हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ

डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य शे–फोक्सुन्डो गाउँपालिकामा भ्रमणको लागि गएका ६ भारतीय पर्यटक अत्यधिक हिमपातपछि सम्पर्कविहीन भएका छन् । दुई महिला र चार पुरुषसहित ६ जना भारतीय पर्यटक उच्च हिमाली क्षेत्रका पासमा सम्पर्कविहीन भएका हुन् । शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् । नेपाल भ्रमणमा आएका उनीहरू रिग्मोस्थित फोक्सुन्डो ताल जाने क्रममा सम्पर्कविहीन भएका हुन् । स्थानीयले दिएको सूचनापछि उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ । तर, लगातारको हिमपात र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । उनीहरू सुरक्षित स्थानमा छन् वा हिमपातका कारण बाटोमै रोकिएका हुन् भन्नेबारे यकिन विवरण प्राप्त हुन सकेको छैन । हिमपातले खोजी तथा उद्धारमा चुनौती डोल्पाका उच्च हिमाली क्षेत्रमा शनिबारदेखि हिमपात भइरहेको छ । शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका उच्च क्षेत्रमा हिमपात भएको छ भने तल्लो डोल्पामा वर्षा भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लगातारको हिमपातले उच्च क्षेत्रका पदमार्ग र आवागमन प्रभावित भएको छ । नुमला र वागला पासजस्ता उच्च हिमाली क्षेत्रमा हिउँ जम्दा आवतजावत कठिन हुने भएकाले पर्यटकको अवस्थाबारे जानकारी लिन र उद्धार टोली परिचालन गर्न चुनौती थपिएको छ । पहिल्यै जारी गरिएको थियो पदयात्रामा रोक मौसम प्रतिकूल हुने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले माथिल्लो डोल्पामा पदयात्रामा रोक लगाएको थियो । प्रशासनले कात्तिक १२ गतेदेखि उच्च जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न आग्रह गर्दै जोखिमपूर्ण स्थानमा रहेका पर्यटकलाई सुरक्षित ठाउँमा बस्न भनेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार माथिल्लो डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा २४४ जना पर्यटक पुगेका थिए । तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक थिए । सम्भावित हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले पर्यटकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई समन्वय गर्न आग्रह गरेको थियो । पर्यटक तथा पदयात्रा व्यवसायीलाई प्रतिकूल मौसममा जोखिमपूर्ण यात्रा नगर्न पनि भनिएको थियो । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उच्च क्षेत्रमा पुगिसकेका पर्यटकको अवस्थाबारे जानकारी संकलन गर्ने र आवश्यक परे उद्धार तथा राहतका लागि तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य संस्था र स्थानीय तहसँग समन्वय गरेर उद्धार तथा राहतको तयारी अघि बढाएको जनाएको छ । फोक्सुन्डो ताल डोल्पाको प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि करिब तीन हजार ६ सय मिटर भन्दा माथि रहेको फोक्सुण्डो ताल प्राकृतिक सौन्दर्य र हिमाली पदयात्राका कारण स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणमा पर्दै आएको छ । तर, उच्च हिमाली क्षेत्रमा मौसम एक्कासि परिवर्तन हुने र हिमपातले पदमार्ग अवरुद्ध पार्न सक्ने भएकाले पदयात्रा जोखिमपूर्ण बन्ने गरेको छ । सम्पर्कविहीन भएका ६ भारतीय पर्यटकको खोजी तथा उद्धारका लागि थप विवरण संकलन भइरहेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन
महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् । उक्त क्षेत्रमा पाँच हजार हेक्टर ...

इजरायलमा प्रधानमन्त्री प्रत्यक्ष चुन्ने प्रस्तावमाथि छलफल
द टाइम्स अफ इजरायलका अनुसार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरोधी दलहरू मतदाताले सांसद र राजनीतिक दललाई मात्र नभई प्रधानमन्त्री पदका उम्मेदवारलाई पनि छुट्टै मत दिने व्यवस्था पुनः लागु गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छन्। ...

विपद न्यूनीकरणको प्रयास : चार हिमतालको पानी घटाउने, पूर्वसूचना प्रणाली विस्तार गर्ने
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोट, हिमपहिरो र बाढीपहिरोको जोखिम बढ्दै गएपछि सरकारले मनाङ, संखुवासभा र सोलुखुम्बुका चार हिमतालको पानी घटाउने योजना अघि सारेको हो । ...

सडक सफा गर्दै खाल्डाखुल्डी पनि पहिचान गर्छन् चालकविहीन रोबोट
चीनको नानजिङ सहरमा सडक सफाइका लागि चालकविहीन रोबोटको प्रयोग विस्तार हुँदै गएको छ। ...


