लण्डन । सातपटकका ग्राण्डस्लाम च्याम्पियन स्पेनी टेनिस स्टार कार्लोस अल्काराजले विश्व नम्बर एक अलेक्जेण्डर जेभेरेभलाई सोझो सेटमा पराजित गर्दै आफ्नो करिअरको पहिलो ‘एटिपी फाइनल्स’ उपाधि जित्नुभएको छ । आइतबार राती सम्पन्न फाइनलमा २३ वर्षीय अल्काराजले जर्मन प्रतिद्वन्द्वी जेभेरेभलाई ६-२, ७-६-७ ले पाखा लगाउनुभएको हो । नाडीको चोटका कारण चार महिना कोर्टबाहिर रहेर युएस ओपनमार्फत् पुनरागमन गर्नुभएका अल्काराजको यो लगातार १४औँ जित हो । भियना र पेरिस मास्टर्सको उपाधि जित्नुभएका उहाँले वर्षको अन्त्य लगातार तेस्रो उपाधिसँगै सुखद बनाउनुभएको हो । युएस ओपनको क्वाटरफाइनलमा पराजित भएयता उहाँले २२-१ को सानदार जित-हारको कीर्तिमानसहित चार उपाधि उचाल्नुभएको छ । गत वर्ष एटिपी फाइनल्सको उपविजेतामा सीमित रहनुभएका ‘करिअर ग्राण्डस्लाम’ विजेता कान्छा पुरुष खेलाडी अल्काराजले भन्नुभयो, ‘मेरा र मेरो टोलीका लागि कठिन समय पार गर्दै यो ट्रफी जित्नु मेरो जीवनकै विशेष उपलब्धि हो ।’ फाइनलसम्म एक सेट पनि नगुमाउनुभएका दुईपटकका च्याम्पियन जेभेरेभ सुरुवाती सेटमा निकै सुस्त देखिनुभयो । पहिलो सेटमै १९ वटा ‘अनफोर्स्ड इरर’ गर्नुभएका उहाँ सर्भिसमा समेत संघर्षरत रहनुभयो, जसको फाइदा उठाउँदै अल्काराजले ६-२ को सहज जित निकाल्नुभयो । समय उल्लंघनको चेतावनीलाई लिएर अम्पायरसँग विवादसमेत गर्नुभएका जेभेरेभले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै ५-४ को अग्रता लिएर खेललाई टाइब्रेकसम्म पुर्याउनुभएको थियो । तर, टाइब्रेकमा लगातार तीनवटा सेट पोइन्ट बचाउँदै अल्काराजले उपाधिमाथि कब्जा जमाउनुभयो । यो हारसँगै पहिलोपटक विश्व नम्बर एक बन्नुभएका र दुई ग्राण्डस्लाम जित्नुभएका जेभेरेभको करिअरकै सफल सिजनको अन्त्य भएको छ । एजेन्सी
विश्व नम्बर एक जेभेरेभलाई हराउँदै कार्लोसले जिते पहिलो एटिपी उपाधि

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






