खोटाङ । खोटाङको खार्मीमा आयोजित ‘प्रथम एक्सट्रिम शिखर स्पोर्ट्स कप-२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२, सोल्माले जितेको छ । शिखर स्पोर्ट्स क्लब खार्मीको आयोजनामा खार्मीस्थित खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा आयोजक खार्मीलाई ट्राइब्रेकरमा चार-दुई गोलअन्तरले पराजित गर्दै सोल्माले पहिलो संस्करणको उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । उपाधिसँगै सोल्माले नगद एक लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष महेन्द्र राईले जानकारी दिनुभयो । उपविजेता खार्मीले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सेमिफाइनलसम्म पुगेका केपिलासगढी गाउँपालिका-४, बाक्सिला र दिप्रुङ चुइचुम्मा गाउँपालिका-७, टेम्माले जनही २१ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । व्यक्तिगत विधातर्फ सोल्माका हेखाम राई उदीयमान खेलाडी, नवीन पोखरेल उत्कृष्ट गोलरक्षक, खार्मीका सविन दाहाल उत्कृष्ट डिफेन्डर, सोल्माका विकास राई उत्कृष्ट मिडफिल्डर, प्रकाश राई उत्कृष्ट प्रशिक्षक, बाक्सिलाका संगम राई सर्वाधिक गोलकर्ता र सोल्माका आशिष राई उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उत्कृष्ट खेलाडी आशिष राईले पाँच हजार ५५५ रुपैयाँ तथा अन्य विधाका विजेताले जनही तीन हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।प्रतियोगिता समापनका अवसरमा जिल्लामा क्रियाशील पत्रकार आत्मा राई ‘झमिनाक्क्षी’लाई पाँच हजार ५५५ रुपैयाँ राशिको ‘खेल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । विजेता टोली, वडा तथा खेलाडीलाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पुरस्कार वितरण गर्नुभएको थियो । मंसिर १ गतेदेखि सुरु भएको खुला अन्तरवडाकप पुरुष फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १० वडाले सहभागिता जनाएका थिए । नगरपालिकाको लगानीमा २०७५ सालमा निर्माण गरिएको खार्मीस्थित खेलमैदानमा पहिलोपटक प्रतियोगिता आयोजना गरिएको हो ।
शिखर स्पोर्ट्स कपको उपाधि सोल्मालाई

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






