Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/छेपारे पहिरोको पीडा : न बच्यो सहारा, न रह्यो बास

छेपारे पहिरोको पीडा : न बच्यो सहारा, न रह्यो बास

Share:WhatsAppFacebookX (Twitter)Telegram
छेपारे पहिरोको पीडा : न बच्यो सहारा, न रह्यो बास

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ छेपारेका १६ वर्षीय पुजन र १४ वर्षीय जीवन विश्वकर्माको आँखाबाट आँशु ओभाएका छैनन्। यही असोज ११ गते बिहान घरसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी आमा कुमारी वली विश्वकर्माको सम्झनाले उनीहरूलाई दिनरात पिरोलिरहेको छ। आमाको शव समेत फेला नपरेपछि २६ असोजमा कुशको शव बनाएर दाहसंस्कार गरियो। अहिले दुवै दाजुभाइ आमाको किरियामा छन्। परिवारको सुखद भविष्यको सपना बोकेर दुई वर्ष ६ महिना प्रयासपछि दुई महिनाअघि मात्रै रोजगारीका लागि ग्रिस पुगेका कुमारीका श्रीमान् ओमबहादुर विकले पत्नीको अन्तिम अनुहार समेत देख्न पाएनन्। दुई छोराले आमाको माया गुमाए। परिवारको सहारा बनेकी कुमारीको निधनले घरपरिवारलाई मात्रै होइन, सिङ्गो बस्तीलाई शोकमा डुबाएको छ। बेनीको कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत पुजन र जीवनका लागि आमाको अभाव जीवनकै ठूलो पीडा बनेको छ। कलिलो उमेरमै आमाको काख गुमाएका उनीहरूको भविष्यमा परेको यो चोट शब्दमा व्यक्त गर्न कठिन छ। कुमारीका ससुरा जीतबहादुर र सासू जीतमायाले पहिरोले घरबाससँगै परिवारको सहारा पनि खोसेको बताए। “बुहारीसँगै घर र दुईवटा गोठ पहिरोले बगायो”, आँशु झार्दै जीतबहादुर दम्पतीले भने, “घर धानेकी बुहारी रहिनन्। वर्षौको मिहिनेत र पसिनाले बनाएको घरगोठ पनि रहेन।” असोज ८ गतेदेखि परेको अविरल वर्षापछि छेपारे बस्तीमाथिको पाखोबाट पहिरो खस्न थालेको थियो। बेनीमा बस्दै आएकी कुमारी १० गते साँझ छोराहरूसँग गाउँ पुगेकी थिइन्। भोलिपल्ट बिहान घरका सामान निकालेर सुरक्षित स्थानमा सार्ने क्रममा अचानक ठूलो पहिरो खस्यो। सामान जोगाउने प्रयासमा रहेकी कुमारी त्यसैमा पुरिइन्। “सानो पहिरो खस्न थालेपछि अघिल्लो दिनदेखि नै सामान सारिरहेका थियौं”, आफन्त समेत रहेका छिमेकी जगबहादुर विकले भने, “१६ दिनसम्म भेटिन्छिन् कि भनेर दिनहुँजसो खोज्यौं। नभेटिएपछि धार्मिक विधिअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्‍यौं।” पहिरोबाट भागेर कुमारीका दुवै छोरा र सासू जीतमायाले ज्यान जोगाए। कुमारीकी छिमेकी मनमाया घर्तीको घरगोठ पनि पहिरोले नामनिसान नरहने गरी बगाएको छ। कुमारीकी दिदी मनिषा सुनारको घर आधा भत्किएको छ। घरमा बस्न सक्ने अवस्था छैन। “घर नभए पनि पछि बनाउन सकिन्छ”, मनिषाले भनिन्, “तर सहारा र साथ दिने बहिनी नै गुमाउनु पर्दा मन थाम्न सकेकी छैन।” श्रीमान् विदेशमा रहेकाले दुई भतिजको अभिभावकत्व समेत आफैले लिएर उनीहरूलाई पढाउने मनिषाको योजना छ। पहिरोका कारण जगबहादुर छन्त्याल र जीतबहादुर विकको परिवार पनि विस्थापित भएको छ। वडाध्यक्ष पदम पुनका अनुसार बस्तीमाथिको पाखोमा नयाँ पहिरो सिर्जना भएको छ। पहिरोबाट विस्थापित परिवारलाई हाल खाली घरमा राखिएको र पुनःस्थापना तथा पुनर्निर्माणका लागि राज्यको नीति र कार्यक्रमअनुसार सहजीकरण गरिने उनले बताए। पहिरोले घरगोठसँगै सडक, खेतीयोग्य जमिन, सुन्तला बगैँचा र खानेपानीका पाइपलाइनमा समेत क्षति पुर्‍याएको छ। स्थानीय बासिन्दा विनोद विश्वकर्माका अनुसार दीर्घकालीन रूपमा पहिरो नियन्त्रण गर्न नसके छेपारे बस्ती नै विस्थापित हुने जोखिम छ। “सुन्तला खेती विस्तार गरेर समृद्धितर्फ अघि बढिरहेको गाउँको यात्रामा पहिरो बाधक बनेको छ”, उनले भने, “पहिरो नियन्त्रण र बस्ती संरक्षण गर्न नसके अहिले बसोबास गरिरहेका १०–१५ घरपरिवारले पनि गाउँ छाड्नु पर्ने अवस्था आउन सक्छ।” छेपारेमा पहिरोले भत्काएका घर फेरि बनाउन सकिएला, पुरिएको जमिन पनि कुनै दिन फर्किएला। तर, आमाको काख गुमाएका पुजन र जीवनले गुमाएको माया र परिवारले गुमाएको सदस्यको रिक्तता कसरी पूर्ति होला ? गाउँलेका मनमा यही प्रश्नसँगै पहिरोको त्रास र पुनःस्थापनाको चिन्ता बाँकी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
ताजा खबरJust now

पोप लियो चौधौँको शल्यक्रिया सफल

काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

रातोपाटी
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
ताजा खबरJust now

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

गोरखापत्र
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
ताजा खबरJust now

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

हिमालय टाइम्स
२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
ताजा खबरJust now

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play