चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन्। चीनको वाणिज्य मन्त्रालय (एमओसी) का अनुसार उक्त निर्देशिकामा स्रोतहरूको पुनःप्रयोग प्रणाली विकासका लागि १६ वटा प्रमुख कार्य समेटिएका छन्। निर्देशिकामा विशेषगरी विद्युतीय सवारीसाधन, लिथियम–आयन ब्याट्री र सौर्य ऊर्जा (फोटोभोल्टिक) उत्पादनबाट निस्कने ठोस फोहोरको संकलन, व्यवस्थापन तथा विघटन प्रक्रियालाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ । यी तीन क्षेत्रलाई चीनले ‘नयाँ तीन’ (न्यु थ्री) का रूपमा वर्गीकरण गरेको छ। स्थानीय अवस्थाअनुसार विभिन्न प्रकारका पुनःप्रयोग मोडल छनोट तथा कार्यान्वयन गर्न पनि निर्देशिकाले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । यसअन्तर्गत विभिन्न प्रकारका नवीकरणीय स्रोत, ठूला तथा पुराना फर्निचर र प्रयोगविहीन घरेलु विद्युतीय उपकरणको व्यवस्थापनलाई समेटिएको छ। त्यसैगरी, ‘नयाँ तीन’ अन्तर्गतका उत्पादनबाट निस्कने ठोस फोहोरको पुनःप्रयोग तथा व्यवस्थापनका लागि समग्र योजना अघि सारिएको छ। विशेषगरी विद्युतीय सवारीसाधनका पावर ब्याट्री व्यवस्थापनमा देखिएका कमजोरी हटाउने, फोटोभोल्टिक उपकरणको पुनःप्रयोग तथा उपयोग प्रणाली सुधार गर्ने र उत्पादनदेखि पुनःप्रयोगसम्मको सम्पूर्ण प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य निर्देशिकाले लिएको छ। यसका लागि उत्पादनको डिजाइन, निर्माण, प्रयोग, संकलन, व्यवस्थापन, विघटन तथा पुनःप्रयोगसम्मको सम्पूर्ण शृङ्खलालाई व्यवस्थित र सहज बनाउनेमा जोड दिइएको छ। निर्देशिका जारी गर्ने नौ सरकारी निकायमा चीनको वाणिज्य मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार आयोग र उद्योग तथा सूचना प्रविधि मन्त्रालयलगायतका विभाग रहेका छन् । चीनले यस कदममार्फत स्रोतसाधनको दिगो उपयोग र फोहोर व्यवस्थापनमा सुधार ल्याउने लक्ष्य राखेको छ । रासस/सिन्ह्वा The post स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति; ईभी, ब्याट्री र सौर्य ऊर्जाको ठोस फोहोरलाई व्यवस्थित गरिने appeared first on Technology Khabar.
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति; ईभी, ब्याट्री र सौर्य ऊर्जाको ठोस फोहोरलाई व्यवस्थित गरिने

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






