सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको र नयाँ प्रहरी महानिरीक्षक नियुक्त भइसकेकाले यसलाई सामान्य जिम्मेवारी हेरफेरका रूपमा बुझ्नुपर्ने बताए । मन्त्रिपरिषद् बैठकले यसअघि अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको थियो । ‘बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाही गरिएको रूपमा बुझ्नु हुँदैन । उहाँलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा ल्याइएको छ । नयाँ आईजीपी आउनुभएको छ’, मन्त्री पोखरेलले भने । बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले मोबाइल लगेको हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अनभिज्ञता प्रकट गरे । ‘इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले लगेको कुरा हामीलाई जानकारी छैन । बाहिर आएको हल्ला हो । यदि त्यस्तो रहेछ भने सम्बन्धित निकायले अनुसन्धान गर्छ’, उनले भने । हालका आईजीपी कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।
सरकारका प्रवक्ता भन्छन्- आईजीपीको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न हुँदैन

Read Complete Original Article
Published originally on पर्दाफास






