मड्रिड । युरोपेली फुटबलअन्तर्गत आइतबार राती स्पेनिस ला लिगामा बार्सिलोनाले रोमाञ्चक पुनरागमन जित निकाल्दा इंग्लिस प्रिमियर लिगमा नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेड लिभरपुलसँग लज्जास्पदरूपमा पराजित भएको छ । घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले भिल्लारियललाई ३-२ ले पराजित गरी शीर्षस्थानमा तीन अंकको अग्रता कायम राख्यो । खेलको सात मिनेटभित्रै टाजोन बुकानन र टानी ओलुसेयले गोल गर्दै भिल्लारियललाई २-० को अग्रता दिलाउनुभएको थियो । पहिलो हाफको अन्त्यतिर लामिन यमल पेनाल्टीमा चुक्दा बार्सिलोना दबाबमा परेको थियो । तर, दोस्रो हाफको १० मिनेटको अन्तरालमा बार्सिलोनाले खेल पल्टायो । जेरार्ड मार्टिन र फर्मिन लोपेजको गोलले खेल बराबरीमा आयो भने ६७औँ मिनेटमा भिल्लारियलका पाउ नाभारोले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी बन्यो । इन्जुरी समयमा नाभारो दोस्रो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिनुभयो । रियल मड्रिडले सेल्टा भिगोलाई हराएपछि दबाबमा रहेको बार्सिलोनाको यो लगातार तेस्रो लिग जित हो । ला लिगाकै अन्य खेलमा एट्लेटिको मड्रिडले गेटाफेलाई ३-०, ओसासुनाले मालागालाई १–० र रेसिङ सान्टान्डरले रियल सोसिडाडलाई ३-२ ले हरायो । उता, इंग्लिस प्रिमियर लिगमा अमेरिकी राष्ट्रिय टोली छाडेर युनाइटेड सम्हालेका पोचेटिनोको पहिलो खेलमै टोली एनफिल्डमा लिभरपुलसँग ४-० ले स्तब्ध बन्यो । आठौं मिनेटमै लेनी योरोले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित युनाइटेडविरुद्ध लिभरपुलले पहिलो हाफमा डोमिनिक सोबोस्लाई र फ्लोरियन विर्ट्ज तथा दोस्रो हाफमा रियो एन्गुमोहा र भिक्टर मुनोजको गोलमा सहज जित निकाल्यो । जितसँगै ११ खेलबाट २१ अंक जोडेको लिभरपुल चौथो स्थानमा उक्लिएको छ भने आठ अंकमै सीमित युनाइटेड १९औँ स्थान (रेलिगेसन क्षेत्र) मै छ । अर्को खेलमा ब्राइटन हलसँग २-० ले पराजित हुँदा शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउन चुक्यो । एजेन्सी
बार्सिलोनाको उत्कृष्ट पुनरागमन, युनाइटेडको लज्जास्पद हार

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






