Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन। श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको अवस्थाले उहाँलाई चाडपर्वको खुसीबाट टाढा बनाएको हो। यस वर्षको मनसुनजन्य विपद्ले दिलमतीको परिवारको सहारा र आश्रय दुवै खोसेको छ। श्रीमान् ७० वर्षीय लालवीर छन्त्याललाई पहिरोले सुतिरहेकै ठाउँमा पुरेर ज्यान लियो। श्रीमान् गुमाएको शोकमाथि घरगोठ, पशुचौपाया र खेतीपाती गर्ने जमिनसमेत गुमाउनुपर्दा दिलमतीको जीवनमा बज्रपात परेको छ। शरीरमा लागेको घाउ निको हुँदै गए पनि मनमा परेको चोट भने अझै ताजै छ। “दुःख परेको समयमा चाडपर्व पनि नआए हुन्थ्यो जस्तो लाग्नेरहेछ”, दिलमतीले भनिन्, “जीवनको सहारा श्रीमानसँगै बस्ने बास पनि खोस्यो। चार वटा भैँसी र पाडासहितको गोठ बगायो। खेतीबाली लगाउने जमिन उराठलाग्दो बगर बनेको देख्दा मन थाम्नै गाह्रो हुँदो रहेछ।” हजुरबुबाको मायाबाट वञ्चित बालक दिलमती र लालवीरले आफ्नो परिवारको दुःखबिच सात वर्षीय नाति दर्पण छन्त्यालको लालनपालन र अभिभावकत्वको जिम्मेवारी सम्हाल्दै आएका थिए। दर्पणका आमा र बुबाले दोस्रो विवाह गरेपछि हजुरबुबा लालबीर, हजुरआमा दिलमती र काकी गौमायाले उनलाई हुर्काउँदै आएका थिए। पहिरो खसेको थाहा पाएपछि नाति दर्पणलाई झ्यालबाट बाहिर निकाल्ने क्रममा दिलमती घाइते भएकी थिइन्। उनी नातिको ज्यान जोगाउन सफल भए पनि आफ्नै जीवनको सहारा बनेका श्रीमान्लाई भने बचाउन नसकेकामा दुःखी छिन्। माया र स्नेह दिने हजुरबुबाको निधनले दर्पणको बालमनमा गहिरो चोट परेको छ। परिवारका सदस्य गुमाउनुको पीडासँगै घरबारविहीन अवस्थाले उनीहरूको दसैँतिहार खल्लो बनेको छ। विगतमा परिवारसँगै बसेर मनाइने चाडपर्व यस वर्ष उनीहरूका लागि दुःखद सम्झना र अभावको समय बनेको छ। दुई महिनाको अन्तरमा दोहोरियो विपद् चिनाखेतका बासिन्दाले यस वर्ष दुई महिनाको अन्तरमा दुई पटक बाढी पहिरोको सामना गर्नुपरेको छ। गत साउन ११ गते र असोज ११ गते आएको बाढीले बस्ती र खेतीयोग्य जमिनमा ठुलो क्षति पुर्‍याएपछि यहाँका बासिन्दा सुरक्षित बसोबासको चिन्तामा परेका छन्। चिनाखेतकी स्थानीय शिक्षक चमेली थापाका अनुसार बाढीपहिरोले बस्तीमा क्षति पुर्‍याएपछि दसैँतिहारको माहोल नै हराएको छ। विपद्को जोखिम बढ्दै जाँदा स्थानीय बासिन्दा आफ्नो थातथलो छाडेर अन्यत्र बसाइँ सर्ने क्रमसमेत बढेको उनले बताइन्। “पहिरोले उठिबास लगाएकाले चाडपर्वको माहोल नै हराएको छ”, उनले भनिन्, “दुई महिनाको अन्तरमा लगातार पहिरो आएपछि चिनाखेतवासी थातथलो छाडेर बसाइँ सर्ने क्रम बढेको छ।” बस्तीमाथिको पाखोमा सक्रिय रहेको पहिरो खोल्सामा मिसिँदा गेगरसहितको बाढी बस्ती र खेतबारीतर्फ पस्ने गरेको छ। पहिरो र बाढीको जोखिम बढेकाले स्थानीयवासीलाई घरमा बस्न र खेतीपाती गर्नसमेत कठिन भएको छ। बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार साउन ११ गतेको पहिरोले लालवीर छन्त्यालको घरगोठ पूर्ण रूपमा क्षति गरेको थियो। असोज ११ गतेको बाढीले मोती पुन र लोकबहादुर पुनको घर बस्नै नमिल्ने बनाएको छ। एक सय ५० रोपनी जमिन बगरमा परिणत चिनाखेतमा बाढीपहिरोबाट ४२ घरपरिवार प्रभावित भएका छन्। वडाध्यक्ष पुनका अनुसार करिब १५० रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचा, कृषि फार्म, धानखेतसहितको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। चिनाखेतका बासिन्दाले पछिल्लो समय व्यावसायिक सुन्तला तथा तरकारीखेती विस्तार गर्दै आएका थिए। गाउँमै कृषि व्यवसाय गरेर आत्मनिर्भर बन्ने र रोजगारी सृजना गर्ने स्थानीयको प्रयासलाई बाढीपहिरोले गम्भीर धक्का पुर्‍याएको छ। स्थानीय भवी छन्त्यालले फल दिने बेला भएका करिब १०० सुन्तलाका बोट रहेको आफ्नो बगैँचा पहिरोले पुरिएर बगर बनेको बताए। वर्षौँको मिहिनेत र लगानीबाट आम्दानी दिने अवस्थामा पुगेका बोटबिरुवा तथा खेतीयोग्य जमिन नष्ट भएपछि किसानको जीविकोपार्जनमा समेत समस्या थपिएको छ। मगर र छन्त्याल समुदायको बसोबास रहेको चिनाखेतका बासिन्दाले व्यावसायिक कृषिमार्फत आर्थिक अवस्था सुधार गर्ने लक्ष्य राखेका थिए। तर, बस्तीमाथिको पहिरो र खोलामा आउने बाढीका कारण उनीहरूको मिहिनेत र भविष्यका योजनामाथि नै सङ्कट उत्पन्न भएको छ। कृषक धनबहादुर थापाका अनुसार गाउँमै व्यावसायिक कृषि गरेर आत्मनिर्भर र स्वरोजगार बन्ने योजनामा बाढीपहिरो बाधक बनेको छ। खेतीपाती गर्ने जमिन नै जोखिममा परेपछि किसानलाई अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ताले सताएको छ। खानेपानी, खेलमैदान र सामुदायिक भवनमा क्षति बाढीपहिरोले चिनाखेतका निजी सम्पत्तिमा मात्र नभई सामुदायिक पूर्वाधारमा समेत क्षति पुर्‍याएको छ। चिनाखेत–डाँडाखानी खानेपानी योजनाको मुहानमा रहेको ट्याङ्की पूर्ण रूपमा क्षति भएको छ। हिमचुली स्पोट्र्स क्लबको खेलमैदान र चिनाखेत आमा समूहको भवनसमेत पहिरोमा पुरिएका छन्। खानेपानी, सामुदायिक भवन र खेलमैदानमा क्षति पुगेपछि स्थानीयको दैनिक जीवन र सामुदायिक गतिविधिमा समेत असर परेको छ। बस्तीमाथिको पहिरो सक्रिय रहेकाले आगामी दिनमा थप क्षति हुनसक्ने चिन्ता स्थानीयमा छ। वडाध्यक्ष पुनका अनुसार गाउँ नै जोखिममा परेपछि भूगर्भविद्को टोलीबाट पहिरोको स्थलगत अनुगमन गराइएको छ। पहिरोको अवस्था अध्ययन गरी रोकथाम तथा नियन्त्रणका लागि बेनी नगरपालिका र प्रदेश सरकारसँग पहल गरिएको उनले बताए। थातथलो छाड्नुपर्ने बाध्यता लगातारको बाढीपहिरोले घर र खेतबारी जोखिममा परेपछि चिनाखेतका बासिन्दा सुरक्षित बसोबासको विकल्प खोज्न बाध्य भएका छन्। वर्षौँदेखि बस्दै आएको गाउँ छाड्नुपर्ने अवस्था आउँदा स्थानीयलाई सम्पत्तिको क्षतिसँगै पुर्ख्यौली थलोबाट विस्थापित हुनुपर्ने चिन्ताले सताएको छ। स्थानीय मोती पुनका अनुसार बाढी पहिरोको जोखिम बढ्दै गएपछि गाउँ छाडेर अन्यत्र जाने विषयमा सोच्नुपर्ने अवस्था आएको छ। “पटकपटक पहिरो र बाढीले सताउन थालेपछि चिनाखेतबासीले विकल्प खोज्न थालेका छौँ”, उनले भने, “बस्ने बास र कमाउने जमिन नै नभएपछि गाउँ नै छोडेर जानुपर्ने अवस्था आएको छ।” सुरक्षित आवासको व्यवस्था नहुँदा जोखिमयुक्त घरमा बसिरहने वा आफ्नो थातथलो छाडेर अन्यत्र जाने भन्ने दोधारमा छन्। खेतीयोग्य जमिन बगरमा परिणत भएपछि कृषि पेसामा आश्रित परिवारलाई दैनिक गुजारा चलाउनसमेत कठिन भएको छ। पुनः स्थापना र संरक्षणको पर्खाइ चिनाखेतका बासिन्दाले जोखिमयुक्त घरमा बस्दै आएका परिवारका लागि अस्थायी आवासको व्यवस्था, सुरक्षित स्थानमा पुनः स्थापना तथा पहिरो र बाढी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न राज्यका निकायसँग माग गरेका छन्। बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि प्राविधिक अध्ययनका आधारमा दीर्घकालीन योजना आवश्यक रहेको उनीहरूको भनाइ छ। पहिरोको जोखिम न्यूनीकरण, क्षतिग्रस्त खानेपानी योजनाको पुनर्निर्माण र जीविकोपार्जनका आधार पुनः स्थापना हुनसकेमा मात्रै प्रभावित परिवारले सामान्य जीवनमा फर्किने आशा गर्न सक्नेछन्। यस वर्ष चिनाखेतका धेरै घरमा दसैँको तयारीभन्दा सुरक्षित बसोबासको चिन्ता ठुलो बनेको छ। कतिपय परिवारले आफन्त गुमाएका छन्, कतिपयले घरबार र खेतीपाती गर्ने जमिन। चाडपर्वले ल्याउने खुसीभन्दा विपद्ले दिएको पीडा गहिरो बनेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

खसी खोज्न गाउँमै ग्राहक
ताजा खबरJust now

खसी खोज्न गाउँमै ग्राहक

उर्लाबारी समाचारदाताउर्लाबारी, असोज ३० गते । नवरात्र सुरु भएसँगै खसीको माग बढेको छ । माग अनुसार आपूर्ति हुन नसक्दा मासुको मूल्यसमेत वृद्धि भएको छ । ग्रामीण बजारमा दसैँअघिसम्म प्रति... ...

गोरखापत्र
अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने
ताजा खबरJust now

अभिनेता अल पाचिनोलाई ‘स्याग–आफ्ट्रा’को लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने

‘गडफादर’ फेम्ड अल पाचिनो भन्छन्, ‘रंगमन्चको काम र सहयात्रामा भेटिएका कलाकारहरू नै मेरो जीवनका सबैभन्दा ठूला खुसी हुन् ।’ ...

कान्तिपुर
सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने
ताजा खबरJust now

सभापोखरी हाइड्रोको १० करोड ७५ लाखको सेयर प्रत्याभूति गरिमा क्यापिटलले गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको छ। दुवै कम्पनीबीच २०८३ साल असोज २८ गते बुधबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ। प्रतिकित्ता १०० रुपियाँका दरले उक्त सेयरको कुल मूल्य १० ...

कर्पोरट खबर
वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो
ताजा खबरJust now

वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो

लगानीबारे कागजात बुझाइसकेको दाबीसहित लगानी बोर्डको निर्णयको आधिकारिक पत्रको पर्खाइमा जीएमआर ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play