Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ल्याटिन अमेरिका र बाँकी विश्वका लागि लुलाको अर्थपूर्ण जित

ल्याटिन अमेरिका र बाँकी विश्वका लागि लुलाको अर्थपूर्ण जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
ल्याटिन अमेरिका र बाँकी विश्वका लागि लुलाको अर्थपूर्ण जित

रियो डि जेनरियो । ल्याटिन अमेरिकामा सल्किँदै गएको दक्षिणपन्थी लहर ब्राजिलमा पुगेर रोकिएको छ । यससँगै पछिल्लो १८ महिनामा लगातार ल्याटिन अमेरिकाका सातवटा देशमा राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थीहरूले हासिल गरेको जितको शृंखलामा पूर्णविराम लाग्यो । आइतबार सम्पन्न निर्वाचनमा वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ५१.८ प्रतिशत मत ल्याए । पूर्व राष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारो यस निर्वाचनमा उनीसँग प्रतिस्पर्धामा थिए । फ्लाभियोले ४८.२ प्रतिशत मत पाए । उदयीमान अर्थव्यवस्थाहरुबीच गहिरो सहकार्य आवश्यक रहेको लुलाले औल्याउँदै आएका छन् । उनको नेतृत्वमा ब्राजिलले ब्रिक्समा आफुलाई एक महत्वपूर्ण साझेदारका रुपमा उभ्याइरहेको छ । चीन, रुस र भारतसँग ब्राजिलको सम्बन्ध गहिरिदों छ । उनी असंलग्न परराष्ट्र नीतिका पक्षधर हुन् । यस अवस्थालाई क्रमभंग गर्दै ब्राजिललाई अमेरिकासँग नजिक लैजाने फ्लाभियोको योजना थियो । उनले लुलाको कार्यकालमा अमेरिकासँग सम्बन्ध बिग्रिएको भन्दै त्यसलाई सुधार्ने वाचा गरेका थिए । फ्लाभियोले ब्राजिललाई लागूऔषध गिरोहविरुद्धको अमेरिकी सैन्य गठबन्धनमा समावेश गराउने योजना अघि सारेका थिए । तर, लुलाको विजयसँगै यस अभियान पूरा नहुने देखियो । ब्राजिलका महत्वपूर्ण खनिज पदार्थहरूमा सहज पहुँच बनाउने अमेरिकाको रणनीति पनि लुलाको विजयले चुनौतिपूर्ण बनेको विश्लेषकहरू बताउँछन् । चुनावी अभियानका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खुलेर फ्लाभियोको समर्थन गरे । फ्लाभियोका बाबु जैर बोल्सोनारो ब्राजिलको राष्ट्रपति छँदा ट्रम्पसँग उनको निकै निकै राम्रो सम्बन्ध थियो । जैर सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा लुलासँग पराजित भएका थिए । निर्वाचन नतिजा सार्वजनिक भइसकेपछि सैनिक ‘कु’ गरेर पदमै बस्न खोजेको अभियोगमा उनीविरुद्ध अदालतले २७ वर्ष ३ महिना जेल सजाय सुनायो । आफ्ना बाबुमाथि राजनीतिक प्रतिशोध साँधिएको फ्लाभियोले बताउँदै आएका छन् । उनले यस विषयलाई पनि चुनावी मुद्दा बनाएका थिए । प्रारम्भिक चरणको निर्वाचनमा फ्लाभियो लुलाभन्दा अगाडि थिए । तर, दोस्रो तथा निर्णायक चरणमा लुला नै विजयी भए । लुलाको यो विजयले पश्चिमी गोलार्धमा आफ्नो पकड बलियो बनाउने ट्रम्पको अभियानमा धक्का लागेको छ । यस जितले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र तथा धेरै जनसंख्या बसोबास गर्ने ब्राजिलले वासिङ्टनसँग ‘निकट होइन सन्तुलित’ सम्बन्ध राख्न चाहेको देखाउँछ । ल्याटिन अमेरिकामा आफ्नो वर्चस्व स्थापित गर्न भारी भन्सार शुल्क, कडा प्रतिबन्ध र सैन्य शक्ति प्रयोग गर्दै आएको ट्रम्प प्रशासनका लागि लुलाको जितले चुनौती थपेको विश्लेषकहरु बताउँछन् । लुलाले चुनावी अभियानकै दौरान अमेरिकाले ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका थिए । यसका बाबजुद दुबै पक्षबीच सहकार्य हुने आधारहरु पनि छन् । अमेरिकाले चीनमाथिको आफ्नो रक्षा उद्योगको निर्भरता घटाउन ब्राजिलको प्रचुर दुर्लभ खनिज (रेयर अर्थ) भण्डार उपयोग गर्न चाहेको छ । अर्कोतर्फ, लुला विदेशी लगानी र ब्राजिलका निर्यातकर्ताहरूका लागि भन्सार महसुलमा छुट चाहन्छन् । काउन्सिल अन फरेन रिलेसनका ल्याटिन अमेरिका विश्लेषक विल फ्रिम्यानका अनुसार ८१ वर्षका लुलाले ट्रम्प प्रशासनसँग व्यवहारिक रुपमा काम गर्ने क्षमता राख्छन् ।‘ट्रम्प प्रशासनका केही व्यक्तिसँग बोल्सोनारो परिवारको राम्रो सम्बन्ध थियो । तर, बृहत्तर रुपमा अमेरिकीहरुले दुई देशीय सम्बन्धको केन्द्रमा यो परिवारलाई राख्छन् जस्तो मलाई लाग्दैन,’ फ्रिम्यानले भने, ‘अमेरिकासँग लुलाले व्यवहारिक सम्बन्ध बनाउन चाहेका छन् । ’ अमेरिकाको नेतृत्वमा लागूऔषध गिरोहहरूलाई निशाना बनाउन गठन गरिएको सैन्य गठबन्धन ‘शिल्ड अफ द अमेरिकाज’ मा सामेल हुन ब्राजिलले अस्वीकार गरेको छ । यसले शक्तिशाली देशको दबाब–प्रभावमा नपर्ने र सह–अस्तित्वको सिद्धान्तमा अडिग रहने लुलाको प्रतिवद्धता उजागर गर्छ । गत मेइ महिनामा ट्रम्प प्रशासनले ब्राजिलका दुई ठूला आपराधिक गिरोह ‘फस्र्ट क्यापिटल कमान्ड’ र ‘रेड कमान्ड’लाई आतंककारी संगठन घोषणा गर्दा लुलाले आपत्ति जनाएका थिए । अमेरिकाले हस्तक्षेपका लागि विभिन्न बहाना बनाइरहेको उनले बताएका थिए । ‘हामीलाई बालबालिका जसरी गरिएको व्यवहार स्वीकार्य छैन,’ उनले आपराधिक गिरोहतर्फ लक्षित गर्दै भनेका थिए, ‘हामी तिनीहरूविरुद्ध आफ्नै घरभित्र लड्नेछौँ ।’ ल्याटिन अमेरिका विभिन्न देश हुँदै लागूऔषध र आप्रवासी ओसार–पसार हुने गरेको विषय लामो समयदेखि अमेरिकी राजनीतिको मुद्दा बन्दै गएको छ । ट्रम्पले यसलाई जोडदार रुपमा उठाउँदै सीमा क्षेत्रमा कडाई तथा आपराधिक गिरोहसँग लडाइँ गरिरहेका छन् । अमेरिकासँगको व्यापारिक सम्बन्धमा निर्भर देशहरुले यस विषयमा ट्रम्प प्रशासनसँग सहकार्य गरिरहेका छन् । इक्वेडरमा शंकास्पद लागूऔषध सञ्जालहरूमा छापा मार्न स्थानीय प्रहरीले अमेरिकी सेनाको साथ लिइरहेको छ । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथका अनुसार होन्डुरस, ग्वाटेमाला र कोलम्बियाले पनि संयुक्त सैन्य कारबाहीका लागि सहमति जनाएका छन् । यद्यपि ग्वाटेमाला सरकारले भने हेगसेथको दाबी खण्डन गर्दै त्यस्तो सहकार्य नभएको जनाएको छ । ‘ब्राजिल होन्डुरस होइन। यो ठूलो देश हो । जसको आफ्नै स्वतन्त्र इतिहास छ र यहाँको सेनाले आफ्नो भूभागमा विदेशी फौजको उपस्थितिलाई राम्रो मान्दैनन्,’ अमेरिकाज क्वार्टर्ली नामक नीतिगत म्यागेजिनका प्रधान सम्पादक तथा ल्याटिन अमेरिका विश्लेषक ब्रायन विन्टरले भने, ‘ट्रम्प प्रशासनले यहाँ संयमित भएर कदम चाल्नुपर्ने हुन्छ । सैन्य सहकार्यका लागि लुलालाई दबाब दिने बहाना पनि अमेरिकासँग कम छन् । किनकि, ब्राजिल भित्रिने अधिकांश कोकिन या त देशभित्रै खपत हुन्छ वा युरोप र अफ्रिकातिर पठाइन्छ । त्यहाँबाट अमेरिकातर्फ आउँदैन ।’ दुर्लभ खनिजमा अमेरिकाको आँखा अहिलेसम्मको अध्ययनअनुसार क्षेप्यास्त्र, स्मार्टफोन, हावाले चल्ने टर्बाइन र विद्युतीय सवारीसाधनमा प्रयोग हुने शक्तिशाली म्याग्नेट (चुम्बक) निर्माणका लागि आवश्यक दुर्लभ खनिज (रेयर अर्थ) को प्राकृतिक भण्डारमा ब्राजिल विश्वमै दोस्रो स्थानमा पर्छ । अत्याधुनिक हतियार र उपकरणहरु निर्माण गर्नका लागि आवश्यक पर्ने यस खनिजको ठूलो हिस्सा पहिलो स्थानमा रहेको चीनबाट अमेरिका र बाँकी विश्वमा जान्छ । यस निर्भरतालाई कम गर्न अमेरिकाले ब्राजिलको दुर्लभ खनिजमा आँखा लगाइरहेको छ । फ्लाभियो बोल्सोनारो राष्ट्रपतिमा विजयी भएको भए यहाँको दुर्लभ खनिजमा अमेरिकाको पहुँच सहज हुने थियो । लुलाको जीतले अमेरिकी रणनीतिमा धक्का लागेको छ । किनकि, लुलाले अमेरिकाबाहेक अन्य देशहरुमा पनि आफ्नो दुर्लभ खनिज स्वतन्त्रतापूर्वक बिक्री गर्ने सोच राखेका छन् । विगतमा अमेरिकाले दुर्लभ खनिजमा विषयमा गर्न खोजेका सम्झौताहरु उनले अस्विकार गरेका थिए । बरु, चीनको पहल बनेको वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेशन अर्गनाइजेशन (वाइको) मा ब्राजिल संस्थापक राष्ट्र हो । गत महिना, अमेरिकी सरकारको लगानी रहेको ‘यूएसए रेयर अर्थ’ कम्पनीले २.८ अर्ब डलरमा ब्राजिलको ‘सेरा भेर्डे’ कम्पनी पूर्ण रूपमा खरिद गरेको थियो यो कम्पनी चुम्बकका लागि चाहिने चारै प्रकारका रेयर अर्थ उत्पादन गर्ने एशियाबाहिरका थोरै कम्पनीमध्ये एक हो । अमेरिकाको बढ्दो भूमिकाबाट सशंकित बनेको लुला प्रशासनले महत्वपूर्ण खनिजहरूको निगरानी कडा पार्ने कानुनलाई तिव्र गतिमा अगाडि बढाएको छ । यसक्रममा लुला प्रशासनले सेरा भेर्डे रेयर अर्थ सम्झौताको पनि पुनरावलोकन गर्नसक्ने विश्लेषकहरुले बताएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार जेट, रकेट इन्जिन र अन्य सैन्य उपकरणका लागि अत्यावश्यक तत्व ‘नायोबियम’ को विश्वव्यापी उत्पादनमध्ये करिब ९० प्रतिशत ब्राजिलले गर्छ । ब्राजिलले यसको निर्यातमा कुनै प्रतिबन्ध लगाएमा अमेरिकी रक्षा उत्पादकहरूको आपूर्ति शृंखला प्रभावित हुन सक्छ । पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सकी वरिष्ठ अनुसन्धानकर्ता मोनिका दे बोलेले भनिन्, ‘ब्राजिलसँग बार्गेनिङ गर्ने बलियो आधार छ । लुला विजयी हुँदा अमेरिका कमजोर भएको छ ।’ आफ्ना कडा सार्वजनिक अभिव्यक्तिका बावजुद ब्राजिलका राष्ट्रपति लुलाले अमेरिकी राष्ट्रपति ट्रम्पसँग सम्बन्ध सुधारको पहल पनि गरिरहेका छन् । व्यापार, संगठित अपराध र महत्वपूर्ण खनिजबारे छलफल गर्न उनी गत मे महिनामा ह्वाइट हाउस भ्रमणमा गएका थिए । अमेरिकासँग सम्झौता गर्नका लागि आफ्नो पार्टी र परिवार नै सत्तामा आउनुपर्ने भाष्य निर्माण गरिरहेका फ्लाभियो बोल्सोनारोको दाबी यस भ्रमणले कमजोर बनाइदिएको थियो । राष्ट्रपतिमा लुला विजयी भएपनि संसद्मा बामपन्थीहरु अल्पमतमा छन् । भर्खरै सम्पन्न निर्वाचनमा तल्लो सदनमा बोल्सोनारोको लिबरल पार्टी पहिलो दल बनेको छ । माथिल्लो सदन सिनेटमा पनि यही पार्टी पहिलो दल बनेको छ । जसले नीति–निर्माणका लागि लुलालाई समस्यामा पार्नेछ । यसअघि तीन कार्यकाल राष्ट्रपति बनिसकेका लुलाका लागि यस कार्यकाल सबैभन्दा चुनौतीपूर्ण मानिएको छ । किनकि, महँगी र त्यसले जीवनयापनमा पारेको समस्याले ब्राजिलीहरु आक्रान्त छन् । उनीहरुका अपेक्षा पूरा गर्नु लुलाका लागि सहज छैन । फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीमा ब्राजिलियन अध्ययनका सहप्राध्यापक गुइल्हेर्मे कासारोएस भन्छन्, ‘लुलाका हातहरू बाँधिएका छन् । गत कार्यकालमा उनले गर्न खोजेका लगभग हरेक प्रयास कांग्रेसले रोकेको थियो । अब पनि रोक्नेछ ।’ ल्याटिन अमेरिकामा सत्तामा पुग्नासाथ पार्टी र गठबन्धनहरुबीच खटपट देखिने गरेको छ । चिली, बोलिभिया र पेरुमा अहिले सत्तामा रहेका दक्षिणपन्थीहरुले क्रमशः जनसमर्थन गुमाउँदैछन् । जबकि, केही समयअघि उनीहरुको उभार ठूलो थियो । ब्राजिलमा लुलाले सत्ताविरोधी दक्षिणपन्थी लहर चिर्न सफल भएका छन् । तर, मतदाताको अपेक्षा पूरा गर्ने क्रममा संसद् र ब्राजिलको छिमेकीहरुसँग विभिन्न मुद्दामा उनले सम्झौता गर्नुपर्ने हुन्छ । जसले उनको जनसमर्थन छिट्टै घट्न पनि सक्छ । एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ताजा खबरJust now

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

• मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। • मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ। • दुवै कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएका छन्। ...

नेपालबहस
दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो
ताजा खबरJust now

दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटासुमो गाडी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। उनीहरूको आफन्तले शव सनाखत गरेका प्रहरीले जनाएको छ। गत कात्तिक १ गते काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत नागथानबाट करिब २ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा तीन जना... ...

नेपालखबर
कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते
ताजा खबरJust now

कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते

काठमाडौं । चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रो बस आपसमा ठोकिँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान पौने ९ बजेतिर चितवनको इच्छाकामना- ४ धारापानीस्थित पृथ्वी राजमार्ग तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किएका हुन्। सर्लाही बाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती ...

केन्द्रबिन्दु
बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने
ताजा खबरJust now

बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। नक्सालस्थित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play