सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७-२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया-प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये सबैभन्दा बढी मत हासिल गरेको हो। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले निर्वाचनपछि वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ। `बहुपक्षीयता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेको नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीप्रतिको नेपालको प्रतिबद्धतामा विश्वास र भरोसा व्यक्त गर्नुभएकामा हामी संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति हार्दिक आभार व्यक्त गर्दछौं,´ नियोगले भनिएको छ। नियोगले परिषद्को नयाँ कार्यकालका लागि निर्वाचित अन्य राष्ट्रहरूलाई पनि बधाई दिएको छ। नेपालले सन् २०२७-२०२९ कार्यकालका लागि निर्वाचित ब्राजिल, बुरुन्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्यान्ड, जापान, जोर्डन, कुवेत, माल्दोभा, नाइजेरिया, युक्रेन, उरुग्वे र जाम्बियालाई बधाई दिएको हो। नियोगले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र तथा अन्य साझेदारहरूसँग नजिकबाट सहकार्य गर्दै मानव मर्यादाको संरक्षण, समावेशिताको प्रवर्द्धन, सामाजिक न्याय र सबैका लागि समान तथा न्यायोचित विकासलाई अघि बढाउन नेपाल प्रतिबद्ध रहेको जनाएको छ। नेपाल यसअघि सन् २०१८-२०२० र २०२१-२०२३ मा गरी लगातार दुई कार्यकाल परिषद्को सदस्य रहिसकेको छ। नयाँ निर्वाचनसँगै नेपाल सन् २०२७ जनवरी १ देखि तेस्रो कार्यकालका लागि परिषद्को सदस्य बन्नेछ। सन् २००६ मा स्थापना भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको प्रमुख अन्तरसरकारी निकाय हो। स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको परिषद्मा भौगोलिक प्रतिनिधित्वका आधारमा ४७ सदस्य राष्ट्र रहने व्यवस्था छ। सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघको महासभाबाट तीन वर्षका लागि निर्वाचित हुन्छन्। परिषद्ले सदस्य राष्ट्रहरूमा मानवअधिकारको अवस्थाको समीक्षा गर्ने, मानवअधिकार उल्लङ्घनसम्बन्धी विषयमा छलफल गर्ने, आवश्यक सिफारिस गर्ने तथा मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्ने कार्य गर्दछ। यसले विश्वव्यापी आवधिक समीक्षा प्रक्रियामार्फत सबै सदस्य राष्ट्रको मानवअधिकार अवस्थाको मूल्याङ्कनसमेत गर्दछ। नेपालको निर्वाचनले अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चमा नेपालको प्रतिनिधित्व थप सुदृढ गर्ने अवसर प्रदान गरेको छ। परिषद्को सदस्यका रूपमा नेपालले मानवअधिकार, मानव मर्यादा, समानता, समावेशिता, सामाजिक न्याय र अन्तर्राष्ट्रिय कानुनको सम्मानका विषयमा बहुपक्षीय संवाद तथा सहकार्यमा योगदान दिन सक्नेछ। सदस्यतासँगै मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन, आधारभूत स्वतन्त्रताको संरक्षण र मानवअधिकारका विश्वव्यापी मान्यताप्रति नेपालको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने जिम्मेवारी पनि रहनेछ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
बाजुरा। बाजुरामा विभिन्न प्रकारका प्रमाणित सिफारिस लिन जिल्ला सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालयले अनलाइन प्रणालीमार्फत वडा कार्यालयबाटै सिफारिस उपलब्ध गराउने व्यवस्था सुरु गरेसँगै विकट क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने भएको हो। हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले नागरिकलाई सहज, सरल र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था सुरु गरिएको बताए। उनका ...

दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय
काठमाडौं । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो । शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको […] ...

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी रहेको छ। ...

दैनिक क्षमता एक करोड ब्यारेल पुर्याउने साउदीको योजना
आगामी वर्षहरूमा एक करोड ब्यारेल पुर्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। ...


