मृत बच्चा बोकेको हात्तीको हृदयविदारक दृश्य बन्यो वर्षकै उत्कृष्ट वाइल्डलाइफ फोटो

काठमाडौं । नामिबियाको सुक्खा नदी किनारमा मृत बच्चा बोकेर हिँडिरहेको पोथी हात्तीको भावुक तस्बिर खिचेका इटालियन फोटोग्राफर फेडेरिको भेरोनेसीले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६’ को उपाधि जितेका छन् । नामिबियाको हुब नदी उपत्यकामा हात्तीको गतिविधि नियालिरहेका बेला भेरोनेसीले बालुवामा घिसारिएका असामान्य डोब देखे । ती डोब पछ्याउँदै जाँदा उनले आफ्नो दाह्रा र सुँडको बीचमा बच्चाको खुट्टा च्यापेर मृत बच्चा बोकेको पोथी हात्ती देखे । सुरुमा उनले उक्त हात्तीलाई बच्चाकी आमा ठानेका थिए । तर, तस्बिरहरू त्यस क्षेत्रमा हात्तीको अध्ययन गरिरहेको अनुसन्धान परियोजनासँग साझा गरेपछि यसबारे निश्चित हुन नसकिने थाहा पाए । अनुसन्धानकर्ताहरूले उक्त हात्ती केही वर्षअघि आफ्नो बच्चा गुमाएकी पोथी भएको र यसअघि पनि अरू पोथीका मृत बच्चा उठाएर हिँडेको बताएका थिए । ‘२० वर्षदेखि वन्यजन्तुको तस्बिर खिच्ने क्रममा यो सबैभन्दा हृदयविदारक, आकर्षक र नाटकीय घटना हो,’ भेरोनेसीले भने । उनका अनुसार यस घटनाले जनावरमा हुने भावना र संवेदनाको गहिराइ तथा जटिलता उजागर गर्छ । आफ्नो तस्बिरले मानिसलाई जनावरको शारीरिक बनावटभन्दा पर हेर्न र तिनलाई आफ्नै सम्बन्ध, स्मृति तथा भावना भएका जीवका रूपमा बुझ्न प्रेरित गर्ने उनको आशा छ । ‘यो उनीहरूको जटिल संसारलाई थोरै भए पनि चियाएर हेर्ने एउटा सानो झ्याल हो,’ उनले भने । फेडेरिकोको जन्म इटालीमा भएको हो । वन्यजन्तु फोटोग्राफर बन्ने र जनावरहरूले घेरिएको सवाना क्षेत्रमा बस्ने सपना पूरा गर्न उनी सन् २००२ मा केन्या गएका थिए । उनका तस्बिरहरू विभिन्न पुस्तक तथा पत्रपत्रिकामा प्रकाशित भएका छन् भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि पुरस्कृत भएका छन् । उनी उपसहारा अफ्रिकाका विभिन्न क्षेत्रमा फोटोग्राफी सफारीको नेतृत्वसमेत गर्छन् । प्रतियोगिताको निर्णायक मण्डलकी अध्यक्ष क्याथी मोरानले यो तस्बिरले भावनात्मक र बौद्धिक दुवै तहमा प्रभाव पार्ने बताइन् । ‘भावनात्मक रूपमा यो तस्बिरले मुटुमै प्रहार गर्छ र गहिरो पीडा महसुस गराउँछ । बौद्धिक रूपमा यसले जनावरमा पनि संज्ञानात्मक क्षमता हुन्छ भन्ने प्रमाण दिन्छ,’ उनले भनिन् । बेलायतको लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियमले आयोजना गर्ने ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ प्रतियोगिता सन् १९६५ देखि सञ्चालन हुँदै आएको छ । वन्यजन्तु तथा प्रकृति फोटोग्राफीको प्रतिष्ठित प्रतियोगिताका रूपमा चिनिने यसमा विश्वभरका फोटोग्राफर सहभागी हुन्छन् । प्रतियोगितामा मुख्य उपाधिसहित वयस्क र युवा समूहका विभिन्न विधामा विजेता घोषणा गरिएको छ । आयोजक नेचुरल हिस्ट्री म्युजियमका अनुसार यस वर्षका विजेतामा मुख्य उपाधि जित्ने फेडेरिको भेरोनेसी र युवा समूहको मुख्य उपाधि जित्ने ओस्कार ह्विटफिल्डसहित विभिन्न विधाका विजेता छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैँका लागि ल्याइएका साढे सात सय विद्युतीय गाडी मुस्ताङमै रोकिए
मुक्तिनाथ (मुस्ताङ), असोज २७ गते । दसैँलाई लक्षित गरी चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट नेपाल भित्र्याइएका ठुलो सङ्ख्याका विद्युतीय सवारीसाधन (ईभी) उपल्लो मुस्ताङमै रोक... ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्... ...

राज्यले लिने हरेक निर्णयमा सञ्चारकर्मी सचेत हुनुपर्छ : प्रेमलाल चौधरी
मोरङका प्रेमलाल चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य हुन्् । सुन्दरहरैँचा नगरपालिका वडा नं. १२ का चौधरी रास्वपाको समावेशी कोटाअन्तर्गत संसद् पुगेका छन् । मोरङ क्षेत्र नम्बर... ...

दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान
काठमाडौं । दशैं नजिकिएसँगै खसीबजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे पनि यस वर्ष काठमाडौंको कलंकीस्थित खसीबजारमा विगतका वर्षको तुलनामा सुनसान देखिएको छ । दशैंका लागि खसीबोका खरिद गर्ने ग्राहकको उपस्थिति अपेक्षाअनुसार नबढेको व्यापारीहरूले बताएका छन् । कलंकी खसीबजारमा विगत ८-९ वर्षदेखि व्यापार गर्दै आएका चितवनका रामहरि थापा क्षेत्रीकाअनुसार यस वर्ष बजारमा खासै चहलपहल छैन । उनकाअनुसार खसीको आपूर्तिमा ठूलो समस्या नभए ...


