नेपाल र भारतको सीमाबीच बग्ने विही नदी यतिबेला छठ पर्वको उल्लासले झकिझकाउ बनेको छ । नदीको एक किनारमा नेपाल र अर्कोतर्फ भारत रहे पनि छठ पर्वले दुवै देशका नागरिकलाई एउटै सांस्कृतिक र धार्मिक सूत्रमा बाँधेको छ । महोत्तरीको मटिहानी नगरपालिका र धनुषाको तुलसीयाहीसँगै भारतीय सीमावर्ती बजार मधवापुर र रामपुरका स्थानीयवासी मिलेर विही नदी किनारमा करिब दुई किलोमिटर लामो आकर्षक छठघाट निर्माण गरेका छन् । नदीको दुवैतर्फ पाल टाँगेर व्रतालुका लागि पूजास्थल तयार पारिएको छ । घाट व्यवस्थापनदेखि सजावटसम्म नेपाल र भारतका नागरिकको सामूहिक सहभागिता देखिएको छ । राष्ट्रिय सीमाभन्दा माथि उठेर निर्माण गरिएको यो साझा घाटले दुई देशका नागरिकबीचको आत्मीयता, पारिवारिक सम्बन्ध र सांस्कृतिक निकटतालाई उजागर गरेको छ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार विही नदी किनारको साझा छठघाट नेपाल र भारतका नागरिकबीचको सद्भाव र एकताको प्रतीकका रूपमा विकास हुँदै गएको छ । दसगजाले दुई देशको भौगोलिक सीमा छुट्याए पनि यहाँका नागरिकबीचको पारिवारिक सम्बन्ध, आत्मीयता र सांस्कृतिक निकटताले सीमाको दूरी मेटाइदिएको मण्डलको भनाइ छ । विवाह, चाडपर्व तथा सुखदुःखका हरेक क्षणमा एकअर्कासँग जोडिँदै आएका सीमावर्ती नागरिकले छठलाई पनि साझा उत्सवका रूपमा मनाउँदै आएका छन् । यस वर्ष पनि हजारौँ श्रद्धालुका लागि घाट तयार पारिएको छ । नेपाल र भारत दुवैतर्फका गरी दुई हजारभन्दा बढी व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने अनुमान गरिएको छ । हजारौँ श्रद्धालु घाटमा पुगेर छठीमाताको पूजा आराधना गर्ने अपेक्षा गरिएको छ । नहाय–खाय विधिबाट सुरु हुने छठ पर्वमा व्रतालुले खरना गर्ने, अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न गर्ने परम्परा छ । विही नदी किनारमा निर्माण गरिएको साझा छठघाटले धार्मिक आस्थासँगै नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ । दुई देशको सीमा छुट्टिए पनि नागरिकबीचको आत्मीयता र सहअस्तित्वलाई कुनै सीमाले रोक्न सक्दैन भन्ने सन्देश यस साझा छठघाटले दिइरहेको छ ।
सीमाको दूरी मेटाउँदै विगही नदी किनारमा साझा छठघाट, नेपाल–भारतका हजारौँ व्रतालु एकै ठाउँमा

Read Complete Original Article
Published originally on पर्दाफास






