उपराष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्। विजयादशमी, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सत्य, न्याय, धर्म र सदाचार अन्ततः विजयी हुन्छन् भन्ने युगीन सन्देश बोकेको बडादसैँले मानिसलाई आफ्नो आचरण र व्यवहारलाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने बताएका छन्। ‘विजया दशमीले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि मानवता, विवेक र नैतिक शक्तिको विजय सुनिश्चित हुने विश्वासलाई थप बलियो बनाउँछ,’ शुभकामना सन्देशमा उपराष्ट्रपतिले भनेका छन्। विजयादशमीले समाजमा सहिष्णुता, आत्मानुशासन, संयम र कर्तव्यप्रतिको निष्ठालाई प्रवर्द्धन गर्ने उल्लेख गर्दै उनले लोभ, घृणा, अहङ्कार, इष्र्या र वैमनस्यजस्ता दुर्गुणलाई त्यागी सहकार्य, समर्पण, सद्भाव र मानवीय संवेदनाको मार्गमा अघि बढ्न दसैँले प्रेरणा दिने बताए। व्यक्तिको आन्तरिक शुद्धीकरण र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम राख्न विजयादशमीको विशेष महत्व रहेको उनको भनाइ छ। दसैँ पुनर्मिलन र आत्मीयताको महापर्व भएको उल्लेख गर्दै उपराष्ट्रपतिले शिक्षा, रोजगारी, व्यवसाय वा अन्य कारणले परिवार र समुदायबाट टाढा रहेका व्यक्ति यस अवसरमा आफ्ना प्रियजनसँग भेटघाट गरी सम्बन्धको नवीकरण गरिँदै आइएको बताए। ‘ज्येष्ठको आशीर्वाद, अग्रजप्रतिको सम्मान र कनिष्ठप्रतिको स्नेह आदानप्रदानले पारिवारिक तथा सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्राप्त हुन्छ,’ उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘यस अर्थमा विजयादशमी धार्मिक संस्कारमा मात्र सीमित नभई सामाजिक एकता र मानवीय सम्बन्धको उत्सवका रूपमा स्थापित भएको छ।’ हाम्रा परम्परागत संस्कार, लोककला, लोकसङ्गीत, सांस्कृतिक अभ्यास तथा सामुदायिक क्रियाकलापले राष्ट्रिय पहिचानलाई समृद्ध बनाएको जनाउँदै उनले यस्ता सांस्कृतिक आयामको संरक्षण र प्रवर्द्धनमा विजयादशमीजस्ता पर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन्। आजको परिवर्तित विश्व परिदृश्यमा सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहअस्तित्वको भावना अझ बढी आवश्यक भएको उल्लेख गर्दै उपराष्ट्रपतिले विभाजन र वैमनस्यताभन्दा माथि उठेर साझा राष्ट्रिय हित, सामाजिक समरसता र समुन्नत नेपालको निर्माणतर्फ अग्रसर हुन विजयादशमीले प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्। उपराष्ट्रपतिले विजयादशमी, २०८३ले प्रत्येक नेपाली नागरिकको जीवनमा आशा, ऊर्जा, आत्मविश्वास र सफलताको नयाँ अध्याय प्रारम्भ गराओस् भनी शुभेच्छा व्यक्त गरेका छन्। उनले विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...


