सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान

सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र नागढुंगा चेकपोष्ट क्षेत्र पनि अहिले शान्त बनेको छ । विगतमा सधैँ सवारी साधनको घुइँचो र कोलाहल हुने त्रिभुवन लोकमार्गअन्तर्गत पर्ने नागढुंगा क्षेत्रमा दशैँ मान्न आउजाउ गर्ने यात्रुको चाप हुने समयमा पनि जामको सास्ती छैन । उकालो र घुम्ती सडकमा ठूलाठूला सवारीहरूबाट निस्किएको धुवाँ र सडकको धुलो, त्यसमाथि पनि जामका कारण घण्टौँसम्म गाडीमै रोकिनुपर्ने सास्तीको अन्त्य नै भएको छ । गाडीको हर्न र धुवाँ–धुलोले सधैँ गञ्जागोल भइरहने सडक शान्त भएसँगै यात्रुहरूले राहत र खुसीको अनुभूति गरेका छन् । नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत पिपलमोडको तल्लो घुम्तीमा स्कुटर रोकेर थकाइ मार्दै गरेकी चितवनकी कृष्टी पौडेल भन्छिन्, ‘गाडीमा यात्रा गर्दा बान्ता हुने समस्याले अघिल्लो वर्षतिर यो बाटो सम्झेर दशैँमा घरै नजाऔँ जस्तो लाग्थ्यो, अहिले यो सजिलो छ भन्ने सुनेर स्कुटरमै आएँ, यति सजिलोसँग पार गर्न पाइन्छ भन्ने सोचेकै थिएन ।’ विशेष गरी दशैँ–तिहारजस्ता ठूला राष्ट्रिय पर्वका बेला राजधानी छाडेर बाहिरिने र भित्रिने हजारौँ यात्रुहरू धुवाँ, धुलो र गर्मीमा गाडीभित्रै घण्टौँ कुर्न बाध्य हुन्थे । यसबाट बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई झन् बढी कष्ट हुने गरेको थियो । अहिले सुरुङमार्गबाट सवारी साधनहरू बिनाअवरोध सरर पार हुन थालेपछि चाडपर्वको समयमा हुने सकसपूर्ण यात्राबाट सर्वसाधारणले छुटकारा पाएका छन् । पहिला नागढुंगाको उकालोमा बाध्यताले घण्टौँ जाममा रोकिनुपर्ने सडकमा अहिले यात्रुहरू खुसीले दृश्य हेर्न रोकिने गरेका छन् । सुरुङमार्ग छिर्ने प्रवेशद्वारभन्दा माथिल्लो सडक (पिपलमोड खण्ड) मा मोटरसाइकल रोकेर सुरुङ प्रवेशद्वारको दृश्य नियालिरहेका रामजी वस्तीले विगत र वर्तमानको यात्रा अनुभव तुलना गर्दै भने, ‘दशैँमा घर जाँदा र फर्किदा युद्ध लडेजस्तो हुन्थ्यो । गाडीहरू सुरुङबाट जान थालेपछि यो वर्ष बाटोमा रोकिँदै, दृश्य हेर्दै आनन्दले हिँड्न पाइयो । सुरुङमार्गलाई पृष्ठभूमिमा राखेर तस्बिर कैद गरिरहेका अर्का युवा विष्णु श्रेष्ठले पनि पुरानो सास्ती र अहिलेको सहजताबारे सुनाए । उनले भने, ‘पहिले जाम परेका कारण बाध्य भएर रोकिनुपर्थ्यो, अहिले सुरुङमार्ग र यहाँको दृश्य रमाइलो लागेर आफैँ रोकिन मन लाग्ने भएछ ।’ त्यस्तै, सार्वजनिक सवारीसाधनमार्फत सुरुङमार्ग पार गरेर धादिङको खानीखोला पुग्नुभएकी तनहुँकी चेली मगरले सुरुङभित्रको यात्रा सम्झँदै अहिले सुखद यात्रा सुनाइन् । ‘जाम र धुलो–धुवाँ सम्झेर दशैँ–तिहारमा घर आउन–जान बर्सेनि सास्ती हुन्थ्यो । एक त घण्टौँको जाम, त्यसमाथि गाडीमा बान्ता भएर सासै फुस्केला जस्तो हुन्थ्यो । अहिले सुरुङबाट सरर एकैछिनमा कट्न पाइने भएछ । पहिलोचोटि सुरुङ छिरेर यहाँ आइपुग्दा सपना जस्तै लाग्यो,’ उनले भनिन् । २.६८ किलोमिटर लम्बाइको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग हो । जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । मुख्य सुरुङको ब्रेकथ्रु भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । अहिले बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएका बेला सुरुङमार्ग औपचारिक उदघाटन गरिएको हो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते
देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आज आजसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा जनावरको ...

जनकपुर प्रादेशिक अस्पतालमा नवजात शिशु साटिएको भन्दै डीएनए परीक्षणको माग
७ कात्तिक, जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालमा जन्मिएको नवजात शिशु साटिएको भन्दै डीएनए परीक्षण गराइदिन माग गरिएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–९ निवासी २४ वर्षीय अरुण सदाले आफ्नो बच्चा साटिएको आशंका गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका हुन् । अरुणका अनुसार, उनकी २० वर्षीया पत्नी सरिता सदालाई प्रसव व्यथा लागेपछि शुक्रबार अपराह्न ४ बजे… ...

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए
७ कात्तिक, दमौली (तनहुँं) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए । ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर… ...



