वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाब सामना गरिरहेका युद्धमन्त्री पीट हेग्सेथको बचाउ गरेका छन्। उनले हेग्सेथले दुई युद्ध जितेको दाबी गर्दै महाभियोगको पहल गर्ने रिपब्लिकन सांसद थोमस म्यासीलाई ‘हारेको व्यक्ति’ भन्दै आलोचना गरे। सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गर्दै भियतनाम युद्धमा ६५ हजार अमेरिकीले ज्यान गुमाएको स्मरण गरे। उनले इराक र अफगानिस्तान युद्ध सञ्चालन गर्ने नेतृत्वमाथि महाभियोग नलगाइएको भन्दै हेग्सेथलाई मात्रै निशाना बनाउनु अनुचित भएको तर्क गरे। केन्टकीका सांसद म्यासीले हेग्सेथमाथि कार्यकारी अधिकारको दुरुपयोग र इरानसँग युद्ध सुरु गर्न गैरकानूनी आदेश कार्यान्वयन गरेको आरोप लगाउँदै महाभियोग प्रस्ताव पेस गरेका थिए। सदनको नियमअनुसार प्रस्तावमाथि बुधबारसम्म प्रक्रियागत मतदान हुनुपर्नेछ। यसैबीच, हेग्सेथले मङ्गलबार पेन्टागनमा पत्रकार सम्मेलन गरी महाभियोग प्रस्तावबारे धारणा सार्वजनिक गर्ने बताएका छन्। ट्रम्पले इरानको आणविक पूर्वाधार ध्वस्त पारेर आणविक क्षमता हासिल गर्नबाट रोकिएको र अमेरिकी कारबाहीले इजरायल तथा मध्यपूर्वको सुरक्षा गरेको दाबी गरेका छन्। सदनका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले पनि हेग्सेथविरुद्धको महाभियोग पहललाई समर्थन गरेका छन्। –रासस /एएनआइ
हेग्सेथको बचाउमा ट्रम्प

Read Complete Original Article
Published originally on नेपालन्युज






