एजेन्सी । भारतका युवा ब्याटर प्रियांश आर्यले घरेलु टी-२० क्रिकेटमा ऐतिहासिक ब्याटिङ गर्दै नयाँ कीर्तिमान बनाउनुभएको छ । सैयद मुस्ताक अली ट्रफीअन्तर्गत मंगलबार तमिलनाडुविरुद्ध दिल्लीका कप्तान आर्यले मात्र ६८ बलमा १८१ रनको विस्फोटक इनिङ्स खेल्नुभयो । २५ वर्षीय ओपनर आर्यको यो स्कोर पुरुष टी-२० क्रिकेट इतिहासकै दोस्रो ठूलो व्यक्तिगत स्कोर हो । यससँगै उहाँ टी-२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने भारतीय ब्याटरसमेत बन्नुभएको छ । आर्यले आफ्नो इनिङ्समा १९ छक्का र नौ चौका प्रहार गर्नुभयो । उहाँले केवल १८ बलमा अर्धशतक पूरा गर्नुभएको थियो भने ३६ बलमै शतक बनाउनुभएको थियो । शतकपछि पनि आक्रामक ब्याटिङलाई निरन्तरता दिनुभएका उहाँले थप २४ बलमा १५० रनको आँकडा पार गर्नुभयो ।आर्यले तमिलनाडुका एम सिद्धार्थलाई लगातार बलमा चौका र छक्का प्रहार गर्दै क्रिस गेलको १७५ रनको कीर्तिमानसमेत उछिन्नुभएको थियो । गेलले सन् २०१३ मा आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलुरुबाट खेल्दै पुणे वारियर्सविरुद्ध अविजित १७५ रन बनाउनुभएको थियो । तर, आर्य पुरुष टी-२० क्रिकेटको सर्वाधिक व्यक्तिगत स्कोरको विश्व कीर्तिमान बनाउन भने सात रनले चुक्नुभयो । दक्षिण अफ्रिकाका लुआन-ड्रे प्रिटोरियसले गत महिना सिएसए टी-२० च्यालेन्जमा १८८ रन बनाउँदै यो कीर्तिमान आफ्नो नाममा लेखाउनुभएको थियो । आर्यले एकै इनिङ्समा १९ छक्का प्रहार गर्दै फिन एलेनको कीर्तिमानसँग पनि बराबरी गर्नुभएको छ । टी-२० क्रिकेटको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचीमा अब उहाँ संयुक्तरूपमा शीर्ष स्थानमा हुनुहुन्छ । उहाँको विस्फोटक ब्याटिङको मद्दतमा दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २७५ रन बनायो । यो सैयद मुस्ताक अली ट्रफीको इतिहासमा संयुक्तरूपमा तेस्रो ठूलो योगफल हो । आइपिएलमा पञ्जाब किंग्सबाट खेल्ने आर्यलाई टोलीले सन् २०२७ को आइपिएल अक्सनअघि रिटेन गरिसकेको छ । यसअघि आइपिएल २०२६ मा पनि उहाँ तीव्र गतिमा रन बनाउने ओपनरमध्ये एक हुनुहुन्थ्यो ।
प्रियांश आर्यले तोडे क्रिस गेलको १३ वर्ष पुरानो कीर्तिमान

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






