विपद् पूर्व तयारी र सुरक्षित पूर्वाधारमा जोड

काठमाडौं। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का महानिर्देशक पेमा ग्याम्छोले पर्वतीय क्षेत्रमा बढ्दो विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका बाढीजन्य विपद्ले पर्वतीय क्षेत्रमा जोखिमको प्रकृति जटिल बन्दै गएको देखाएको बताए । गत भदौ १० मा रसुवा–केरुङ क्षेत्रको बाढी र आइतबार बूढीगण्डकीको बाढीले सामान्य दिन र विपदबीचको दूरी निकै छोटो हुनसक्ने तथ्य उजागर गरेको स्पष्ट पारे। “उच्च पर्वतीय क्षेत्रमा उत्पन्न हुने जोखिम झनझन जटिल, एकअर्कासँग अन्तरसम्बन्धित र पूर्वानुमान गर्न कठिन हुँदै गएका छन्”, ग्याम्छोले भने, “पहाडी तथा हिमाली क्षेत्रमा माथिल्लो भेगमा हुने घटनाले तल्लो तटीय क्षेत्रमा रहेका बस्ती, पूर्वाधार र जीविकोपार्जनमा समेत गम्भीर असर पार्न सक्छन्।” महानिर्देशक ग्याम्छोले विपद् व्यवस्थापनमा नेपाल सरकार, विशेष गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्वाह गरेको नेतृत्वको प्रशंसा गरे। उनले विपद् प्रभावित समुदाय, उद्धारकर्मी तथा सहयोगमा संलग्न संस्थाप्रति आभार व्यक्त गर्दै नेपाल सरकारसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। महानिर्देशक ग्याम्छोले विपद्को आवृत्ति र तीव्रता बढ्दै जाने जोखिम रहे पनि त्यसको समय, स्थान र स्वरूप ठ्याक्कै पूर्वानुमान गर्न नसकिने भएकाले नागरिकलाई पूर्व तयारी अवस्थामा राख्नु महत्त्वपूर्ण हुने बताए। महानिर्देशक ग्याम्छोका अनुसार विपद् आउनुअघि नै जोखिम पहिचान गर्ने, समयमै पूर्व सूचना पुर्याउने तथा घर, सडक, पुल, जलविद्युत् आयोजना र जीविकोपार्जनका आधारलाई सुरक्षित बनाउनेतर्फ ध्यान दिन आवश्यक छ। यस वर्षको अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको ‘सुरक्षित घरबाटै उत्थानशीलताको सुरुवात’ भन्ने मूल सन्देश छ। उक्त सन्देशले पनि विपद्पछिको उद्धार तथा राहतमा मात्र सीमित नभई घरपरिवार, समुदाय, पूर्वाधार र संस्था जोखिम सामना गर्न कति तयार छन् भन्ने विषयमा ध्यान दिन आह्वान गरेको उनले उल्लेख गरे। महानिर्देशक ग्याम्छोले इसिमोडले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व र स्वीट्जरल्यान्डको दूतावासको सहयोगमा रसुवा–केरुङ बाढीबाट सिकेका पाठका आधारमा हिन्दूकुश हिमालय क्षेत्रमा उच्च पर्वतीय विपद्को शृङ्खलाबद्ध प्रभाव सामना गर्न पूर्व तयारी सुदृढ गर्ने विषयमा क्षेत्रीय बैठक आयोजना गरेको जानकारी दिए। उनले उक्त बैठकबाट विपद्अघि, विपद्का समयमा र विपद्पछि अपनाउनु पर्ने उपाय समेटिएको ‘काठमाडौँका १० कार्यबुँदा’ तयार गरिएको बताए। महानिर्देशक ग्याम्छोले पूर्व तयारी सुदृढ गर्न, सूचनाको आदानप्रदान सुधार गर्न र क्षेत्रीय सहकार्य अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। रसुवा र बूढीगण्डकीमा भएका बाढीका घटनाले माथिल्लो जलाधार क्षेत्रमा हुने विपद्को प्रभाव तल्लो तटीय क्षेत्रसम्म फैलिन सक्ने देखाएको उल्लेख गर्दै उनले जोखिम न्यूनीकरणका लागि विकास योजना तथा कार्यक्रम निर्माण गर्दा बहुप्रकोप जोखिम मूल्याङ्कनलाई आधार बनाउनु पर्नेमा जोड दिए। उनले इसिमोडले रसुवा–केरुङ विपद्सम्बन्धी आफ्नो मूल्याङ्कन सार्वजनिक गर्ने र पछिल्लो विपद्का विषयमा पनि सरकारी निकायसँग सहकार्य गरी समान प्रकृतिको प्रतिवेदन तयार गर्न प्रयास गर्ने बताए। महानिर्देशक ग्याम्छोले विपद् घटेपछि प्रतिक्रिया जनाउने परम्परागत अभ्यासबाट अघि बढेर जोखिमलाई विकास योजना, निर्माण तथा लगानीको केन्द्रमा राख्नुपर्ने सुझाव दिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको तमानखोला... ...

पनामामा भूकम्पपछि आपत्काल घोषणा
काठमाडाैँ । शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ। यसैबिच मङ्गलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको... ...

यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल–रेस्टुरेन्टलाई विभागको आग्रह
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक यातायातका यात्रुलाई स्वच्छ, स्वस्थ र गुणस्तरीय खाना उपलब्ध गराउन होटल तथा रेस्टुरेन्ट सञ्चालक र सवारी चालकलाई आग्रह गरेको छ। खाद्य स्वच्छतामा लापरबाही, बासी तथा झिँगा भन्किएका खानेकुरा र न्यून गुणस्तरको खाना उपलब्ध गराइएको गुनासो बढेपछि विभागले एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो। विभागले सार्वजनिक यातायातका यात्रुलाई खाना, नास्ता तथा खाजाका लागि ...

चर्कियो फ्रान्सको विद्यार्थी आन्दोलन, ग्रेटा थनबर्ग पनि आन्दोलनमा सहभागी
पेरिस । फ्रान्समा विद्यालयमा शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी प्रदर्शन तीव्र बनाएका छन् । मंगलबार भएको प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी भएकी छन् । विद्यार्थीको आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी,... ...


