रुपन्देही । पटका पड्काएर आतिशबाजी गरेको आरोपमा रुपन्देही प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । पटका पड्काउने क्रममा एक जना घाइते भएपछि प्रहरीले संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक २३ गते साँझ करिब ६ः५० बजे रुपन्देहीको कञ्चन गाउँपालिका–१ हात्तीबजार चोकमा भैलो खेलिरहेका बेला पटका पड्काइएको थियो । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ निवासी कृष्ण परियार र आर्यन परियारले पटका पड्काउँदा एक जना घाइते भएका थिए । घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसैगरी रुपन्देहीका विभिन्न स्थानमा पटका पड्काएर आतिशबाजी गरेको आरोपमा थप पाँच जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–३ धकधईका किसन मिश्र, रोहिणी गाउँपालिका–४ का पञ्चम हरिजन, रोहिणी गाउँपालिका–१ का अंगत कुमार कहार, सिद्धार्थनगर नगरपालिका–४ का हेमसल बरई र बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका सन्देश परियार रहेका छन् । पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीमा पटका पड्काउनेमाथि प्रहरीको कारबाही, ७ जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






