Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मौलिकता गुमाउँदै झिझिया

मौलिकता गुमाउँदै झिझिया

Share:WhatsAppFacebookX (Twitter)Telegram
मौलिकता गुमाउँदै झिझिया

जनकपुरधाम। विजया दशमी सुरु भएसँगै मिथिलाञ्चलका गाउँदेखि सहरसम्मका शक्तिपीठमा झिझिया नाचको रौनक बढेको छ। घटस्थापनादेखि विजयादशमीसम्म देवीको स्तुति गाइने यो परम्परागत लोकनृत्य मिथिलाको सांस्कृतिक पहिचानसँग जोडिएको छ। तर, पछिल्लो समय यसको मौलिक शैली हराउँदै गएको र नयाँ पुस्तामा आकर्षण घट्दै गएको भन्दै संरक्षणको चिन्ता पनि बढ्न थालेको छ। झिझिया नाचमा महिलाहरूले अनेकौँ प्वाल पारिएको माटोको घैँटो टाउकोमा राखेर नाच्छन्। घैँटोभित्र दीप बालिन्छ र नृत्यसँगै परम्परागत झिझिया गीत गाइन्छ। गीतको भाका, नृत्यको लय र सामूहिक प्रस्तुतिले दर्शकलाई आकर्षित गर्छ। घटस्थापनाका दिन गाउँ वा नगरको डिहवार मन्दिरमा पूजापाठ गरी झिझिया नाचको औपचारिक सुरुवात गर्ने परम्परा छ। त्यसपछि अन्य देवीस्थानमा पुगेर पनि नाच प्रस्तुत गरिन्छ। गाउँमा उत्साह, सहरमा आधुनिकता मिथिलाञ्चलका ग्रामीण भेगमा झिझिया नाचप्रतिको उत्साह अझै देख्न सकिन्छ। सहरमा भने केही स्थानीय युवा क्लबको सक्रियतामा मात्र यसको आयोजना हुने गरेको छ। गाउँघरमा समेत बिस्तारै यो परम्परा घट्दै गएको जानकारहरू बताउँछन्। मिथिलामा परापूर्वकालदेखि चल्दै आएको झिझिया नाचलाई दुर्गापूजा र दसैँसँग जोडेर हेरिन्छ। यो मनोरञ्जनको माध्यम मात्र नभई देवीप्रतिको श्रद्धा र सामुदायिक आस्था अभिव्यक्त गर्ने सांस्कृतिक परम्परा पनि हो। जनकपुरमा झिझिया नाच प्रस्तुत गरिँदै। लोकविश्वासअनुसार झिझिया नाच सन्तान र समाजलाई दुष्ट शक्तिको प्रभावबाट जोगाउने उद्देश्यले गरिन्छ। जादुटुना र बोक्सीको प्रभावबाट बच्ने कामनासमेत यससँग जोडिएको छ। बलिरहेको दीप र असंख्य प्वाल पारिएको घैँटो यस परम्पराका विशिष्ट प्रतीक हुन्। लोकविश्वासअनुसार घैँटोका प्वाल बोक्सीले गन्न सकेमा नाच्ने महिलाको मृत्यु हुने मान्यता छ। यही विश्वासका कारण घैँटो टाउकोमा राखेर नाच्दा महिलाले टाउको दायाँबायाँ हल्लाउने परम्परा रहेको बताइन्छ। झिझिया नाचको आफ्नै लय र ताल हुन्छ। महिलाहरूले समूहमा गीत गाउँदै घैँटो टाउकोमा राखेर नाच्दा विशेष वातावरण सिर्जना हुन्छ। गीतमा देवीको स्तुति गर्नुका साथै बोक्सीलाई गाली र चुनौती दिने शब्दसमेत प्रयोग गरिन्छ। लोकविश्वासमा यस्ता गीतलाई दुष्ट शक्तिको प्रभाव कम गर्ने माध्यमका रूपमा लिइन्छ। तन्त्र साधनासँग जोडिएको विश्वास मिथिलामा तन्त्र साधनाको परम्परा पुरानो मानिन्छ। झिझिया नाचलाई पनि यही परम्परासँग जोडेर व्याख्या गरिन्छ। यसका धार्मिक अर्थ र अभ्यास भने स्थानअनुसार फरक हुन सक्छन्। जनकपुरधामका तन्त्रविद् विभास लाभका अनुसार झिझिया नाच तन्त्र साधनाको एउटा स्वरूप हो। झिझियाका गीतमा देवीप्रतिको श्रद्धा, परिवारको कल्याण, सामाजिक जीवन र लोकविश्वासका भाव अभिव्यक्त हुन्छन्। तन्त्रशास्त्रमा सिद्धि प्राप्त गर्ने विभिन्न उपाय र देवीको स्तुतिबारे चर्चा रहेको उल्लेख गर्दै उनले यही साधनाको परम्परासँग झिझिया जोडिएको बताए। इतिहासकारहरूले सातौँ वा आठौँ शताब्दीतिर बोक्सीको प्रभावविरुद्ध प्रतिकार गर्ने उद्देश्यले यस्तो नाचको परम्परा सुरु भएको बताउने गरेका छन्। यद्यपि यसको उत्पत्तिबारे थप ऐतिहासिक अध्ययन आवश्यक देखिन्छ। साहित्यकार श्यामसुन्दर शिशिका अनुसार मिथिलामा देवीको आराधना वैदिक र लौकिक दुवै परम्पराबाट हुँदै आएको छ। झिझिया लोकआस्थामा आधारित परम्पराको एउटा स्वरूप भएको उनको भनाइ छ। झिझियाका गीतमा देवीप्रतिको श्रद्धा, परिवारको कल्याण, सामाजिक जीवन र लोकविश्वासका भाव अभिव्यक्त हुन्छन्। त्यसैले यो नाच मनोरञ्जनमा मात्र सीमित नभई मिथिलाको सामाजिक तथा सांस्कृतिक जीवनको अभिन्न हिस्सा बनेको छ। जनकपुरमा झिझिया नाच प्रस्तुत गरिँदै। जनकपुरमा झिझिया नाच प्रस्तुत गरिँदै। अचेल यो नाचको मौलिकता हराउँदै गएको छ। हराउँदै मौलिक गीत झिझिया नाचको विशिष्टता यसको परम्परागत गीत, स्थानीय भाका र नृत्यशैलीमा छ। तर, अहिले परम्परागत गीतको सट्टा आधुनिक तथा डिजिटल गीतमा नाच प्रस्तुत गर्ने क्रम बढेको छ। यसले झिझियाको मौलिकता कमजोर बनाउँदै लगेको संस्कृतिकर्मीहरूको चिन्ता छ। साहित्यकार नित्यानन्द मण्डल झिझियालाई देवीको स्तुतिसँग जोडिएको परम्परा मान्छन्। उनका अनुसार पहिले महिलाहरू समूहमा भेला भएर विभिन्न वाद्ययन्त्रको साथमा परम्परागत गीत गाउँथे। अहिले भने झिझियालाई मञ्चीय प्रस्तुतिका रूपमा विकास गर्ने क्रममा मनोरञ्जनमा बढी केन्द्रित गर्न थालिएको छ। “झिझिया विशेष गरेर देवीको स्तुति हो। अहिले यसलाई स्टेज शो बनाइएको छ, जुन मनोरञ्जनजस्तै भएको छ,” उनी भन्छन्। उनका अनुसार झिझियामा गाइने गीतसमेत डिजिटल माध्यमबाट प्रभावित भएका छन्। परम्परागत गीत र प्रस्तुतिको मौलिकता जोगाउन ध्यान दिनुपर्ने उनको सुझाव छ। जनकपुरमा झिझिया नाच प्रस्तुत गरिँदै। १४ वर्षदेखि नाच्दै आएकी विमलाको चिन्ता विगत १४ वर्षदेखि झिझिया नाच्दै आएकी विमला देवी पनि यसको मौलिकता हराउँदै गएकोमा चिन्तित छिन्। उनका अनुसार अहिले परम्परागत झिझिया गीत गाउने महिलाहरू पाउनै मुस्किल हुन थालेको छ। आयोजकको चाहनाअनुसार आधुनिक गीतमा नाच्नुपर्ने अवस्था बढ्दै गएको उनले बताइन्। “करिब १० वर्षअघि जनकपुरधामका धेरै ठाउँमा झिझिया नाच आयोजना हुन्थ्यो। महिलाहरू चोकमा भेला भएर समूहमा नाच्थे। अहिले नयाँ पुस्ता सिक्न चाहँदैन। पुरानो पुस्ता पनि उमेरका कारण नाच्न छाड्दै गएको छ,” उनी भन्छिन्। विमलाका अनुसार पहिलेको तुलनामा अहिले झिझिया नाच हुने स्थान र अवसर दुवै घटेका छन्। परम्परागत गीत गाउने र नृत्यको शैली सिकाउने मानिस कम हुँदै जाँदा यसको निरन्तरतामा चुनौती थपिएको छ। झिझिया नाच्नुअघि नयाँ माटोको घैँटोमा धेरै प्वाल पारिन्छ। घैँटोभित्र दीप बालेर टाउकोमा राख्दै नृत्य गरिन्छ। परम्परागत मान्यताअनुसार नाच्नुअघि घैँटोलाई मन्त्रद्वारा सिद्ध गराउने चलनसमेत रहेको बताइन्छ। यस्ता विधि र विश्वासले झिझियालाई अन्य लोकनृत्यभन्दा विशिष्ट बनाएका छन्। जनकपुरमा झिझिया नाच प्रस्तुत गरिँदै। संरक्षणमा समुदाय र सरकारको भूमिका जनकपुरधामका विभिन्न स्थानमा अहिले पनि झिझिया नाच आयोजना हुने गरेको छ। महावीर युवा कमिटीका अध्यक्ष दीपक साहका अनुसार कपिलेश्वर र महुवाका केही महिलाले झिझियालाई संगठित रूपमा प्रस्तुत गर्दै आएका छन्। उनीहरूलाई मन्दिरमा नियमित नाच प्रस्तुत गरेबापत आफूहरूले आर्थिक सहयोग गर्दै आएको उनले बताए। जनकपुरधामको रामानन्द चोक, मुरली चोकमा आयोजना हुने दुर्गापूजा तथा पिरियामाई स्थानमा झिझियाको विशेष रौनक देखिन्छ। मुरली चोकस्थित दुर्गा मन्दिरका अध्यक्ष प्रसन्नकुमार झाका अनुसार हरेक वर्ष झिझियाका दुईदेखि तीनवटा समूह त्यहाँ आउने गरेका छन्। उनीहरूले नाच प्रस्तुत गरेबापत आर्थिक सहयोग पाउने गरेको उनले जानकारी दिए। जनकपुरमा झिझिया नाच प्रस्तुत गरिँदै। अचेल यो नाचको मौलिकता हराउँदै गएको छ। तर, जनकपुरधाम उपमहानगरपालिका-२ की रमिला दासले यस वर्षदेखि झिझिया नाच्न छाडेको बताइन्। उनका अनुसार अहिले घरपरिवारका अभिभावकले समेत नाचका लागि पहिलेको जस्तो उत्साह देखाउन छाडेका छन्। झिझियाको संरक्षणका लागि परम्परागत गीत, स्थानीय भाका र नृत्यशैलीको अभिलेखीकरण आवश्यक देखिन्छ। नयाँ पुस्तालाई नाच सिकाउने वातावरण बनाउनुपर्ने र यसमा संलग्न महिला कलाकारलाई आर्थिक तथा सामाजिक रूपमा प्रोत्साहित गर्नुपर्ने साहित्यकार मण्डलको सुझाव छ। स्थानीय समुदाय, सांस्कृतिक संस्था र तीनै तहका सरकारले यसको विशिष्टता अध्ययन गरी संरक्षणका ठोस योजना अघि बढाउन सके झिझियाको मौलिकता जोगाउन सहयोग पुग्नेछ। मिथिलाको पहिचान मन्दिर, पोखरी र ऐतिहासिक सम्पदामा मात्र सीमित छैन। लोकगीत, लोकनृत्य र जनजीवनमा जीवित परम्पराले पनि यहाँको इतिहास र संस्कृति बोकेका छन्। झिझिया नाचको संरक्षण गर्नु भनेको त्यही सांस्कृतिक विरासतलाई भावी पुस्तासम्म पुर्‍याउनु हो। स्थानीय समुदाय, सांस्कृतिक संस्था र तीनै तहका सरकारले यसको विशिष्टता अध्ययन गरी संरक्षणका ठोस योजना अघि बढाउन सके झिझियाको मौलिकता जोगाउन सहयोग पुग्नेछ। नत्र, दसैँमा देवीको स्तुतिसँगै गाउँ-सहरमा गुञ्जिने यो परम्परागत लोकनृत्य क्रमशः आधुनिक मनोरञ्जनको भीडमा हराउँदै जाने जोखिम रहन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
ताजा खबरJust now

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौं । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् । दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न ...

केन्द्रबिन्दु
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
ताजा खबरJust now

यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो

काठमाडौं । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना पाउनुपर्ने विषयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राथमिकतामा राखेको छ। यात्रुहरूलाई बासी, दूषित तथा गुणस्तरहीन खाना खुवाउने र खानाको अस्वाभाविक मूल्य असुल्ने गुनासो बढेपछि सम्बन्धित निकायले निगरानी र नियमनमा जोड दिएका छन्। पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायहरूको बैठकपछि यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई स्वच्छ र गुणस्तरीय खाना ...

नेपालन्युज
दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, तस्बिरहरू
ताजा खबरJust now

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, तस्बिरहरू

काठमाडौँ। बडादसैँ सुरु भएसँगै राजधानी काठमाडौँ छाडेर गाउँ फर्किनेको चहलपहल बढेको छ। दसैँ मनाउन आफ्नो घर जाने यात्रु बढेसँगै कलंकीलगायत उपत्यकाका विभिन्न नाकामा यात्रु तथा सार्वजनिक सवारीसाधनको चाप देखिन थालेको... ...

रातोपाटी
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
ताजा खबरJust now

विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। उक्त प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्।  बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play