नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए। उनले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उनको भनाई छ । उनले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको संगठनात्मक संरचनालाई थप सुदृढ गर्नुपर्ने बताए। सरकारका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिको माध्यमबाट आम जनतामाझ पुर्याउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए । वर्तमान सरकार र सत्तारुढ दलको नेतृत्व सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको उनको आरोप छ । उनले भने, ‘भ्रममा बाँचेको, देशलाई जलाएर आएको, खरानी ग्याङ भनेर युवाहरूले उपमा दिएको सहकारी ठगी लगायतका आपराधिक कर्ममा संलग्न रहेको पार्टी र त्यसका नेताहरू संलग्न रहेको वर्तमान सरकारको आयु धेरै लामो रहने छैन । यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन । यसको लागि नेकपा एमाले अन्य सबै दलहरूसँग आवश्यकता अनुसारको सहकार्य गर्दै आन्दोलनलाई व्यवस्थित गराउँदै, आफ्नो सङ्गठनात्मक परिणामहरूलाई व्यवस्थित गराउँदै, स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै, स्थानीय तह र प्रदेश तहका निर्वाचनलाई व्यवस्थित गर्दै अगाडि बढ्नुपर्ने कार्यभार बोकेर एमाले जानेछ ।’ उनले स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै आगामी स्थानीय तह र प्रदेश तहका निर्वाचनको तयारीमा पनि ध्यान दिनुपर्ने बताए। आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्नेगरि अगाडी बढाउन आवश्यक रहेको बताए ।
वर्तमान सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन : महेश बस्नेत

Read Complete Original Article
Published originally on पर्दाफास





