काठमाडौं । उपत्यकामा तिहारको रौनकसँगै यतिबेला सडक, गल्ली र तोकिएका बजारहरू सयपत्री र मखमली फूलको सुवासले मगमगाएका छन् । घर आँगन सजाउन, लक्ष्मीपूजा गर्न र भाइटीकामा दाजुभाइ–दिदीबहिनीबीच माया र सद्भावको प्रतीकका रूपमा लगाइदिने फूलमाला किन्न राजधानीका मुख्य बजारहरूमा सर्वसाधारणको भीड लागेको छ । सडक आवागमन व्यवस्थित बनाउन काठमाण्डौ महानगरपालिका तथा उपत्यकाका अन्य नगरपालिकाहरूले खुला चौर, फुटपाथ नजिकका खुला भाग तथा तोकिएका स्थलहरूमा मात्रै फूलमाला बिक्रीको व्यवस्था मिलाएका छन् । मुख्य चोकहरूमा किसान तथा खुद्रा व्यापारीहरूले सयपत्री र मखमलीका लस्करै माला झुन्ड्याएर पसल थापेका छन् । उपत्यकाका किसान मात्र नभई धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र भक्तपुरको गुन्डुबाट किसानहरू आफैँ फूलका ठूला–ठूला थुङ्गा र उनिएका ताजा माला लिएर राजधानी भित्रिएका छन् । व्यापारीहरू सुइरो र सेतो धागोको सहायताले ग्राहककै अगाडि फटाफट नयाँ माला उन्दै दिइरहेका छन् । साना नानीबाबुदेखि वृद्ध वृद्धासम्म सबैजना माला उन्ने र बेच्ने काममा रमाइरहेका देखिन्छन् । सडकमा गुड्ने मोटरसाइकल तथा स्कुटर चालकहरू सवारी छेउमै रोकेर ताजा माला छान्दै मोलमोलाइ गरिरहेका छन् । कोही दाजुभाइका लागि मखमलीका नओइलाउने माला छान्दैछन् भने कोही घरको मूलढोका र झ्याल सजाउन पहेँलपुर सयपत्रीका लामो–लामो माला किन्दैछन् । प्लास्टिकका कृत्रिम मालाको आयात र बिक्रीमा कडाइ गरिएकाले पनि यस पटक स्थानीय प्राकृतिक फूलको माग र व्यापार निकै फस्टाएको व्यापारीहरू बताउँछन् । The post लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार (फोटो फिचर) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार (फोटो फिचर)

Read Complete Original Article
Published originally on कर्पोरट खबर






