काठमाडौं। चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा चितवनलाई हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब उपाधिका लागि सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । यसअघि दोस्रो संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए । उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो । लगातार तीन सिजन फाइनल पुगे पनि सुदूरपश्चिमले अहिलेसम्म एनपीएलको उपाधि जित्न सकेको छैन । चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा थरिन्दु रत्नायकेले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए । त्यस्तै, विनोद भण्डारीले १३ बलमा २३ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए । ईशान पाण्डे र आरिफ शेखले समान १० रनको योगदान दिए । बलिङतर्फ चितवनका रञ्जित कुमारले २ विकेट लिए । कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मीर र सलाहुद्दिन खानले समान १ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रनको अविजित इनिङ्स खेले । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, सलाहुद्दिन खानले १८ र कमल सिंह ऐरीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । थरिन्दु रत्नायकेले २ विकेट हात पार्दा कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र ईशान पाण्डेले समान १ विकेट लिए । यस जितसँगै सुदूरपश्चिमले लगातार तेस्रोपटक फाइनल पुग्ने उपलब्धि हासिल गरेको छ । अब शनिबार हुने फाइनलमा लुम्बिनीलाई हराउँदै पहिलोपटक एनपीएल उपाधि जित्ने लक्ष्यमा सुदूरपश्चिम हुनेछ ।
सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा

Read Complete Original Article
Published originally on नेपालन्युज






