उद्योग, व्यवसाय, सीप विकास, रोजगारी र लगानीका अवसरलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित विराटनगरमा विराट एक्स्पो २०२६ आयोजना हुने भएको छ। उद्योग संगठन मोरङको आयोजनामा आगामी मंसिर २ देखि ११ गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा एक्स्पो सञ्चालन हुनेछ। एक्स्पो बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। बुधबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार यस वर्षको एक्स्पोको मुख्य विषयवस्तु ‘द इकोसिस्टम अफ अपर्चुनिटिज’ रहेको छ। यस पटक एक्स्पोलाई परम्परागत व्यापारिक प्रदर्शनीभन्दा फरक बनाएर अवसर र सम्भावनालाई व्यवसाय, सीप, रोजगारी तथा लगानीसँग जोड्ने गरी आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। एक्स्पोमा १० वटा अवसरमूलक क्षेत्र र ६ वटा एकीकृत प्लेटफर्ममार्फत गतिविधि सञ्चालन गरिनेछ। यसअन्तर्गत विद्यार्थी तथा युवाका लागि करियर मार्गदर्शन, सीप र रोजगारीका अवसर, स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विकास सेवा र लगानीसम्बन्धी कार्यक्रम रहनेछन्। त्यस्तै, तीनदिने ‘बिराट बिजनेस समिट २०२६’ पनि आयोजना हुनेछ। ‘इन्भेस्ट एन्ड बिल्ड’, ‘कनेक्ट एन्ड एक्सपान्ड’ तथा ‘इन्फ्लुएन्स एन्ड ग्रो’ विषयमा केन्द्रित समिटमा उद्योगी, व्यवसायी, लगानीकर्ता तथा नीतिनिर्माताको सहभागिता रहनेछ। कोशी प्रदेशका १८ जिल्लाका व्यावसायिक सम्भावना प्रस्तुत गरिने आयोजकले जनाएको छ। एक्स्पोमा २७५ भन्दा बढी स्टल रहनेछन्। औद्योगिक तथा कर्पोरेट, कृषि तथा साना उद्यम, अटोमोबाइल, खाद्य, तालिम प्रदायक र व्यवसाय विकास सेवासम्बन्धी स्टल राखिनेछन्। कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला, घरेलु तथा साना उद्यमका उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ। आयोजकले यस वर्ष करिब २ लाख ५० हजार दर्शक, ३०० भन्दा बढी कम्पनी तथा संस्थाको सहभागिता र २५ हजार विद्यार्थीको उपस्थिति अपेक्षा गरेको छ। साथै, २ हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने र कम्तीमा २० वटा लगानीयोग्य स्टार्टअप तथा उद्यमशील परियोजनालाई लगानीकर्तासमक्ष प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। एक्स्पोमार्फत कम्तीमा १ हजार ५०० व्यावसायिक भेटघाट तथा सम्पर्क स्थापित गर्ने लक्ष्यसमेत आयोजकले लिएको छ। The post विराट एक्स्पो २०२६ मंसिर २ देखि, २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य appeared first on Technology Khabar.
विराट एक्स्पो २०२६ मंसिर २ देखि, २ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






