व्यक्तिगत क्यान्सर खोपको परीक्षण सफल, घट्यो रोग दोहोरिने जोखिम

काठमाडौं । व्यक्तिगत रूपमा तयार पारिएको नयाँ क्यान्सर खोपलाई इम्युनोथेरापी औषधिसँगै प्रयोग गर्दा क्यान्सर दोहोरिने वा त्यसबाट मृत्यु हुने जोखिम ४२ प्रतिशतले घटेको क्लिनिकल परीक्षणले देखाएको छ । अनुसन्धानकर्ताहरूले यसलाई क्यान्सर उपचारमा महत्वपूर्ण उपलब्धि मानेका बीबीसीले बताएको छ । परीक्षणअनुसार, इम्युनोथेरापी मात्र प्रयोग गर्दा भन्दा खोपसहितको उपचारले दुई वर्षमा मेलानोमा (घातक छालाको क्यान्सर) शरीरका अन्य भागमा फैलिने जोखिम ३८ प्रतिशतले घटाएको छ । औषधि निर्माता कम्पनी एमएसडी र मोडेर्नाले यही प्रविधि मिर्गौला, मूत्राशय र फोक्सोको क्यान्सरविरुद्ध पनि परीक्षण गरिरहेका छन् । यद्यपि, उपचारले बिरामीको आयु बढाउँछ कि बढाउँदैन भन्ने पुष्टि गर्न दीर्घकालीन अध्ययन आवश्यक रहेको विशेषज्ञहरूको भनाइ छ । शल्यक्रियामार्फत ट्युमर निकालिएका बिरामीलाई लक्षित यो उपचारमा एक हजार १३७ जना वयस्क सहभागी थिए । सबैलाई ‘किट्रुडा’ नामक इम्युनोथेरापी औषधि दिइएको थियो । सहभागीमध्ये करिब दुईतिहाइलाई नयाँ खोप र बाँकीलाई प्रभावहीन औषधि अर्थात् प्लासिबो दिइएको थियो । ‘इन्टिसमेरान’ नाम दिइएको यो खोपमा कोभिड–१९ विरुद्धका केही खोपमा प्रयोग गरिएको एमआरएनए प्रविधि अपनाइएको छ । प्रत्येक बिरामीको ट्युमरको आनुवंशिक जानकारीका आधारमा खोप तयार गरिन्छ । यसले प्रतिरक्षा प्रणालीलाई क्यान्सरका कोष पहिचान गर्न र ती पुनः देखा परेमा आक्रमण गर्न प्रशिक्षित गर्छ । क्याम्ब्रिजस्थित एडनब्रुक अस्पतालकी क्यान्सर रोग विशेषज्ञ प्राध्यापक पिप्पा कोरीले व्यक्तिगत उपचार पद्धतिको यो विकासलाई उत्साहजनक उपलब्धि बताइन् । उनले भनिन्, “यो अर्को ठूलो फड्को हो । मुख्य प्रश्न यसको प्रभावकारिता कत्तिको प्रमाणित गर्न सकिन्छ भन्ने हो । यो परीक्षण त्यसको प्रारम्भिक प्रमाण हो ।” अध्ययनमा सहभागी ७५ वर्षीय टोनी च्यापम्यानलाई सन् २०१९ मा मेलानोमा भएको पुष्टि भएको थियो । उनको छातीबाट ट्युमर निकालिए पनि पछि काखीमुनि गाँठो देखिएपछि क्यान्सर दोहोरिएको र दोस्रो शल्यक्रिया आवश्यक रहेको चिकित्सकहरूले बताएका थिए । त्यसपछि उनी अध्ययनमा सहभागी भए । तर, अन्य सहभागीले जस्तै आफूले वास्तविक खोप पाएको हो वा प्लासिबो भन्ने उनलाई अझै थाहा छैन ।टोनीले भने, “यो विज्ञानलाई अगाडि बढाउने र आफ्ना लागि पनि केही फाइदा लिने राम्रो अवसर जस्तो लाग्यो । त्यसैले गुमाउनुपर्ने के नै छ र ?” तीन वर्षपछि उनी अहिले प्रत्येक छ महिनामा स्वास्थ्य परीक्षण गराइरहेका छन् र क्यान्सरमुक्त छन् । एमएसडी र मोडेर्नाले खोपको सफलतासम्बन्धी प्रारम्भिक नतिजा सार्वजनिक गरेपछि दुवै कम्पनीको सेयर मूल्य बढेको थियो । तर, पछिल्लो परीक्षणको नतिजा अघिल्लो सानो परीक्षणको तुलनामा अपेक्षाकृत कमजोर रहेको विश्लेषकहरूले बताएपछि बिहीबार लगानीकर्ताहरूले सेयर बिक्री गरेका थिए । दुवै कम्पनी औषधि नियामक निकायहरूसँग छलफलमा छन् । आगामी वर्षसम्म स्वीकृतिका लागि आवेदन दिन सक्ने बताएका छन् । लन्डनस्थित इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका प्राध्यापक एलन मेल्चरले नतिजालाई अत्यन्तै प्रभावशाली भनेका छन् । यद्यपि, मेलानोमामा प्राप्त नतिजाका आधारमा यो प्रविधि सबै प्रकारका क्यान्सरमा प्रभावकारी हुन्छ भन्न नमिल्ने र समग्र जीवनरक्षामा यसको प्रभाव बुझ्न दीर्घकालीन अध्ययन आवश्यक रहेको उनले बताए । अध्ययनको पूर्ण नतिजा म्याड्रिडमा आयोजना हुने युरोपियन सोसाइटी अफ मेडिकल अन्कोलोजीको क्यान्सर सम्मेलनमा प्रस्तुत गरिने बताइएको छ । नतिजा स्वतन्त्र विज्ञहरूको समीक्षा प्रक्रियाबाट गुज्रिएको चिकित्सा शोधपत्रिकामा भने अझै प्रकाशित भएको छैन । बीबीसी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले... ...

चीनमा विद्याको सम्बोधन : मतभेदको समाधान हतियारबाट नभई वार्ता र कूटनीतिमार्फत हुनुपर्छ (पूर्णपाठ)
काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले विश्वव्यापी शासन प्रणाली (ग्लोबल गभर्नेन्स) लाई निष्पक्ष, समावेशी र प्रभावकारी बनाउन सबै राष्ट्रको समान सहभागिता तथा निर्णयहरू जनकेन्द्रित हुनुपर्नेमा जोड... ...

पुनहिलमा रमाउँदै पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पुनहिलमा पर्यटक रमाएका छन् । ...

मन्त्री पुनद्वारा फापरखेतको पहिरोको स्थलगत निरिक्षण
म्याग्दी । पश्चिम म्याग्दीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग बेनी-दरबाङ सडकको फापरखेत पहिरो समस्या अझै चुनौतीपूर्ण बनेको छ । वर्षा र हिउँद दुवै समयमा पहिरो खस्ने क्रम नरोकिएपछि यात्रु तथा सवारीसाधनले भोग्दै आएको सास्ती अन्त्य गर्न विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले स्थायी समाधानको पहल तीव्र बनाउनुभएको छ । मन्त्री पुनले शनिबार पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै भइरहेको कार्य, प्राविधिक ...


