विराटनगर। झिलिमिलीको चाड तिहार पर्व सुरू भएको छ। दीपावलीको उज्यालोसँगै नेपाली समाजमा विभिन्न सांस्कृतिक परम्परा र विधिहरू जोडिएका छन्, जसमध्ये लक्ष्मीपूजाका दिन घर र पसलको मूलढोकामा केराको थम्बा (बोट) गाड्नु एक प्रमुख धार्मिक अनुष्ठान मानिन्छ। यही धार्मिक आस्था र परम्परालाई व्यापारमा बदलेर सुनसरीका विजयकुमार मेहता विगत पाँच वर्षदेखि विराटनगरका बजारमा केराको थम्बा विक्री गरिरहेका छन्। तिहारको दोस्रो दिन अर्थात् लक्ष्मीपूजाको बिहानै विराटनगरका मुख्य बजार क्षेत्रहरूमा केराको हरियो थम्बा बेच्नेहरूको भिड देखिन्छ। यसै क्रममा सुनसरीको देवानगन्जबाट एक ट्र्याक्टर केराको थम्बा लिएर विराटनगर आइपुगेका विजयकुमार मेहताको व्यस्तता अहिले पत्याइ नसक्नुको छ। लक्ष्मीपूजाको अघिल्लो दिन अर्थात् गाईपूजाको दिनदेखि नै मेहता परिवार र उनका सहयोगीहरूको जाग्राम सुरु हुन्छ। आफ्नै केरा बगानबाट सुदृढ र आकर्षक केराका बोटहरू छानेर काट्नु उनीहरूको मुख्य तयारी हो। “लक्ष्मीपूजाको दिन घर र पसलमा अनिवार्य रूपमा पूजा गर्नका लागि केराको थम्बाको माग हुन्छ,’’ आफ्नो व्यस्तताबीच मेहताले भने, “त्यसैले हामीले अघिल्लो दिनदेखि नै तयारी गर्छौं। रातिसम्म केराको थम्बा काटेर गाडीमा लोड ग¥यौं र आज (आइतबार) बिहान सबेरै उज्यालो नहुँदै विराटनगरको बजारमा आइपुग्यौं।’’ उनले यस पटक एक ट्रयाक्टर थम्बा बिक्रीका लागि ल्याएका छन्। बिहान ८ बजेसम्ममा ल्याइएको परिमाणको आधाभन्दा बढी बिक्री भइसकेको छ। तीन जना सहयोगीसहित विराटनगर आएका मेहता दिउँसोसम्ममा सबै थम्बा बिक्री भईसक्ने विश्वास व्यक्त गर्छन्। उनीसँगै सुनसरी र मोरङका विभिन्न ग्रामीण क्षेत्रका किसान तथा व्यापारीहरू पनि यसरी केराको थम्बा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्। केराको थम्बाको धार्मिक र सांस्कृतिक विशेषताहिन्दू धर्मावलम्बीहरूले तिहारको लक्ष्मीपूजाको दिनलाई विशेष महत्वका साथ मनाउँछन्। यस दिन धनकी देवी लक्ष्मीको स्वागतका लागि घर र पसलको मुख्य प्रवेशद्वारमा केराको थम्बा (बोट) खडा गर्ने परम्परा सदियौँदेखि चलिआएको छ। धार्मिक मान्यता अनुसार केराको बोटलाई समृद्धिको प्रतीक मानिन्छ। केराको रूख कहिल्यै मरेर नसकिने र यसले सधैँ नयाँ पालुवा (सन्तान) जन्माइरहने भएकाले यसलाई वंश वृद्धिको, अटुट समृद्धिको र शुभको प्रतीकको रूपमा लिइन्छ। पूजाको बेला मूल ढोकाको दायाँ–बायाँ केराको खम्बा राखेर सेलरोटी, फलफूल र मैनबत्ती बालेर लक्ष्मीको आह्वान गरिन्छ। यस बाहेक, केराको थम्बाले वातावरणलाई चिसो र सुवासित बनाउने तथा आगन्तुकलाई स्वागत गर्ने परम्परागत सौन्दर्य पनि बोकेको छ। मेहताको ट्रयाक्टरमा करिब ५०० देखि ६०० वटासम्म केराका बोटहरू छन्। आकार र गुणस्तरका आधारमा उनले प्रतिगोटा १५० देखि २०० रुपैयाँसम्ममा थम्बा बिक्री गरिरहेका छन्। एक ट्रयाक्टर केराको थम्बा बिक्री हुँदा समग्रमा ३० हजारदेखि ४० हजार रुपैयाँसम्मको कारोबार हुने गरेको मेहताको अनुभव छ। ढुवानी खर्च, कामदारको ज्याला र अन्य फुटकर खर्च कटाएर एकै दिनमा १० हजारदेखि १३ हजार रुपैयाँसम्म खुद कमाइ हुने उनी बताउँछन्। “वर्षभरिमा एक पटक आउने यो चाडमा थोरै लगानी र मेहनतबाट राम्रै आम्दानी हुन्छ,’ मेहताले खुसी साट्दै भने, “आफ्नै खेतको उत्पादनले बजार पाएको छ, यसले दसैँ–तिहारको खर्च सहजै धानेको छ।’’ केराको थम्बा बिक्री गर्ने यो व्यवसाय केवल धार्मिक कर्मकाण्डको पाटो मात्र होइन, यसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन समेत महत्वपूर्ण भूमिका खेलेको छ। सुनसरी र मोरङका किसानहरूले केरा खेतीबाट फल मात्र नभई यसका बोट (थम्बा) बाट समेत मौसमी आम्दानी लिन थालेका छन्। ‘‘तिहारको समयमा सहरका चोक–चोकमा हरिया केराका थम्बा ठड्याइएको दृष्यले एकातिर सहरको सांस्कृतिक स्वरूपलाई जीवन्त राखेको छ,’’ विराटनगरका स्थानीय मोहन खड्काले भने, ‘‘लक्ष्मीपूजाको दिनको सहर क्षेत्रमा रातीको समयमा छुट्टै मनमोहक दृश्य देखिन्छ।’’
लक्ष्मीपूजामा केराको थम्बाको व्यापार

Read Complete Original Article
Published originally on नेपालन्युज






