाई काखमा राखेर गुन्द्रीमा बसेका छन् । भ्रमणमा आएका युनिसेफ टोलीका सदस्यहरू उनीहरूसँग भुइँमा बसेर कुराकानी गरिरहेका छन् । जुबाल्यान्डका शरणार्थी तथा आन्तरिक विस्थापित आयुक्त अलि अदान अलिका अनुसार रकम अभाव देखाउँदै सहायता संस्थाहरूले मानवीय सहयोग रोकेपछि धेरै विस्थापित परिवारहरूले सन् २०२३ देखि कुनै पनि सहायता पाएका छैनन्। ‘जुबाल्यान्डमा आन्तरिक रूपमा विस्थापित मानिसहरूको वर्तमान अवस्था निकै भयावह छ,’ अलिले भने । उनले सम्भावित बाढीका कारण जुबा नदी किनारमा बस्दै आएका मानिसहरू अग्लो भूभागमा रहेको किस्मायोतर्फ विस्थापित हुन बाध्य हुने बताए । यसले विस्थापित शिविर, पोषण केन्द्र र अस्पतालहरूमा थप चाप सिर्जना गर्ने उनको चेतावनी छ । सोमालियाका लागि स्विडेनका राजदूत हान्स हेनरिक लुन्डक्विस्टले युनिसेफ प्रतिनिधि लाटोफसँगै लुग्लो पोषण केन्द्रको भ्रमण गरी स्थानीय अधिकारी, आमाहरू र बालबालिकासँग भेटघाट गरेका छन् । विश्वव्यापी रूपमा आर्थिक सहायता घट्दै गएकाले एजेन्सीहरूले स्थानीय समुदायसँग मिलेर अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने उनले बताए ।‘हामीले प्रतिरोध क्षमता बढाउनु आवश्यक छ, किनकि विश्वभर नै कोषको अभाव भइरहेको छ,’ लुन्डक्विस्टले भने, ‘हामीले पहिलेभन्दा अझ बुद्धिमानीपूर्वक छरितो रूपमा काम गर्नुपर्छ ।’ हलिमाको यो कष्टकर यात्राले सोमालियाका परिवारहरुले भोगिरहेको संकटको गहिरो यर्थाथ उजागर गर्छ । कडा कुपोषणबाट पीडित बच्चा, गरिबी, लामो दूरी र अन्तर्राष्ट्रिय सहायता कटौतीका कारण विशेषज्ञ स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन सक्ने अवस्थालाई यसले उजागर गरेको छ । यो उनीहरूका लागि जीवन र मृत्युको प्रश्न बन्न सक्छ । एपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


