काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको पर्यटन समितिको संयोजकमा नियुक्त भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यसमिति बैठकले ढकाललाई पर्यटन समितिको संयोजकको जिम्मेवारी दिएको हो । ढकाल नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकासमा लगानी विस्तार गरेका व्यवसायी हुन् । चन्द्रागिरि हिल्सलगायतका पर्यटन पूर्वाधार विकासमा उनको लगानी छ । उनी नेपाली होटल ब्रान्ड ‘इलाका’ लगानीकर्तासमेत हुन् । नवनियुक्त संयोजक ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै विशिष्ट रहेकाले यस क्षेत्रलाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । सगरमाथाजस्तो विश्वको सर्वोच्च शिखर रहेको हिमशृङ्खलादेखि हिन्द महासागरका टापु, विशाल समुद्री तट, वनजङ्गल, मरुभूमि तथा समृद्ध धार्मिक र ऐतिहासिक सम्पदासम्मको विविधता दक्षिण एसियाको पर्यटन सम्भावना भएको उनको भनाइ छ । विश्वको करिब एकचौथाइ जनसङ्ख्या बसोबास गर्ने दक्षिण एसिया आफैँमा ठूलो आन्तरिक पर्यटन बजार भएको उल्लेख गर्दै उनले यस सम्भावनालाई वास्तविकतामा बदल्न सार्क क्षेत्रभर पर्यटन पूर्वाधारको स्तरोन्नति र लगानी विस्तार आवश्यक रहेको बताएका छन् । क्षेत्रका प्रतिष्ठित होटल तथा आतिथ्य सत्कारसम्बन्धी ब्रान्डलाई एकअर्काका देशमा विस्तार गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै संयोजक ढकालले सीमापार लगानी विस्तारले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानमा समेत सहयोग पुग्ने बताए । नेपालको सन्दर्भमा पनि सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल शृङ्खलालाई पर्यटन पूर्वाधारमा लगानीका लागि आकर्षित गर्न सकिने उनको भनाइ छ । यसबाट नेपाली आतिथ्य सत्कारसम्बन्धी सीप र अनुभवलाई क्षेत्रीय स्तरमा जोड्न सकिने उनले बताएका छन् । क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘ट्राभल विथिन सार्क’ अर्थात् सार्कभित्रै भ्रमण अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिएका छन् । विभिन्न देशका पर्यटकीय गन्तव्य समेटेर साझा पर्यटन मार्ग र भ्रमण प्याकेज तयार गर्न सके धार्मिक, सांस्कृतिक, पर्यापर्यटन तथा साहसिक पर्यटनमा आपसी आदानप्रदान बढाउन सकिने उनको विश्वास छ । क्षेत्रीय पर्यटन विकासको प्रमुख आधार सहज सम्पर्क सञ्जाल भएको उल्लेख गर्दै उनले सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई तथा स्थलमार्ग विस्तार गर्नुपर्ने बताएका छन् । यसबाट पर्यटक, उद्यमी र लगानीकर्ताको आवागमन सहज हुने उनको भनाइ छ । नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई सार्क क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यसँग सीधा हवाई उडानमार्फत जोड्न सके क्षेत्रीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । यी लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ढकालले सार्क चेम्बरजस्ता क्षेत्रीय मञ्चले नीतिगत समन्वय र व्यावसायिक साझेदारीका लागि पुलको काम गर्न सक्ने बताएका छन् । उनले समग्र दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
सार्क चेम्बरको पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल नियुक्त

Read Complete Original Article
Published originally on टक्सार






