बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ । मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले एक स्थानीयमाथि कुटपिट गर्नुका साथै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान करिब ४ बजे चिसापानीमा १५ जनाको समूहले स्थानीय बानियाभार निवासी ४२ वर्षीय प्रेमबहादुर थापामाथि निर्घात कुटपिट गरेको थियो । कुटपिटमा संलग्न समूहमा स्थानीय २३ वर्षीय मनोज सुनार, २८ वर्षीय दीपक सुनार र २० वर्षीय दिनेश सुनारलगायत रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायब निरीक्षक डिलबहादुर गिरीको कमाण्डमा ११ जनाको टोली घटनास्थल पुगेको थियो । उक्त समूहलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते थापाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । घटनामा संलग्न मनोज सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुर पठाएको छ भने अन्यको खोजी भइरहेको छ । घटनामा प्रहरी नायब निरीक्षक गिरीसहित प्रहरी सहायक हवल्दार बालकृष्ण जिसी, प्रहरी सहायक हवल्दार रेशम चौधरी र प्रहरी जवान अमर खत्री घाइते भएका छन् ।
बाँकेको चिसापानीमा जात्राका क्रममा झडप, प्रहरीद्वारा आठ राउण्ड हवाई फायर

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






