लामो बिदामा पारिवारिक भ्रमण गर्ने योजना छ ? यी हुन् १२ उपयुक्त गन्तव्य

काठमाडौं – दसैं–तिहार जस्तो लामो बिदामा परिवारको साथमा कतै घुम्न जाने योजना त बनाउनु भएको छैन ? सधैँ कामको चाप र तनावबीच आफू पनि फ्रेस हुने र परिवारलाई केही दिन प्रकृतिको काखमा वा ऐतिहासिक सम्पदाको दृश्यावलोकन गराउने योजना बनाउनु भएको छ यी गन्तव्य तपाईंको रोजाइका हुन सक्छन् । नेपालमा रमणीय गन्तव्यहरूको कुनै कमी छैन । कतै हिमालको काखमा सूर्योदय हेर्न पाइन्छ, कतै शान्त तालमा डुङ्गा सयर गर्न सकिन्छ । कतै बालबालिकालाई वन्यजन्तु, इतिहास र संस्कृतिसँग नजिकबाट परिचित गराउन सकिन्छ भने कतै धर्म र संस्कार सिकाउने तथा बुझाउने उपयुक्त ठाउँहरू प्रशस्त छन् । परिवारको उमेर, रुचि, बजेट र उपलब्ध समयअनुसार गन्तव्य छान्न सकिन्छ । दसैं–तिहारसँगै अरु लामो बिदालाई अझ विशेष बनाउन परिवारसँग घुम्न, रमाउन र मीठा सम्झना सँगाल्न सकिने यहाँ नेपालकै १२ आकर्षक गन्तव्यबारे चर्चा गरिएको छ । तालैतालको शहर पाखरा पोखरा परिवारसँग घुम्न जाने गन्तव्यमा सबैभन्दा पहिले सम्झन सकिने ठाउँ हो । फेवाताल र यसमा देखिने माछापुच्छ्रेको छायाँ, सराङकोटको सूर्योदय र लेकसाइडको झिलिमिली वातावरणले पोखराको यात्रालाई विशेष बनाउन सकिन्छ । परिवारसँग फेवातालमा डुङ्गा सयर गर्न, तालको बीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्न र ताल किनारमा बसेर हिमालको सुन्दरता नियाल्न सकिन्छ ।बालबालिकासँग अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, गुप्तेश्वर गुफा र डेभिड फल्स घुम्न जाँदा रमाइलोसँगै नयाँ कुरा सिक्ने अवसर पनि मिल्छ । अलि साहसिक अनुभव चाहनेले मौसम र सुरक्षाको अवस्था हेरेर प्याराग्लाइडिङ वा जिपलाइनको आनन्द लिन सकिन्छ । ज्येष्ठ नागरिक र साना बालबालिका साथमा छन् भने ताल किनारमा आराम गर्ने, मनपर्ने परिकार खाने र परिवारसँग फोटो खिच्ने योजनाले पनि भ्रमण उत्तिकै यादगार बनाउँछ । जङ्गल सफारीको आकर्षण चितवन बालबालिकालाई वन्यजन्तु, जङ्गल र प्रकृतिबारे प्रत्यक्ष अनुभव गराउन चाहने परिवारका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्ज र सौराहा क्षेत्र, एकसिंगे गैँडा, मृग, विभिन्न प्रजातिका चराचुरुङ्गी र अन्य वन्यजन्तु अवलोकन गर्ने उत्कृष्ट गन्तव्य चितवन बन्न सक्छ । चितवनमा परिवारसँग प्रकृतिमुखी सफारी, निर्देशित प्रकृति भ्रमण, थारू संस्कृति अवलोकन तथा स्थानीय परिकारको स्वाद लिन र राप्ती नदीको किनारमा सूर्यास्त नियाल्दै दिनभरको थकान मेटाउन सकिन्छ । शान्ति र आध्यात्मिकताको केन्द्र लुम्बिनी कोलाहलबाट टाढा शान्त वातावरणमा परिवारसँग समय बिताउन चाहनेका लागि लुम्बिनी उपयुक्त गन्तव्य हुनसक्छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलका रूपमा परिचित यस क्षेत्रले शान्ति, करुणा र मानवताको सन्देश दिन्छ । यहाँ मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र उद्यान र विभिन्न देशले निर्माण गरेका कलात्मक गुम्बाहरू अवलोकन गर्न सकिन्छ । फरक–फरक वास्तुकला र बौद्ध परम्पराको झलकले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई नयाँ अनुभव दिन्छ । यहाँको शान्त वातावरणमा परिवारसँग विस्तारै घुम्ने, केही समय ध्यान गर्ने, सुन्दर बगैँचामा विश्राम लिने र तस्बिर खिच्ने अवसर पाइन्छ । पुरानो बस्तीमा नयाँ अनुभूतिको थलो बन्दीपुर तनहुँको बन्दीपुर मौलिक नेवारी वास्तुकला, ढुङ्गा छापिएका सडक, पुराना घर र मनोरम पहाडी दृश्यका कारण आकर्षक गन्तव्य बनेको छ । आधुनिक सहरको भागदौडबाट केही समय टाढा बसेर परिवारसँग शान्त बिदा मनाउन चाहनेका लागि यो सुन्दर विकल्प हुनसक्छ । यहाँको पुरानो बजारमा हिँड्दै स्थानीय संस्कृति बुझ्न, परम्परागत घरहरूको बनोट नियाल्न र स्थानीय परिकारको स्वाद लिन सकिन्छ । मौसम सफा हुँदा वरपरका पहाडी भूभाग र हिमाली दृश्यले यात्रालाई थप रमणीय बनाउँछ । हिमालपारिको अनुपम संसार जोमसोम र मुक्तिनाथ दसैं–तिहारको आसपास मौसम अनुकूल भएमा मुस्ताङको यात्रा रोमाञ्चक हुन्छ । मरुभूमि जस्तो भूगोल, नीलगिरि र धौलागिरि हिमालका दृश्य, कालीगण्डकीको किनार र परम्परागत बस्तीको कारण मुस्ताङ अरू गन्तव्यभन्दा फरक हुनसक्छ । परिवारसँग जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्र घुम्न सकिन्छ । मार्फाका परम्परागत घर र स्याउका बगैँचा हेर्नु, स्थानीय परिकारको स्वाद लिनु र हिमाली जीवनशैली बुझ्नु यात्राका विशेष आकर्षण हुन् । मुक्तिनाथ मन्दिर पुग्दा धार्मिक आस्थासँगै हिमाली भूगोलको अनुभव पनि लिन सकिन्छ । तर मुक्तिनाथ उच्च स्थानमा पर्ने भएकाले साना बालबालिका, ज्येष्ठ नागरिक वा स्वास्थ्यसम्बन्धी विशेष आवश्यकता भएका सदस्यसँग यात्रा गर्दा थप सावधानी अपनाउनुपर्छ । बादलमाथिको यात्रा गर्न कालिञ्चोक दोलखाको कालिञ्चोक धार्मिक आस्था र हिमाली दृश्यको आनन्द एकैसाथ लिन सकिने गन्तव्य हो । कालिञ्चोक भगवतीको दर्शनसँगै मौसम सफा हुँदा वरपरका हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । परिवारसँग छोटो बिदामा पहाडको चिसो हावा, प्राकृतिक दृश्य र धार्मिक यात्राको अनुभव लिन चाहनेका लागि यो आकर्षक विकल्प हो । केबलकार सञ्चालनमा रहेको अवस्थामा त्यसबाट दृश्यावलोकन गर्न सकिन्छ । मिथिला संस्कृति बुझ्न जनकपुरधाम धार्मिक, सांस्कृतिक र ऐतिहासिक अनुभवलाई प्राथमिकता दिने परिवारका लागि जनकपुरधाम उत्कृष्ट गन्तव्य हुनसक्छ । जानकी मन्दिर यसको मुख्य आकर्षण हो । यहाँको मिथिला कला, परम्परागत संस्कृति, स्थानीय बजार र खानपानले यात्रालाई अझ स्वादिलो बनाउँछन् । परिवारसँग जानकी मन्दिर दर्शन गर्ने, मन्दिर परिसरको वास्तुकला नियाल्ने, मिथिला चित्रकलाबारे बुझ्ने र स्थानीय परिकारको स्वाद लिने योजना लिएर जनकपुरधामको भ्रमण गर्न सकिन्छ । छठ पर्व वा अन्य धार्मिक अवसर आसपास जाने हो भने भीड र आवासको उपलब्धतालाई ध्यान दिनुपर्छ । बालबालिकालाई मिथिला संस्कृति, राम–सीताको कथासँग जोडिएका परम्परा र स्थानीय कलाबारे बताउने राम्रो अवसर पनि हुनसक्छ यो यात्रा । धर्तीमै स्वर्गको अनुभूति गर्न रारा ताल नेपालकै सबैभन्दा ठूलो ताल हो रारा । नीलो पानी, वरपरका हरिया वन, शान्त वातावरण र मौसमअनुसार बदलिने प्राकृतिक रङले रारा ताल विशेष देखिन्छ । लामो बिदा उपलब्ध छ र यात्रा योजनाबद्ध गर्न सकिन्छ भने परिवारसँग रारा जानु जीवनभर सम्झनलायक अनुभव हुनसक्छ । तालको किनारमा हिँड्ने, प्राकृतिक दृश्य नियाल्ने, चराचुरुङ्गी अवलोकन गर्ने र सहरको कोलाहलबाट टाढा बसेर समय बिताउने यहाँका प्रमुख आकर्षण हुन् । यद्यपि रारा पुग्न समय, खर्च र यातायातको योजना आवश्यक हुन्छ । साना बालबालिका वा ज्येष्ठ नागरिक साथमा छन् भने लामो यात्रा, उचाइ र स्वास्थ्य अवस्थालाई विशेष ध्यान दिनुपर्छ । गुरुङ संस्कृतिसँग सामिप्य हुन घान्द्रुक कास्कीको घान्द्रुक गुरुङ समुदायको संस्कृति, परम्परागत घर र अन्नपूर्ण हिमशृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न परिचित छ । प्रकृति, संस्कृति र गाउँले आतिथ्यको अनुभव लिन चाहने परिवारका लागि यो आकर्षक गन्तव्य हो । यहाँ परम्परागत बस्तीमा घुम्न, स्थानीय खानाको स्वाद लिन, गुरुङ संस्कृतिबारे बुझ्न र मौसम सफा हुँदा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । स्थानीय होमस्टेमा बस्दा गाउँको जीवनशैलीसँग नजिक हुने अवसर पनि मिल्छ । चियाबारीमा रम्न इलाम पूर्वी नेपालको इलाम हरिया चियाबारी, डाँडाकाँडा, कुहिरोले ढाकिएका दृश्य र शान्त वातावरणका लागि लोकप्रिय छ । परिवारसँग प्रकृतिको आनन्द लिन र दैनिक व्यस्तताबाट केही समय विश्राम गर्न चाहनेका लागि इलाम सुन्दर गन्तव्य हो । कन्यामको चियाबारीमा घुम्ने, श्रीअन्तुबाट सूर्योदय हेर्ने, माईपोखरीको प्राकृतिक वातावरण नियाल्ने र स्थानीय बजारमा चिया तथा अन्य उत्पादनबारे बुझ्ने योजनासहित इलामको भ्रमण गर्न सकिन्छ । बालबालिकासँग चियाखेतीको प्रक्रिया बुझ्ने, खुला ठाउँमा समय बिताउने र परिवारका सदस्यसँग तस्बिर खिच्ने अवसर पनि पाइन्छ । सूर्योदय र सूर्यास्त एकैठाउँबाट हेर्न नगरकोट काठमाडौं उपत्यका नजिकै रहेको नगरकोट छोटो बिदामा परिवारसँग घुम्न जान सकिने लोकप्रिय गन्तव्य हो । यहाँबाट मौसम सफा हुँदा हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । त्यस्तै बिहानको सुन्दर सूर्योदय र साँझ सूर्यास्त हेर्न सकिन्छ । लामो यात्रा गर्न समय नहुने परिवारले एक वा दुई दिनको भ्रमणमा नगरकोट समेट्न सकिन्छ । शान्त वातावरणमा होटल तथा रिसोर्टमा बसेर परिवारसँग खाना खाने, खुला वातावरणमा समय बिताउने, तस्बिर खिच्ने र बिहानको शीतल हावामा रमाउने अनुभव यहाँको मुख्य आकर्षण हो । इतिहास बुझ्दै प्रकृतिको आनन्द संगाल्न सिन्धुलीगढी इतिहास र प्रकृतिमा रुचि राख्ने परिवारका लागि सिन्धुलीगढीको भ्रमण गर्न सकिन्छ । नेपाल–अंग्रेज युद्धको इतिहाससँग जोडिएको यस क्षेत्रको भ्रमणबाट नेपालको वीरता, रणनीति र ऐतिहासिक घटनाबारे बुझ्ने अवसर दिन्छ । परिवारसँग सिन्धुलीगढीका ऐतिहासिक संरचना अवलोकन गर्ने, सङ्ग्रहालय तथा उपलब्ध व्याख्यात्मक सामग्रीबाट इतिहास बुझ्ने र वरपरको प्राकृतिक दृश्यमा रमाउने योजना बनाउन सकिन्छ । बालबालिकाका लागि यो घुमघामसँगै पाठ्यपुस्तक बाहिरको सिकाइ पनि बन्न सक्छ।पारिवारिक भ्रमणको लागि विशेष सुझाव भ्रमणमा निस्कनुअघि सडकको अवस्था र मौसम बुझ्नुसु । चिसो मौसममा यात्रा गर्दै हुनुहुन्छ भने चिसोबाट जोगिने कपडा लैजानुहोस् र उचाइमा असहज महसुस भएमा जबरजस्ती यात्रा गर्ने धृष्टता नगर्नुस् ।कम्तीमा पाँचदेखि सात दिनको यात्रा योजना बनाउनुस् । सडक, उडान र मौसमसम्बन्धी जानकारी बुझेर आवासको व्यवस्था पहिल्यै मिलाउनुस् । हिँडडुल गर्न सहज हुने जुत्ता लगाउनुहोस् । साना बालबालिका र ज्येष्ठ नागरिकसँग जाँदा पदमार्गको अवस्था बुझेर कम हिँड्नुपर्ने विकल्प छान्नुस् ।व्यावहारिक दैनिक यात्रा तालिका बनाउनुस् । दृश्यावलोकन प्रभावित पार्न सक्ने भएकाले मौसम बुझेर यात्रा गर्नु राम्रो हुन्छ । सूर्योदय र सूर्यास्त हेर्न चाहनुहुन्छ भने मौसमको पूर्वानुमान हेर्नुस् । चाडपर्वको समयमा होटल तथा रिसोर्टमा भीड हुनसक्ने भएकाले अग्रिम बुकिङ गर्नु राम्रो हुन्छ । कतै चाडपर्वमा होटल तथा रिसोर्ट बन्द पनि हुन सक्ने भएकाले पूर्वजानकारी लिएर यात्रा गर्ने गर्नुस् ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

बाढी र पहिरोले गण्डकी र कर्णालीका सडक अवरुद्ध
काठमाडौँ। बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गोरखाकै ...

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ। बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो। असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्याएको छ। धेरै बस्ती पहिरोको ...

रुस–युक्रेन युद्ध अन्त्य गर्न वार्ताको सम्भावना बढेको ट्रम्पको सङ्केत
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन् । उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे । ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताए । ...

समय चिनाइरहेको भानु चोक
भानु चोक केवल एउटा चौराहा मात्र होइन । यो धरानको धड्कन हो । जहाँ समय चल्छ, मानिस बग्छन् र कथा जन्मिन्छन् । यही चोकको बीचमा उभिएको छ घण्टाघर, जो धरानको पहिचान बोकेको एक सशक्त प्रतीक हो । ...


