बुढीगण्डकी बाढीको कहर : दुई सय घर बगे, ओत खोज्दै बाढीपीडित परिवार

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्रीस्थित सिर्दिबासदेखि आरुघाटसम्मका दुई सयभन्दा बढी घर बगाएपछि विस्थापित ओतको खोजीमा छन् । बाढीले सडक र मनास्लु पैदलमार्गसमेत ठाउँठाउँमा कटान गरेपछि उत्तरी गोरखाका दुई पालिकाका बस्तीको आवागमन विच्छेद भएको छ । स्थानीय जनप्रतिनिधिले उद्धार र राहत वितरणका लागि पनि हेलिकोप्टरकै भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरे । घरबार गुमाएकाहरूलाई सुरक्षित स्थानमा बसोबासको चिन्ता छ भने बाटो, सडक अवरुद्ध भएका कारण उद्धार, राहत र दैनिक उपयोग्य सामग्रीको आपूर्तिमा समेत कठिनाइ देखिएको छ । चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले हेलिकोप्टरबाट राहत ल्याएर स्थानीयलाई वितरण गरिएको बताए । पालिकाले बाढीपीडितहरूलाई त्रिपाल र खाद्यान्न वितरण गरिरहेको छ । ‘राहत ल्याउन पनि हेलिकोप्टरबाहेक अर्को विकल्प छैन । क्यान्टिलिभर पुल बगाएपछि चुमभ्यालीतर्फ झन् ठूलो समस्या भयो । फिलिमसम्म आउन पैदलमार्ग पनि भएन,’ उनले भने । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको पनि यस्तै गुनासो छ । ‘आरुघाटभन्दा माथि छेपारे भीरमा बाढीले लेदो ल्याएर सडक कटान गरेको छ । ठाउँ/ठाउँमा लेदो जमेको छ । लेदो पन्छाउन थालिएको छ,’ उनले भने, ‘गाउँपालिकाको केन्द्र माछाखोलासम्म जसरी पनि गाडी पुर्याउने गरी काम गरिरहेका छौं । खोलाबेंसी तातोपानीको बीचमा बुढीगण्डकी नदी नै पदमार्गमा बगेको छ । त्यसभन्दा माथि चुमनुब्रीतर्फ जाने उपाय छैन ।’ स्थानीयका अनुसार धार्चे गाउँपालिकाको खोर्लाबेंसीदेखि घट्टेखोलासम्मको सडकको अवस्था झनै अस्तव्यस्त छ । उक्त खण्डमा पैदल हिँड्ने बाटोसमेत छैन । उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका पुग्ने एकमात्र लार्के सडकका दर्जनभन्दा बढी ठाउँमा पहिरो खस्नुका साथै सडक भासिएको र बुढीगण्डकीले कटान गरेको स्थानीयले बताएका छन् । ‘छेपारेभीरनेरको बाटो बने माछाखोलासम्म सवारी जेनतेन चलाउन सकिन्छ कि भनेर एक्स्काभेटर लगाएर सफा गर्दै छौं,’ उनले भने, ‘खोर्लाबेंसी र तातोपानीबीचको सडकमा भने नदी नै बगेको छ । त्यहाँबाट मान्छे हिँड्न मिल्ने अवस्था पनि छैन ।’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीले गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका गरी २ सय ४ घरमा बाढीले क्षति पुगेको जनाएको छ । चुमनुब्रीका ४३, धार्चेका ३९, आरुघाटका ६४ र त्रिपुरासन्दुरीका ५८ घरमा क्षति पुगेको विवरण छ । आरुघाट गाउँपालिका–३ सोतीका २० घरधुरीमध्ये कोही आफन्तकहाँ त कोही सामुदायिक भवनमा बास बसेर रात कटाएको वडाध्यक्षसमेत रहेका टेकबहादुर अधिकारीले बताए । ‘बुढीगण्डकी किनारमै घर छ, हिजोको बाढीले घरभित्रै लेदो ल्याएर हालिदियो,’ उनले भने, ‘२०७२ को भूकम्पले पनि यो बस्तीका घर हल्लाएको थियो, हिजोको बाढीले पनि जमिन थर्किएर घर हल्लिएको छ, यस्तो घरमा कसरी सुत्नु ?’ सोती बजारकै स्थानीय सपना गुरुङले बाढीले घर बगाएपछि छिमेकीको घरमा बास बसेको बताइन् । ‘बुढीगण्डकी पारि मान्वुबाट पानी ल्याएको पाइप पनि बाढीले बगायो । आकाशमा हेलिकोप्टर घुम्छ तर हामीले पानी पिउन पाएका छैनौं । न राहत छ । घर बगाएपछि छिमेकीको घरमा बसेका छौं ।’ सिर्दिबास जगतका विशाल घले घर र बारी बगाएपछि आफन्तको आश्रय खोज्दै सेनाको हेलिकोप्टरमा काठमाडौं आइपुगेका छन् । ‘बाढीबाट घर बगाएकाहरू आफन्तकामा बसेका छन् । अस्थायी टहरा बनाउन पालिकाले त्रिपाल बाँड्न थालेको छ,’ उनले भने, ‘लगाएको एक जोर लुगाबाहेक सबै बाढीले बगायो । अहिले पीडितलाई गाँसबासकै समस्या छ ।’ बाढीले घर, पुल र पैदलमार्ग बगाउँदा नदी तटीय बस्तीका स्थानीय अझ बढी प्रभावित देखिन्छन् । कतिपय बस्तीबाट बाहिरिने बाटोसमेत नभएपछि स्थानीय गाउँमै रोकिएका छन् । ‘ठाउँठाउँमा सडक र पैदलमार्ग बाढीले बगाएको छ । तल फर्कने ठाउँ पनि छैन । माथि उक्लने ठाउँ देखिँदैन । बुढीगण्डकी वारिपारि गर्न पनि हेलिकोप्टर चाहिने भएको छ,’ स्थानीय विशाल घलेले भने । उनको ४८ जना बास बस्न मिल्ने होटलसहित घर बाढीले बगाएको छ । बाढीले आरुघाटदेखि सिर्दिबाससम्मका २ वटा मोटरेबल पक्की पुल, २ वटा झोलुंगे पुल, १ बेलिब्रिज र क्यान्टिलिभर पुल पनि बगाएको छ । क्यान्टिलिभर पुल बगाउँदा चुमनुब्री गाउँपालिकाका जगत र सल्लेरी बस्तीको आवागमन पूर्ण रूपमा ठप्प भएको गाउँपालिका अध्यक्ष लामाले जनाए । उनका अनुसार बुढीगण्डकी कटानले दुई गाउँ जोड्ने पैदलमार्ग साथै तल र माथि जाने बाटोसमेत भत्काएको छ । जगतबाट करिब ३० मिनेट पैदलमा पुगिने सल्लेरीसँग सम्पर्क टुटेको छ । गाउँपालिका केन्द्र फिलिमसम्म पुग्ने बाटोसमेत अवरुद्ध भएपछि स्थानीय आवतजावत गर्न नसक्ने अवस्थामा छन् । ‘गाउँबाट निस्किएर हिँड्ने बाटो नै छैन । तलको बाटो लग्यो, माथि जाने बाटो पनि छैन,’ जगतका स्थानीय गणेश कार्कीले भने, ‘अस्तिसम्म हिँडेको बाटोमा बुढीगण्डकी बगेको छ ।’ बाढीका कारण जगतमा मनास्लु घुम्न आएका एक सयभन्दा बढी पर्यटक रोकिएका छन् । सल्लेरीमा मजदुर, जलविद्युत् आयोजनाका कर्मचारी र स्थानीय गरी करिब ७० जना छन् । कतिपयलाई हेलिकोप्टरले उद्धार गरी काठमाडौं फर्काएको छ भने केहीलाई मनास्लु क्षेत्रमा पुर्याएको स्थानीयको भनाइ छ । सल्लेरीमा केही खाद्यान्न हेलिकोप्टरमार्फत पुर्याइएको स्थानीयले बताएका छन् । मनास्लु क्षेत्र विकास आयोजना (एमक्याप) ले पनि मनास्लु पदमार्गमा बाढीले क्षति पुर्याएको जनाउँदै चुम उपत्यका पदयात्रा स्थगित गर्न पर्यटकलाई आग्रह गरेको छ । माछीखोलादेखि जगतसम्मका विभिन्न खण्डको पैदलमार्गमा क्षति पुगेको जनाइएको छ । सिर्दीभीरको झोलुंगे पुल बगेपछि चुम उपत्यका जाने बाटो अवरुद्ध छ । एमक्याम्पका अनुसार सिर्दिबाससम्म हेलिकोप्टरमा पुगे त्यहाँभन्दा लोर्के पास वा मनास्लुतर्फको पदमार्ग भने सुरक्षित छ । त्यसभन्दा तल्लो क्षेत्रमा पैदल यात्रा नगर्न आग्रह गरिएको छ । ‘बाढीले क्षति पुर्याएको पदमार्गको मर्मत तथा पुनःसञ्चालनका लागि स्थानीय अधिकारी र सम्बन्धित सरकारी निकायसँग समन्वय गरिएको छ । क्षतिको मात्रा र मौसमको अवस्थाका आधारमा पदमार्ग पुनःसञ्चालन गर्न समय लाग्न सक्नेछ,’ एमक्याम्पले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘पर्यटक, स्थानीय समुदाय, पदयात्रा एजेन्सी र गाइडलाई जोखिमयुक्त क्षेत्रबाट आवतजावत नगर्न आग्रह गरिन्छ ।’ बाढीले क्षति गरेका पुल, पदमार्ग र नदीका खण्ड आफैं पार गर्ने प्रयास नगर्नसमेत सचेत गराइएको छ । आइतबार बिहानै चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङको बीचमा पहिरो गई नदी थुनिएर बुढीगण्डकीमा बाढी आएको प्राधिकरणले जनाएको छ । स्थानीय स्यारखोलाको सहायक उङ्गिलुङ खोलामा पहिरो खसेर बाढी आएको अनुमान गरिएको छ । पहिरो थुनिएर बग्दा बढेको स्यारखोला बुढीगण्डकीमा मिसिएर आरुघाटसम्मको तटीय क्षेत्र अस्तव्यस्त बन्न पुगेको हो । पहिरो गएको क्षेत्र आसपास गोठमा रहेका ५ जना सम्पर्कविहीन छन् । पहिरोपछिको बाढीलगत्तै माथिल्लो क्षेत्रका बासिन्दाले टेलिफोन र फेसबुकलगायत सामाजिक सञ्जालबाट तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका कारण न्यून मानवीय क्षति भएको आकलन गरिएको छ । ईकान्तिपुर
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


