बुद्धि कारखाना

बाल्यकालमा सानोतिनो बिगार गर्दा ठूलाबडाले भन्थे, ‘पाँच पैसा दिन्छु, जा बुद्धि किनेर आइज!’ आज त्यो ठट्टा यथार्थ बनेको छ; बुद्धि साँच्चै किनेर पाइने भयो। त्यो किनेर पाइने बुद्धि हो कृत्रिम बुद्धिमत्ता (एआई), अर्थात् कारखानामा उत्पादन हुने बुद्धि। ‘बुद्धि कारखाना’ (एआई फ्याक्ट्री) एउटा यस्तो विशेष कम्प्युटिङ पूर्वाधार हो, जसले विशाल परिमाणका तथ्यांक प्रशोधन गरी कृत्रिम बुद्धिमत्ताका मोडेलहरूको विकास, प्रशिक्षण र सञ्चालन गर्छ, ठीक त्यसरी नै, जसरी एउटा परम्परागत कारखानाले कच्चा पदार्थलाई तयार वस्तुमा परिणत गर्छ। तथ्यांक, गणितीय विधि (एल्गोरिदम) र शक्तिशाली मेसिनहरूको यो विशाल कारखानाले मानव सभ्यतालाई नै एउटा अभूतपूर्व युगमा धकेल्दै छ। आँधीजस्तै आइरहेको यो नयाँ युगले स्थापित संरचना र मान्यताहरूलाई नै हल्लाउँदै गर्दा को कहाँ उभिने, कसको हैसियत के रहने र कसको अस्तित्व नै संकटमा पर्ने हो भन्ने प्रश्न झन् पेचिलो बन्दै गएको छ। रहस्यमय लाग्ने यो विषयको चुरो कुरो समात्न सर्वप्रथम कृत्रिम बुद्धिमत्ता कसरी निर्माण हुन्छ, यसले कसरी काम गर्छ र कसरी हामीसम्म आइपुग्छ भन्ने बुझ्नु अपरिहार्य छ। गुगल, माइक्रोसफ्ट र अमेजन जस्ता ठूला प्रविधि कम्पनीहरूका साथै अमेरिका, चीन र भारतलगायतका देशहरूमा यस्तो पूर्वाधारको निर्माण र विस्तारका लागि ठूलो लगानी भइरहेको छ। कृत्रिम बुद्धिमत्ताको समग्र प्रणालीलाई मुख्यतः तीन तहमा बुझ्न सकिन्छ: पूर्वाधार, मोडेल र एप्लिकेसन। यी तीनै तहको परस्पर तालमेलबाट एआईको विकास, सञ्चालन र उपयोग सम्भव हुन्छ र त्यो ‘किनेर पाइने बुद्धि’ उपभोगका निम्ति अन्ततः हाम्रो मोबाइल, कम्प्युटर वा अन्य उपकरणसम्म आइपुग्छ। पूर्वाधार तह परम्परागत कारखानालाई भवन र मेसिन चाहिएझैँ ‘बुद्धि कारखाना’लाई पनि विशाल भौतिक पूर्वाधार चाहिन्छ, जसको केन्द्रमा हुन्छन् तथ्याङ्क केन्द्र (डाटा सेन्टर)हरू। यस्तो पूर्वाधार निर्माणका लागि सर्वप्रथम भरपर्दो बिजुली आपूर्ति, पर्याप्त जमिन र उच्च क्षमताको शीतलन प्रणाली (कुलिङ सिस्टम) आवश्यक हुन्छ। त्यसपछि चाहिन्छ गणनात्मक क्षमता (कम्प्युट), अर्थात् विशाल परिमाणका तथ्यांकलाई द्रुत गतिमा प्रशोधन गर्न र जटिल गणितीय गणनाहरू गर्न सक्ने क्षमता। एआईसम्बन्धी जटिल गणनाका लागि जीपीयू र टीपीयू जस्ता उच्च क्षमताका विशेष चिपहरू प्रयोग गरिन्छ। यस्ता अत्याधुनिक चिप डिजाइन गर्ने क्षमता हाल एनभिडिया र गुगल जस्ता केही प्रमुख प्रविधि कम्पनीहरूमा केन्द्रित छ। यी चिपहरू अत्यन्त महँगा छन् र तिनको माग पनि उच्च छ। यस्ता हजारौँ चिपहरू जडान गरिएका सर्भरहरूलाई उच्च गतिको नेटवर्कमार्फत आपसमा जोडेर एउटै विशाल सुपरकम्प्युटरसरह काम गर्ने प्रणाली निर्माण गरिन्छ। यी सर्भरहरू, तिनलाई सञ्चालन र समन्वय गर्ने सफ्टवेयर, तथ्यांक भण्डारण प्रणाली तथा बाहिरी संसारसँग सम्पर्क राख्ने सञ्चार सञ्जाल मिलेर बुद्धि कारखानाको पूर्वाधार तहको मुख्य प्राविधिक संरचना तयार हुन्छ। बहुउपयोगी एआई मोडेलहरूलाई व्यापक रूपमा आधारभूत मोडेल (फाउन्डेसन मोडेल) भनिन्छ। ओपनएआई, एन्थ्रोपिक, मुनशट एआई र गुगल डीपमाइन्ड जस्ता कम्पनीहरू यस तहका प्रमुख विकासकर्ता हुन्। यस्ता शक्तिशाली मेसिनहरू निरन्तर सञ्चालन गर्दा एआई डाटा सेन्टरहरूले अत्यन्त ठूलो मात्रामा बिजुली उपभोग गर्छन्। मेसिनबाट उत्पन्न हुने ताप नियन्त्रण गर्न र तिनलाई अत्यधिक तात्न नदिन अत्याधुनिक शीतलन प्रणाली अनिवार्य हुन्छ। विशाल एआई पूर्वाधार निर्माणमा अर्बौँ डलर लगानी हुन सक्छ। आज गुगल, माइक्रोसफ्ट र अमेजन जस्ता ठूला प्रविधि कम्पनीहरूका साथै अमेरिका, चीन र भारतलगायतका देशहरूमा यस्तो पूर्वाधारको निर्माण र विस्तारका लागि ठूलो लगानी भइरहेको छ। यसरी कृत्रिम बुद्धिमत्ताको पूर्वाधार प्रविधिको मात्र नभई ऊर्जा, पुँजी र राष्ट्रिय सामर्थ्यसँग समेत जोडिएको रणनीतिक विषय बन्दै गएको छ। मोडेल तह यही विशाल पूर्वाधारको सहायताले ठूलो परिमाणका तथ्यांकबाट प्रशिक्षण दिएर एआईको मस्तिष्क मानिने ‘मोडेल’ तयार पारिन्छ। मानिसले दिने निर्देशन (प्रम्प्ट) अनुसार प्रश्नको उत्तर दिने, लेख्ने र विभिन्न समस्या समाधान गर्ने लार्ज ल्यांग्वेज मोडेल (एलएलएम) यसका प्रमुख उदाहरण हुन्। यसबाहेक चित्र, ध्वनि, भिडियोलगायत विभिन्न प्रकारका सामग्री प्रशोधन र सिर्जना गर्ने मोडेलहरू पनि छन्। यस्ता बहुउपयोगी एआई मोडेलहरूलाई व्यापक रूपमा आधारभूत मोडेल (फाउन्डेसन मोडेल) भनिन्छ। ओपनएआई, एन्थ्रोपिक, मुनशट एआई र गुगल डीपमाइन्ड जस्ता कम्पनीहरू यस तहका प्रमुख विकासकर्ता हुन्। एआई मोडेल अर्थात् ‘कृत्रिम मस्तिष्क’ निर्माणका लागि मुख्यतः चार स्रोत-साधन आवश्यक पर्छन्: तथ्यांक: मोडेललाई प्रशिक्षण दिन प्रयोग हुने विशाल, विविध र उच्च गुणस्तरको तथ्यांक। गणितीय विधि र संरचना: तथ्यांकभित्र लुकेका ढाँचा (प्याटर्न) पहिचान गरेर सिक्न सक्ने गणितीय विधि र प्राविधिक संरचना। विश्वभरका प्रयोगकर्तालाई चौबीसै घण्टा एआई सेवा उपलब्ध गराउन मोडेल सञ्चालन गर्ने कम्प्युटिङ प्रणाली निरन्तर उपलब्ध हुनुपर्छ। दक्ष जनशक्ति: एआई वैज्ञानिक, गणितज्ञ र मेसिन लर्निङ इन्जिनियरजस्ता उच्च प्राविधिक विशेषज्ञहरू। पूर्वाधारमा पहुँच: मोडेल प्रशिक्षणका लागि शक्तिशाली सुपरकम्प्युटिङ प्रणालीमाथिको पहुँच। अत्याधुनिक मोडेल (फ्रन्टियर मोडेल)को प्रशिक्षणका लागि दशौँ हजार जीपीयू वा टीपीयू जडित सुपरकम्प्युटिङ प्रणाली लामो समयसम्म निरन्तर सञ्चालन गर्नुपर्ने हुन सक्छ। यस्ता मोडेलहरूको प्रशिक्षण तथा विकासमा करोडौँदेखि अर्बौँ डलरसम्म खर्च हुन सक्छ। कृत्रिम बुद्धिमत्ताको मूल बौद्धिक क्षमता यही मोडेलमा निहित हुन्छ। प्रशिक्षणका क्रममा तथ्यांकबाट सिकेका ढाँचाका आधारमा यसले प्रयोगकर्ताका निर्देशन प्रशोधन गरी त्यसअनुसार प्रतिक्रिया वा नतिजा उत्पन्न गर्छ। विश्वभरका प्रयोगकर्तालाई चौबीसै घण्टा एआई सेवा उपलब्ध गराउन यी मोडेल सञ्चालन गर्ने कम्प्युटिङ प्रणाली निरन्तर उपलब्ध हुनुपर्छ। यसका लागि पनि विशाल गणनात्मक पूर्वाधार र ऊर्जाको आवश्यकता पर्छ। त्यसैले अत्याधुनिक एआई मोडेलको विकास मात्र होइन, तिनको सञ्चालन पनि खर्चिलो हुन्छ। एप्लिकेसन तह कृत्रिम बुद्धिमत्ताको मोडेललाई प्रयोगकर्तासँग जोड्ने माध्यम एप्लिकेसन हो। च्याटजीपीटी, जेमिनाई, किमी र क्लड जस्ता लोकप्रिय एआई प्लेटफर्मदेखि शिक्षा, कानुन, स्वास्थ्यजस्ता विभिन्न क्षेत्रका लागि बनाइएका विशेष एप र वेबसाइटसम्म सबै यसै तहमा पर्छन्। प्रयोगकर्ताले सामान्यतया इन्टरनेटमार्फत यस्ता एप्लिकेसनमा आफ्ना निर्देशन (प्रम्प्ट) प्रविष्ट गर्छन्, जसलाई सम्बन्धित मोडेलले प्रशोधन गरी उत्तर वा नतिजा उपलब्ध गराउँछ। अन्ततः यिनै एप्लिकेसनमार्फत त्यो ‘किनेर पाइने बुद्धि’ हाम्रो मोबाइल, कम्प्युटर वा अन्य उपकरणसम्म आइपुग्छ। पूर्वाधार र मोडेल तहको निर्माणमा अर्बौँ डलरको लगानी, अत्याधुनिक हार्डवेयर र विशिष्ट वैज्ञानिकहरूको आवश्यकता पर्ने भए तापनि एप्लिकेसन तहको ढोका भने तुलनात्मक रूपमा सबैका लागि खुला छ। यस तहमा थोरै लगानीमा पनि एकल उद्यमी (सोलोप्रेनर) वा नयाँ तथा साना उद्यम (स्टार्टअप)हरूले आफ्नो सिर्जनात्मक क्षमता र नवीन सोचलाई व्यावसायिक रूप दिन सक्छन्। एप्लिकेसन निर्माणका लागि मुख्यतः चार प्रकारका ज्ञान, सीप र प्रविधि महत्त्वपूर्ण हुन्छन्: क्षेत्रगत विशेषज्ञता: प्रविधि मात्र भएर पुग्दैन; जीवन र जगत्का जुन समस्या समाधान गर्न कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्ने हो, त्यससँग सम्बन्धित क्षेत्रको गहिरो ज्ञान आवश्यक पर्छ। उदाहरणका लागि, वित्तीय क्षेत्रमा उपयोगी एआई एप बनाउने हो भने वित्त विषयको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हुनु जरुरी हुन्छ। प्रविधि र विषयवस्तुको सही तालमेलले मात्र उपयोगी र प्रभावकारी एप्लिकेसन निर्माण गर्न सकिन्छ। प्रभावकारी प्रम्प्ट तयार गर्न प्रविधिसँगै सम्बन्धित विषयवस्तुको ज्ञान पनि आवश्यक हुन्छ। मोडेलमा पहुँच: एप्लिकेसन निर्माण र सञ्चालनका क्रममा कृत्रिम बुद्धिमत्ताको क्षमता प्रयोग गर्न मोडेलमा पहुँच आवश्यक हुन्छ। यसका लागि गुगल, ओपनएआई र एन्थ्रोपिक जस्ता मोडेल निर्माता संस्थाहरूले उपलब्ध गराउने एपीआई (एप्लिकेसनलाई मोडेलसँग जोड्ने प्राविधिक माध्यम) मार्फत उनीहरूका जेमिनाई, जीपीटी र क्लड जस्ता मोडेललाई आफ्नो एप वा सफ्टवेयरसँग जोड्न सकिन्छ। यस्तो सेवाबापत सामान्यतया प्रयोगको मात्रा, विशेषतः टोकन अर्थात् मोडेलले प्रशोधन गर्ने पाठका साना एकाइको खपतका आधारमा शुल्क तिर्नुपर्ने हुन्छ। केही सेवामा सीमित निःशुल्क प्रयोगको सुविधा पनि उपलब्ध हुन्छ। सुरुवाती प्रयोगमा लागत न्यून हुन सक्ने भए पनि व्यावसायिक प्रयोग बढ्दै जाँदा सञ्चालन खर्च पनि बढ्न सक्छ। यसका अतिरिक्त मेटा र डीपसिक जस्ता कम्पनीहरूले सार्वजनिक रूपमा उपलब्ध गराएका मोडेलहरू पनि प्रयोग गर्न सकिन्छ। निर्देशन लेख्ने सीप (प्रम्प्ट इन्जिनियरिङ): मोडेलबाट यथासम्भव सटीक, सान्दर्भिक र अपेक्षाअनुकूल परिणाम प्राप्त गर्न एआई प्रणालीलाई सुव्यवस्थित निर्देशन दिन सक्नुपर्छ। यही कला र सीपलाई प्रम्प्ट इन्जिनियरिङ भनिन्छ। प्रभावकारी प्रम्प्ट तयार गर्न प्रविधिसँगै सम्बन्धित विषयवस्तुको ज्ञान पनि आवश्यक हुन्छ। मोडेललाई के काम गराउने, कसरी गराउने, कुन सन्दर्भमा गराउने र कस्तो परिणाम अपेक्षा गर्ने भन्ने कुरा स्पष्ट रूपमा निर्दिष्ट गर्नुपर्छ। सफ्टवेयर विकासको सीप: प्रयोगकर्तालाई कृत्रिम बुद्धिमत्तासँग जोड्ने एप, वेबसाइट वा च्याटबट निर्माण गर्ने सीप पनि आवश्यक पर्छ। एप्लिकेसन बाहिरबाट कस्तो देखिने र भित्र कसरी चल्ने भन्ने प्राविधिक कुरा यसअन्तर्गत आउँछन्। पहिले यस्ता काम गर्न प्रायः प्रोग्रामिङमा दक्ष जनशक्तिको आवश्यकता पर्थ्यो। तर अचेल एआईको सहयोगले यो काम निकै सहज भएको छ। अहिले कृत्रिम बुद्धिमत्तालाई आफ्नै बोलीचालीको भाषामा निर्देशन दिएर पनि एप्लिकेसन निर्माण गर्न सकिन्छ। गहिरो प्राविधिक ज्ञान नभएका व्यक्तिका लागि समेत आफ्ना कल्पना र सोचलाई वास्तविक डिजिटल उत्पादनमा रूपान्तरण गर्ने अवसर अभूतपूर्व रूपमा विस्तार भएको छ। यद्यपि भरपर्दो र सुरक्षित एप्लिकेसन बनाउन उचित परीक्षण र प्राविधिक जाँच भने अझै अपरिहार्य छन्। अत्याधुनिक मोडेल विकासका लागि ठूलो लगानी तथा विशिष्ट जनशक्ति आवश्यक पर्ने भएकाले यी क्षेत्रमा ठूला प्रविधि कम्पनीहरू र सरकारहरूको भूमिका प्रमुख छ। यसरी पूर्वाधार, मोडेल र एप्लिकेसन – यी तीनवटै तहको परस्पर तालमेलबाट एआईको विकास, सञ्चालन र उपभोग सम्भव हुन्छ। पूर्वाधार निर्माण र अत्याधुनिक मोडेल विकासका लागि ठूलो लगानी तथा विशिष्ट जनशक्ति आवश्यक पर्ने भएकाले यी क्षेत्रमा ठूला प्रविधि कम्पनीहरू र सरकारहरूको भूमिका प्रमुख छ। तर एप्लिकेसन तहमा भने तुलनात्मक रूपमा कम लगानीमै साना व्यवसाय, स्टार्टअप र एकल उद्यमीले नयाँ व्यवसाय सुरु गर्न सक्छन्। भविष्यमा नयाँ व्यवसाय र रोजगारी सिर्जना गर्ने ठूलो सम्भावना बोकेको क्षेत्रमध्ये एप्लिकेसन निर्माण एक महत्त्वपूर्ण क्षेत्र हुन सक्छ। यहाँ विशेषतः सुरुवाती चरणमा ठूलो पुँजीभन्दा सिर्जनशील सोच, विषयगत ज्ञान र प्रयोगकर्ताका वास्तविक समस्या समाधान गर्ने क्षमता बढी महत्त्वपूर्ण हुन्छ। तर, यहीँनेर एउटा गम्भीर प्रश्न पनि उठ्छ जसलाई बेवास्ता गर्न मिल्दैन। हाल एआईको यो समग्र संरचना नै असमान आधारमा उभिएको छ। अत्याधुनिक पूर्वाधार निर्माण र ठूला आधारभूत मोडेल विकास गर्ने क्षमता मुख्यतः केही ठूला प्रविधि कम्पनी र सीमित शक्तिशाली राष्ट्रहरूमा मात्र केन्द्रित छ। बाँकी विश्वले बेलैमा आफ्नै प्राविधिक क्षमता, अनुसन्धान र उत्पादन प्रणाली विकास नगरे अरूकै मोडेलमा आधारित एप्लिकेसन र सेवाको आयातमै निर्भर रहनुपर्ने बाध्यता सिर्जना हुँदैछ। अर्थात्, पसल सञ्चालन त गर्ने तर आफ्नै कारखाना खडा गर्ने सामर्थ्य विकास गर्न नसकी अर्को औद्योगिक क्रान्तिमा पनि पछि पर्ने गम्भीर जोखिम छ। अझ, यदि बेलैमा कृत्रिम बुद्धिमत्ताबाट सिर्जना हुने उद्यमशीलताका अवसरबारे उचित जनचेतना विस्तार गरिएन र राज्यले आवश्यक प्रोत्साहन तथा सहजीकरण गरेन भने, सिंगो समाज तिनै ठूला कम्पनीहरूले सञ्चालन गर्ने सोरुमबाट एआई एप्लिकेसन तथा सेवा खरिद गर्ने ‘अन्तिम उपभोक्ता’ मात्र बन्ने अवस्था आउन सक्छ। विगतका औद्योगिक क्रान्तिहरूको अवसर गुमाउँदा विश्वका धेरै समाजहरूले ठूलो मूल्य चुकाउनुपरेको छ। यसपटकको युगान्तकारी एआई क्रान्तिमा पनि समयमै जाग्न नसक्ने समाज र राष्ट्रहरूले प्राविधिक परनिर्भरता र आर्थिक सीमान्तीकरणको अझ ठूलो मूल्य चुकाउनुपर्ने गम्भीर खतरा छ। एआईले दिने तयार उत्तर र समाधानमा अत्यधिक निर्भर हुँदै जाँदा आफ्नै विवेक, सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमताको अभ्याससमेत क्रमशः घट्न सक्छ। अर्को जोखिम पनि उत्तिकै गम्भीर छ। बुद्धि नै किनबेचको वस्तु बन्दै जाँदा त्यसको उत्पादन र नियन्त्रण सीमित हातमा केन्द्रित हुँदै जान सक्छ। यसको प्रभाव व्यवसाय वा रोजगारीमा मात्र सीमित रहँदैन। एआईको व्यापक प्रयोगसँगै हामीले आफ्ना समस्या कसरी बुझ्ने, कुन भाषामा व्यक्त गर्ने, कुन कुरालाई प्राथमिकता दिने र समाधान कसरी खोज्ने भन्ने हाम्रो सोच्ने ढाँचा नै बिस्तारै परिवर्तन हुन सक्छ। एआईले दिने तयार उत्तर र समाधानमा अत्यधिक निर्भर हुँदै जाँदा आफ्नै विवेक, सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमताको अभ्याससमेत क्रमशः घट्न सक्छ। यस प्रक्रियामा हाम्रो समाज, संस्कृति, परिवेश र स्थानीय अनुभवबाट विकसित मौलिक ज्ञान र सोच, अर्थात् हाम्रो ‘रैथाने बुद्धि’, ओझेलमा पर्ने र अन्ततः लोप हुने खतरा रहन्छ। त्यसैले एआईको बहस अब केवल प्रविधि वा व्यापारको विषयमा सीमित राख्न मिल्दैन। यो हाम्रो सोच्ने स्वतन्त्रता, निर्णय गर्ने क्षमता र अन्ततः राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको प्रश्न पनि हो। राज्यको भूमिका र रणनीति एआईको क्षेत्रमा भइरहेको तीव्र विकासलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नु अब अत्यावश्यक भइसकेको छ। यो केवल नयाँ प्रविधि भित्र्याउने वा डिजिटल सेवा विस्तार गर्ने विषय मात्र होइन, भविष्यको अर्थतन्त्र, रोजगारी, संस्कृतिको जगेर्ना र राष्ट्रिय सार्वभौमिकताको रक्षासँग समेत जोडिएको विषय हो। एआईबाट सिर्जना हुने अवसरको सदुपयोग गर्दै यसले निम्त्याउन सक्ने जोखिम र असमानतालाई सम्बोधन गर्न राज्यले एआईलाई उच्च राष्ट्रिय प्राथमिकतामा राख्नु अपरिहार्य छ। यसका लागि स्पष्ट कार्यदिशा र दीर्घकालीन रणनीतिका साथ राज्यले खेल्नुपर्ने मुख्य भूमिकालाई निम्न बुँदाहरूमा समेट्न सकिन्छ: स्थानीय मोडेल निर्माण: राज्यले आफ्ना राष्ट्रिय तथा स्थानीय भाषा, संस्कृति, परिवेश र आवश्यकताअनुकूल एआई मोडेल विकासका लागि प्रोत्साहन र लगानी गर्न तत्काल पहल गर्नुपर्छ। यसका लागि स्थानीय भाषा, संस्कृति र ज्ञानसम्बन्धी गुणस्तरीय तथ्यांक संकलन गरी नयाँ मोडेल विकास तथा प्रशिक्षण गर्न वा विद्यमान खुला मोडेलहरूलाई स्थानीय आवश्यकताअनुसार अनुकूलन गर्न सकिन्छ। उदाहरणका लागि, अफ्रिकी ‘मसाखाने’ नामक सामुदायिक अनुसन्धान पहललाई लिन सकिन्छ, जसले स्थानीय भाषाका अनुवाद प्रणाली विकासका लागि ३० भन्दा बढी अफ्रिकी भाषामा तथ्यांक, मोडेल र परीक्षण सामग्री विकास तथा सार्वजनिक गरेको छ। त्यसैगरी, २२ वटा भारतीय अनुसूचित भाषामा अनुवाद गर्न सघाउने तथ्यांक, खुला मोडेल र परीक्षणका मापदण्ड उपलब्ध गराइएको अर्को परियोजना पनि उदाहरणीय छ। यस्ता सफल अभ्यासहरूबाट सिकेर अघि बढ्दा भाषिक पहिचान र ‘रैथाने बुद्धि’को संरक्षण तथा विकासमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ। अन्तर्राष्ट्रिय क्लाउड, कम्प्युटिङ सेवा र एआई मोडेलमाथिको अत्यधिक निर्भरता क्रमशः घटाउँदै दीर्घकालमा देशभित्रै आवश्यक एआई पूर्वाधार र प्राविधिक क्षमता विकास गर्ने नीति लिनुपर्छ। नीतिगत अनुकूलता र उद्यमशीलता प्रवर्द्धन: एप्लिकेसन तहमा व्यक्ति, साना व्यवसाय र नयाँ उद्यमले अवसर खोज्न सक्ने हुँदा राज्यले एआईमा आधारित नयाँ उद्यम र उत्पादनलाई विशेष प्रोत्साहन गर्नुपर्छ। यसका लागि अनुकूल नीतिगत वातावरण निर्माण गर्नुका साथै व्यवसाय प्रवर्द्धन केन्द्रको विकास, वित्तीय सहजीकरण तथा नयाँ उद्यमहरूलाई आवश्यक कम्प्युटिङ स्रोत, प्राविधिक सेवा र एआई मोडेलसम्म सहज तथा किफायती पहुँचको व्यवस्था मिलाउनुपर्छ। सार्वजनिक क्षेत्रमा उपयोग र आन्तरिक बजार विस्तार: सरकारी सेवा, शिक्षा, स्वास्थ्य, कृषि, उद्योगलगायतका क्षेत्रमा एआईको उपयोग विस्तार गर्नुपर्छ। यसले समग्र उत्पादकत्व वृद्धि गर्न मद्दत गर्नुका साथै स्वदेशमै विकसित एआई एप्लिकेसन तथा समाधानका लागि आन्तरिक बजार विस्तार गर्न पनि सहयोग पुर्याउन सक्छ। रणनीतिक स्वायत्तता: अन्तर्राष्ट्रिय क्लाउड, कम्प्युटिङ सेवा र एआई मोडेलमाथिको अत्यधिक निर्भरता क्रमशः घटाउँदै दीर्घकालमा देशभित्रै आवश्यक एआई पूर्वाधार र प्राविधिक क्षमता विकास गर्ने नीति लिनुपर्छ। यसका लागि अन्तर्राष्ट्रिय प्रविधि र सहकार्यको लाभ लिँदै राष्ट्रिय आवश्यकताअनुसार आफ्नै अनुसन्धान, जनशक्ति र संवेदनशील डिजिटल पूर्वाधार विकास गर्नुपर्छ। प्रविधिको यो युगान्तकारी यात्रा राज्यको एक्लो प्रयासले मात्र गन्तव्यमा पुग्न सक्दैन। यसमा विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्र, नागरिक समाज र स्थानीय समुदायको समेत सक्रिय साझेदारी अपरिहार्य छ। ऊर्जा – एआई विकासको मेरुदण्ड: एआई पूर्वाधार विकासका प्रमुख आधारमध्ये ऊर्जा एक हो। विशेषगरी डाटा सेन्टर सञ्चालन र ठूला मोडेलहरूको प्रशिक्षण अत्यधिक ऊर्जा खपत गर्ने प्रक्रिया हुन्। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार एउटा ठूलो एआई केन्द्रित डाटा सेन्टरले करिब एक लाख घरपरिवारबराबर बिजुली खपत गर्न सक्छ। त्यसैले राज्यले ऊर्जा विकासलाई एआई पूर्वाधार विकासको महत्त्वपूर्ण रणनीतिक आधार मान्नुपर्छ। जलविद्युत्, सौर्य, वायुलगायतका विविध ऊर्जा स्रोतको विकाससँगै भरपर्दो विद्युत् प्रसारण सञ्जाल र आवश्यक ऊर्जा भण्डारण प्रणालीको विस्तार तथा सुदृढीकरण गर्नुपर्छ। सस्तो, स्वच्छ र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सकेमा एकातिर देशभित्रै एआई पूर्वाधार सञ्चालन गर्न सहज हुन्छ भने अर्कोतिर अनुकूल प्राविधिक तथा लगानी वातावरण निर्माण गरी अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूलाई समेत ‘हरित तथ्याङ्क केन्द्र’ (ग्रिन डाटा सेन्टर) स्थापना गर्न आकर्षित गर्ने सम्भावना रहन्छ। यद्यपि, प्रविधिको यो युगान्तकारी यात्रा राज्यको एक्लो प्रयासले मात्र गन्तव्यमा पुग्न सक्दैन। यसमा विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्र, नागरिक समाज र स्थानीय समुदायको समेत सक्रिय साझेदारी अपरिहार्य छ। विशेषगरी स्थानीय भाषा, संस्कृति र ‘रैथाने बुद्धि’को संरक्षण तथा विकास गर्दा सम्बन्धित समुदायको प्रत्यक्ष सहभागिता र सहमतिलाई केन्द्रमा राखेर एआईको उपयोगबारे व्यापक सार्वजनिक बहस चलाउनुपर्छ। यस्ता बहुपक्षीय पहलहरूलाई परिणाममुखी बनाउन राज्यले भने आवश्यक पूर्वाधार र एआई मोडेलमाथि सर्वसुलभ पहुँचको सुनिश्चितता गर्दै सहजकर्ताको भूमिका खेल्नुपर्छ। जसरी ‘प्रतिव्यक्ति बिजुली खपत’ विकासको एउटा सूचक रहँदै आएको छ, त्यसरी नै भोलिको एआई युगमा ‘प्रतिव्यक्ति टोकन खपत’ पनि विकासको एउटा सूचक बन्न सक्छ। तर त्यसमा प्रयोग भएका मोडेल कसका हुन्, ती स्थानीय भाषा, संस्कृति र परिवेशअनुकूल छन् कि छैनन्, र तिनको उपयोगबाट आफ्नै क्षमता कति विकसित भयो भन्ने कुरा त्योभन्दा पनि महत्त्वपूर्ण हुनेछ। अन्ततः एआईकृत नयाँ युगमा हाम्रो स्थान हामीले कति एआई प्रयोग गर्यौँ भन्ने कुराले मात्र होइन, त्यसबाट कति नयाँ ज्ञान, क्षमता, उत्पादन, व्यवसाय र रोजगारी सिर्जना गर्यौँ भन्ने कुराले निर्धारण गर्नेछ। एप्लिकेसन तहमा व्यक्ति र उद्यमीका लागि अवसर विस्तार गर्दै पूर्वाधार र मोडेल तहमा राष्ट्रिय क्षमता विकासका लागि राज्यले आजैदेखि दीर्घकालीन रणनीतिसहित ठोस पहल गर्नुपर्छ। ‘बुद्धि’ त बजारबाट किनेर ल्याउन सकिने भयो, तर आत्मनिर्भरता भने कसैले बेच्दैन। (अप्टिमिष्ट इन्टरनेसनल नेपालका संस्थापक निरौला अध्यापनमा संलग्न छन्।)
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दक्षिण सुडानमा नेपाली सेनाको १६औँ पटक फेरबदल
दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । ...

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–१७ स्थित बालोदय चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्य भएको छ ।बिहान ७ बजे भएको... ...

दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो... ...

साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानी र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् । ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई धितोको विकल्पमा नगद प्रवाह र बिलका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्जा सुरक्षण कोष विस्तार, बाढी तथा विपद्बाट प्रभावित ...


