काठमाडौं – अनिवार्य हिजाब नलगाई सार्वजनिक कार्यक्रममा गीत गाएकी चर्चित गायिका र उनको ब्यान्ड तथा निर्माण टोलीका चार सदस्यलाई इरानी अधिकारीहरूले कोर्रा प्रहार गरेका छन् । गायिका परस्तु अहमदी, तीन जना सङ्गीतकर्मी र एक जना निर्माता गरी पाँच जनालाई इरानको कोम सहरमा जनही ७४ कोर्रा हानिएको उनीहरूको प्रतिरक्षा टोलीका एक सदस्यले बताएका छन् । २९ बर्सिया अहमदीले सन् २०२४ डिसेम्बरमा प्रत्यक्ष प्रसारण गरिएको एक साङ्गीतिक कार्यक्रममा बिना बाहुलाको पोसाक लगाएर प्रस्तुति दिएकी थिइन् । इरानको कानुनले महिलालाई सार्वजनिक रूपमा साङ्गीतिक प्रस्तुति दिन प्रतिबन्ध लगाउनुका साथै हिजाब र शालीन पोसाक अनिवार्य गरेको छ । यसै वर्ष जुन महिनामा कोमस्थित फौजदारी अदालतले अहमदीसहित अन्य आठ जनालाई ‘सार्वजनिक शिष्टाचारमा खलल पुर्याएको’ अभियोगमा दोषी ठहर गरेको थियो । उनीहरूमाथि ‘अश्लील र अभद्र सामग्री’ प्रकाशन गरेको आरोप लगाइएको थियो । उनीहरूले उक्त आरोप अस्वीकार गरेका थिए । अदालतले ७४ कोर्रा हान्ने सजाय सुनाउनुका साथै उनीहरूलाई दुई वर्षसम्म श्रव्य दृश्यसम्बन्धी गतिविधिमा संलग्न हुन र देश छाड्न प्रतिबन्ध लगाएको थियो । सेप्टेम्बरको अन्त्यमा कोमस्थित पुनरावेदन अदालतले प्रतिवादीहरूको पुनरावेदन अस्वीकार गर्दै यसअघिको सजायलाई सदर गरेको उनीहरूका वकिलहरूले बताएका छन् । यस सजायको इरानका अन्य कलाकार तथा मानवअधिकारकर्मीहरूले व्यापक निन्दा गरेका थिए । उनीहरूले कोर्रा हान्ने सजाय क्रूर, अमानवीय र अपमानजनक हुनुका साथै यातनाविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लङ्घन भएको चेतावनी दिएका थिए । सोमबार प्रतिवादीका एक वकिलले बताएअनुसार अहमदी र उनका चार जना पुरुष सहप्रतिवादीलाई कोमस्थित फौजदारी सजाय कार्यान्वयन कार्यालयको तेस्रो शाखामा कोर्रा हानिएको हो । “फैसला उल्ट्याउन वा कम्तीमा सजाय घटाउन अथवा कार्यान्वयन स्थगित गराउन हामीले आफ्नो तर्फबाट सम्भव भएसम्म सबै प्रयास गर्यौँ। तर, सफल हुन सकेनौँ,” उनले भने । “मैले र अन्य वकिलहरूले सजाय कार्यान्वयन केही समयका लागि रोक्नसमेत प्रयास गर्यौँ। तर, सजाय कार्यान्वयन शाखाले तत्कालै सजाय कार्यान्वयन गर्नुपर्ने अडान राख्यो ।” सुधारवादी दैनिक पत्रिका एतेमादले अर्का प्रतिरक्षा वकिल मुस्तफा निलीलाई उद्धृत गर्दै अहमदीसँगै कोर्रा हानिएका चार पुरुषको नाम सार्वजनिक गरेको छ। उनीहरू सोहेल फकिह–नासिरी, अमिन ताहेरी, अमिरअली पिरनिया र मोहसेन लस्करी हुन् । अमेरिकामा रहेको ‘सेन्टर फर ह्युमन राइट्स इन इरान’ ९सीएचआरआई० की वकालत निर्देशक बहर घान्देहरीले यस घटनाको कडा आलोचना गरेकी छन् । उनले भनिन्, “आफूले चाहेजस्तो गीत गाएको र पोसाक लगाएको भन्दै परन्तु अहमदीलाई कोर्रा हान्नु उनका आधारभूत अधिकारको खुला उल्लङ्घन हो । यो महिलाको स्वतन्त्रता दबाउन र विभेदकारी कानुन तथा नीतिलाई चुनौती दिने जोकोहीलाई हिंसात्मक सजाय दिन इरानी अधिकारीहरू कति प्रतिबद्ध छन् भन्ने भयावह उदाहरण पनि हो ।” इरानको कानुन देशले व्याख्या गरेको इस्लामिक सरिया कानुनमा आधारित छ। यसअनुसार यौवनावस्थामा पुगेका महिला तथा किशोरीहरूले आफ्नो कपाल हिजाबले छोप्नुपर्छ र शरीरको आकार नदेखिने गरी लामो तथा खुकुलो पोसाक लगाउनुपर्छ । सन् २०२२ मा २२ बर्सिया कुर्दिस महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानभर व्यापक विरोध प्रदर्शन भएको थियो । त्यस वर्ष सेप्टेम्बरमा तेहरानको नैतिकता प्रहरीले हिजाब ‘उचित तरिकाले नलगाएको’ आरोपमा उनलाई पक्राउ गरेको थियो । धार्मिक सत्ताविरुद्ध भएका देशव्यापी प्रदर्शनका क्रममा महिलाहरूले आफ्ना हिजाब जलाएका थिए वा हावामा फहराएका थिए । सुरक्षा फौजले गरेको दमनमा सयौँ मानिस मारिएका थिए । त्यसयता धेरै महिला तथा किशोरीहरूले सार्वजनिक स्थानमा कपाल छोप्न छाडेका छन् । उनीहरूले पोसाकसम्बन्धी सरकारी नियमको खुलेर अवज्ञा गर्दै आएका छन् । यसको जवाफमा अधिकारीहरूले समय–समयमा धरपकड, चेतावनी, व्यापारिक प्रतिष्ठान बन्द गराउने लगायतका कारबाही गर्दै आएका छन् । यस वर्ष जनवरीमा देशको आर्थिक सङ्कटबाट सुरु भएको सत्ता विरोधी अर्को ठुलो प्रदर्शनलाई सुरक्षा फौजले निर्ममतापूर्वक दबाएको थियो । त्यस क्रममा हजारौँ मानिस मारिएका र दशौँ हजार पक्राउ परेका थिए। फेब्रुअरीको अन्त्यमा इरान र अमेरिका तथा इजरायलबिच युद्ध सुरु भएयता इरानी अधिकारीहरूले प्रदर्शनकारीविरुद्ध मृत्युदण्डको प्रयोग झन् तीव्र बनाएका छन् । नर्वेमा रहेको संस्था ‘इरान ह्युमन राइट्स’का अनुसार जनवरीको प्रदर्शनमा संलग्न भएको अभियोगमा दोषी ठहर गरिएका कम्तीमा ३९ जना पुरुष र सन् २०२२ को आन्दोलनमा संलग्न भएको अभियोगमा दोषी ठहर गरिएका दुई जनालाई मृत्युदण्ड दिइसकिएको छ । त्यस्तै, प्रतिबन्धित विपक्षी समूहसँग आबद्ध रहेको आरोप लागेका १६ जना र विदेशी मुलुकका लागि जासुसी गरेको वा उनीहरूसँग सहकार्य गरेको अभियोगमा दोषी ठहर गरिएका अन्य १७ जनालाई पनि मृत्युदण्ड दिइएको उक्त संस्थाले जनाएको छ । संस्थाका अनुसार जनवरीमा पक्राउ परेका अन्य १२१ जना प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनीहरूमा छ जना महिला र पाँच जना नाबालिग छन् । उनीहरूलाई जुनसुकै बेला मृत्युदण्ड दिइन सक्ने जोखिम रहेको संस्थाले जनाएको छ।
हिजाब नलगाई गीत गाएको भन्दै इरानी अधिकारीद्वारा गायिकालाई कोर्रा प्रहार

Read Complete Original Article
Published originally on विश्वखबर






