काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३५ मा आयोजना हुने महिला विश्वकप फुटबलको जिम्मेवारी संयुक्त अधिराज्य (बेलायत) लाई सुम्पिएको छ । बेलायतका चार देश इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डले संयुक्तरूपमा प्रतियोगिता आयोजना गर्ने भएका छन् । फिफाले जुरिचबाट भर्चुअल माध्यममा बसेको विशेष बैठकमार्फत् आयोजनाको अधिकार प्रदान गर्ने निर्णय गरेको हो ।यससँगै झण्डै सात दशकपछि बेलायतमा पुनः फुटबल विश्वकप आयोजना हुने भएको छ । यसअघि सन् १९६६ मा पुरुष विश्वकप आयोजना गरेको बेलायतले अब पहिलोपटक महिला विश्वकपको आतिथ्यता गर्नेछ । विश्व फुटबलमा महिला खेलाडीको बढ्दो लोकप्रियता र महिला फुटबलको विस्तारका दृष्टिले पनि यो प्रतियोगितालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । सन् २०३५ को महिला विश्वकप आयोजना गर्न बेलायतका चार देशको संयुक्त प्रस्तावबाहेक अन्य कुनै राष्ट्रले औपचारिक दाबी पेश गरेका थिएनन् । प्रतिस्पर्धी प्रस्ताव नआएपछि फिफाले बेलायतको प्रस्तावलाई स्वीकृति दिँदै आयोजनाको जिम्मेवारी प्रदान गरेको हो । सन् २०३५ को महिला विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । विस्तारित स्वरूपमा आयोजना हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछ । प्रतियोगिता ३९ दिनसम्म सञ्चालन हुनेछ । बेलायतले प्रतियोगिताका खेल सञ्चालन गर्न चार देशका १९ वटा रंगशाला प्रस्ताव गरेको छ । प्रस्तावित योजनाअनुसार सबैभन्दा बढी खेल इंग्ल्याण्डमा हुनेछन् । इंग्ल्याण्डका १४ रंगशालामा प्रतियोगिताका खेल सञ्चालन गर्ने योजना छ । त्यस्तै, स्कटल्याण्ड र वेल्सका दुई-दुई तथा नर्दन आयरल्याण्डको एउटा रंगशालामा खेल आयोजना गरिने प्रस्ताव गरिएको छ । यसरी चार देशका प्रमुख शहर र रंगशालालाई समेटेर महिला फुटबलको विश्वव्यापी महाकुम्भ सञ्चालन गर्ने तयारी बेलायतको छ । १९ रंगशालामा खेल सञ्चालन गर्ने योजनाले प्रतियोगितालाई भौगोलिकरूपमा व्यापक बनाउनेमात्र नभई चारै देशमा महिला फुटबलको विकास, पूर्वाधार विस्तार र खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । फिफाको विशेष साधारणसभाले सन् २०३१ मा आयोजना हुने महिला विश्वकपको आयोजकसमेत टुंगो लगाएको छ । उक्त विश्वकप संयुक्तरूपमा मेक्सिको, अमेरिका, कोस्टारिका र जमैकाले आयोजना गर्ने भएका छन् । यससँगै सन् २०३१ देखि महिला विश्वकपमा सहभागी टोलीको संख्या ४८ पुग्नेछ । यसअघि सीमित टोलीबीच हुँदै आएको प्रतियोगिता अब अझ ठूलो स्वरूपमा सञ्चालन हुनेछ । टोलीको संख्या विस्तारसँगै विभिन्न महादेशका राष्ट्रले विश्वकपमा स्थान बनाउने अवसरसमेत बढ्ने अपेक्षा गरिएको छ । महिला विश्वकपलाई थप प्रतिस्पर्धात्मक, समावेशी र विश्वव्यापी बनाउने उद्देश्यले फिफाले प्रतियोगिताको स्वरूप विस्तार गरेको हो । सन् २०३१ र २०३५ का दुई संस्करणले महिला फुटबलको विकासमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ । पछिल्ला वर्षमा महिला फुटबलले विश्वभर उल्लेखनीय लोकप्रियता हासिल गर्दै आएको छ । दर्शकको आकर्षण, व्यावसायिक लगानी, प्रायोजन तथा प्रसारण अधिकारको बजार विस्तार हुँदै जाँदा महिला फुटबल अन्तर्राष्ट्रिय खेलकुदको महत्त्वपूर्ण हिस्साका रूपमा स्थापित हुँदै गएको छ । ४८ टोलीको सहभागितामा हुने आगामी दुई विश्वकपले यस खेलको दायरा अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ । विशेषगरी एसिया, अफ्रिका, उत्तर अमेरिका र अन्य क्षेत्रमा महिला फुटबलको विकास गरिरहेका राष्ट्रका लागि विश्वकपमा पुग्ने सम्भावना थप बढ्नेछ । बेलायतजस्तो फुटबलको लामो इतिहास र बलियो पूर्वाधार भएको क्षेत्रमा सन् २०३५ को महिला विश्वकप आयोजना हुनु प्रतियोगिताको व्यावसायिक तथा खेलकुदीय महत्त्वका दृष्टिले पनि विशेष रहनेछ । चार देशको संयुक्त आयोजनाले महिला फुटबललाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
सन् २०३५ को महिला विश्वकप बेलायतमा, चार देशका १९ रंगशालामा प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






