सर्बियामा भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका विद्यार्थीले चुनाव जिते, बुचिचको सत्ता ढल्याे

काठमाडौं । सर्बियामा विद्यार्थी नेतृत्वको आन्दोलनले संसदीय निर्वाचनमा बहुमत हासिल गरेपछि पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिच नेतृत्वको सत्तारूढ गठबन्धनलाई ठूलो धक्का लागेको छ। आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले बहुमत प्राप्त गरेको छ। बुचिचले पनि आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन्। २५० सदस्यीय सर्बियाली संसद्मा ‘स्टुडेन्ट लिस्ट’ले १३५ भन्दा बढी सिट जितेको प्रारम्भिक मतपरिणामले देखाएको छ। बुचिचको सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) नेतृत्वको गठबन्धन भने १०५ सिटमा सीमित भएको छ। निर्वाचनमा करिब ७० प्रतिशत मतदाताले मतदान गरेका थिए। निर्वाचन परिणाम सार्वजनिक भएपछि राजधानी बेलग्रेडसहित नोभी सादलगायत प्रमुख सहरमा हजारौँ युवा तथा नागरिकले विजयोत्सव मनाएका छन्। भ्रष्टाचारविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनले चुनावमार्फत राजनीतिक शक्ति प्राप्त गरेपछि सर्बियाको राजनीतिमा नयाँ मोड आएको छ। यस परिवर्तनको पृष्ठभूमिमा नोभेम्बर २०२४ मा नोभी सादस्थित रेल्वे स्टेसनको कङ्क्रिट छानो भत्किँदा १६ जनाको मृत्यु भएको घटना छ। सरकारी भ्रष्टाचार, कमिसनतन्त्र र निर्माणमा भएको लापरबाहीका कारण दुर्घटना भएको भन्दै विद्यार्थीहरूले आन्दोलन सुरु गरेका थिए। सुरुमा जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणको मागसहित अघि बढेको आन्दोलन पछि राजनीतिक अभियानमा परिणत भएको थियो। ‘स्टुडेन्ट लिस्ट’ले परम्परागत राजनीतिक नेताभन्दा फरक रूपमा चिकित्सक, प्राध्यापक, कलाकार, खेलाडी तथा कृषकलाई उम्मेदवार बनाएको थियो। मुटुरोग विशेषज्ञ डा. इलिया स्रदानोभिचको नेतृत्वमा अघि बढेको उक्त सूचीका अधिकांश उम्मेदवार विजयी भएको जनाइएको छ। विजयपछि डा. स्रदानोभिचले जनताको आवाज सुनिएको भन्दै कानुनी शासन र लोकतन्त्रको पुनःस्थापनाका लागि काम गर्ने बताएका छन्। दृढ इच्छाशक्ति भए परिवर्तन सम्भव हुने प्रमाणित भएको उल्लेख गर्दै उनले सत्य, अभिव्यक्ति स्वतन्त्रता र भविष्य सुनिश्चित भएको देश निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। बुचिचको राजनीतिक पराजयले सर्बियाको आन्तरिक राजनीतिसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा पनि प्रभाव पार्न सक्ने देखिएको छ। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर तथा पूर्व विशेष दूत रिचर्ड ग्रेनेलसँग निकट सम्बन्ध बनाएका थिए। ट्रम्पका ज्वाइँ जेरेड कुश्नरको कम्पनीले बेलग्रेडस्थित पुरानो रक्षा मन्त्रालयको भवनलाई लक्जरी होटल तथा आवासीय क्षेत्रमा रूपान्तरण गर्ने अर्बौँ डलरको आयोजना अघि बढाएपछि विवादसमेत भएको थियो। बुचिचले रुस, चीन र अमेरिकाबीच रणनीतिक सन्तुलन कायम गर्ने नीति अपनाउँदै आएका थिए। युरोपेली संघप्रति बढी सकारात्मक देखिएको युवा पुस्ताको उदयले सर्बियाको भावी विदेश नीतिमा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ। संसदीय निर्वाचनमा बहुमत प्राप्त गरेसँगै ‘स्टुडेन्ट लिस्ट’ले नयाँ प्रधानमन्त्री चयन गरी सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्नेछ। यसैबीच, आगामी डिसेम्बरमा राष्ट्रपतिको निर्वाचन हुने बताइएको छ। बुचिचले प्रधानमन्त्री बन्ने उद्देश्यले गत महिना राष्ट्रपति पदबाट राजीनामा दिएको विवरणसमेत सार्वजनिक भएको छ। संसदीय निर्वाचनमा उनको गठबन्धनले व्यहोरेको पराजयपछि सर्बियाको भावी राजनीतिक नेतृत्व र बुचिचको राजनीतिक भविष्यबारे चासो बढेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका लागि खुला
इस्लामावाद । १७ अक्टोबर दिउँसो करिब डेढ बजे पाकिस्तानको पंजाब प्रान्तस्थित गुजरातको एक गाउँमा बस्दै आएका मोहम्मद सुफियानलाई वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहँदै आएका दाजु मोहम्मद बिलालको ह्वाट्सएप कल... ...

निर्वासनपछि भेनेजुएला फर्किइन् विपक्षी नेतृ मचाडो
• भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडो एक वर्षको निर्वासनपछि स्वदेश फर्किएकी छन्, जहाँ उनका समर्थकहरूले ठूलो स्वागत गरेका छन्। • मचाडोको पुनरागमनलाई राजनीतिक सङ्क्रमणको समयमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ, जबकि निर्वाचनको मिति भने तय भएको छैन। • मचाडोको पार्टीले २०२७ मा निर्वाचन गराउन र उनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुन दिन माग गरेको छ। ...

संघीय संसद्मा ३६ विधेयक विचाराधीन, थप ७ नयाँ विधेयक दर्ता
संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। प्रतिनिधि सभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ। संसद् अधिवेशन अन्त्य भएपछि थप छ वटा विधेयक दर्ता भएको छ, जसले दर्ता भएका नयाँ विधेयकको सङ्ख्या सात पुर्‍याएको छ। काठमाडौँ । संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्... ...

नेपाली नृत्यमा स्वजन रघुवंशीले हासिल गरे विद्यावारिधि
काठमाडौं । क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष स्वजन रघुवंशीले नेपाली नृत्य विधामा विद्यावारिधि हासिल गरेका छन्। ललितपुर निवासी रघुवंशीले भारतको छत्तीसगढस्थित खेरागढको राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरेका हुन्। उपलब्ध विवरणअनुसार, नृत्य विषयमा विद्यावारिधि हासिल गर्ने रघुवंशी पहिलो नेपाली हुन्। उनले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यमलगायत विभिन्न नृत्यशैलीमा अध्ययन, प्रशिक्षण तथा प्रस्तुति दिँदै आएका छन्। विद्यावारिधि ...


