पोल्याण्ड।पोल्याण्डको क्राको सहरस्थित व्यस्त मुख्य चोकमा शनिबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। प्रहरीका अनुसार, २५ वर्षीय आक्रमणकारी अति–दक्षिणपन्थी तथा अति–राष्ट्रवादी विचारधाराबाट प्रभावित थिए। पोल्याण्डका रक्षामन्त्रीले ‘आतंकवादी कार्य’ भनेको उक्त आक्रमण क्राकोको प्रमुख पर्यटकीय क्षेत्र ओल्ड टाउनस्थित मेन स्क्वायरमा भएको हो। आक्रमणकारीले चोकका विभिन्न स्थानमा गाडी रोकेर स्वचालित हतियारबाट गोली चलाएका थिए। प्रहरीको जवाफी कारबाहीमा उनी घाइते भएका छन्। गृहमन्त्री मार्सिन किएरविन्स्कीले आक्रमणकारी अत्यन्त कट्टर र अति–राष्ट्रवादी विचार राख्ने व्यक्ति भएको बताए । “सबै कुराले उनी अति–दक्षिणपन्थी विचारधाराबाट प्रभावित थिए भन्ने देखाउँछ,” उनले पत्रकार सम्मेलनमा भने। प्रधानमन्त्री डोनाल्ड टस्कले आक्रमण भएको केही घण्टापछि आक्रमणकारीको घरबाट उनका तीन जना नजिकका नातेदारको शव फेला परेको जानकारी दिए। ती शव ओस्ट्रोभिएच स्विएन्तोक्रिज्स्की सहरस्थित घरमा भेटिएका थिए। मृतकमध्ये दुई महिला र एक पुरुष छन्। क्राकोमा भएको आक्रमणमा चार महिला र दुई पुरुषको मृत्यु भएको छ। मृतकमध्ये कम्तीमा तीन जना पोलिश र एक जना बेलायती नागरिक रहेको अधिकारीहरूले बताएका छन्। अन्य दुई जनाको पहिचान खुलाउने प्रयास भइरहेको छ। घाइतेमध्ये १३ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो। आक्रमणकारीको पनि शल्यक्रिया गरिएको छ। घाइतेमध्ये पाँच जना विदेशी नागरिक रहेको प्रहरी कमाण्डर मारेक बोरोनले बताए। दुई प्रहरी अधिकारी समेत गम्भीर घाइते भएका छन्। प्रहरी प्रवक्ता कातारजिना सिस्लोका अनुसार, आक्रमणकारीले सैनिक पोसाकजस्तो कपडा र बुलेटप्रुफ भेस्ट लगाएका थिए। उनको गाडीबाट थप हतियार र गोलीगठ्ठा बरामद भएको छ। प्रारम्भिक अनुसन्धानमा उनी एक्लैले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियोमा मानिसहरू चोकबाट भाग्दै गरेको र उद्धारकर्मीले घाइतेको उद्धार गरिरहेको देखिन्छ। क्राकोका मेयर लुकास गिबालाले बुधबारसम्म सहरमा आधिकारिक शोक मनाइने घोषणा गरेका छन्। घटनापछि राजधानी वार्साका मेयर राफाल ट्रास्काओस्कीले पुरानो सहरका मुख्य सडकमा अवरोधक राख्नेलगायत सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्। हेगस्थित अन्तर्राष्ट्रिय आतंकवादविरोधी केन्द्रका अनुसन्धानकर्ता कास्पर रेकावेकले आक्रमणकारीको स्वरूप र हतियार युरोपका अन्य अति–दक्षिणपन्थी एकल आक्रमणकारीसँग मिल्दोजुल्दो रहेको बताए। उनका अनुसार पोल्याण्डमा यस्ता आक्रमणका प्रयास यसअघि पनि भएका थिए। पोल्याण्डमा सामूहिक गोलीकाण्ड दुर्लभ मानिन्छ। –रासस /एपी
पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






