नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने उद्देश्यले उम्मेदवारहरूको समूह बनाएर मात्रै राजनीतिक पार्टी निर्माण नहुने टिप्पणी गरेका छन् । उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै विभिन्न व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सारेर चुनाव लड्ने समूह बनाउँदैमा पार्टी संगठन बलियो नहुने बताएका हुन् ।

पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न संगठन निर्माण र परिचालनमा सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

‘आगामी स्थानीय तहको निर्वाचनमा हामी जित्नैपर्ने छ । हामीसँग लड्न आउनेहरु यो निर्वाचनमार्फत सङ्गठन बनाउन खोज्दैछन्, हामी एउटा सशक्त सङ्गठन लिएर चुनावमा जाँदै छौँ,’ उनले भने ।

विभिन्न ठाउँका प्रभावशाली व्यक्तिलाई उम्मेदवारका रूपमा खोजेर चुनाव लड्ने समूह बनाउने प्रयास भइरहेको टिप्पणी गर्दै ओलीले त्यसले पार्टीको स्वरूप लिन नसक्ने बताए ।

‘विभिन्नतिरका विभिन्न व्यक्तिहरू यसो प्रभावकारी उम्मेदवार पाइन्छ कि भनेर खोजेर त्यस्ता उम्मेदवार बनाएर चुनाव लड्ने क्लब बनाएर हिड्या छन्, पार्टी त बन्दैन अहिले । त्यसकारण उनीहरु क्लव बनाएर चुनाव लड्ने गरी जाँदैछन्,’ ओलीले भने ।

उनले एमाले सशक्त संगठनसहित निर्वाचनमा होमिने दाबी गर्दै त्यसका लागि नेता तथा कार्यकर्तामा आत्मविश्वाससँगै सक्रियता र क्रियाशीलता आवश्यक रहेको बताए ।

‘एउटै मात्रै कुराको, हामीमा आत्मविश्वास र त्यो आत्मविश्वासलाई फलीभूत पार्नका लागि हामीसँग सक्रियताको आवश्यकता छ, क्रियाशीलताको आवश्यकता छ। चुनावसम्म हामी आराम गर्दैनौँ, केही महिना बाँकी छ । आरामको जिन्दगी होइन, परिश्रमको जिन्दगी, सक्रियताको जिन्दगी स्थानीय निकायको निर्वाचनमा भव्य सफलता प्राप्त गर्दासम्म हाम्रो अभियान जारी रहनेछ र हामी त्यसरी अगाडि बढ्नेछौँ,’ उनले भने ।

ओलीले विगतमा निर्वाचन एमालेका लागि असहज भए पनि अहिले नेता तथा कार्यकर्तामा जित्ने आत्मविश्वास बढेको बताए । त्यसलाई परिणाममा बदल्न निरन्तर परिश्रम र सक्रियता आवश्यक रहेको उनको भनाइ थियो । आगामी स्थानीय तहसहितका निर्वाचनलाई एमालेले जित्नैपर्ने लक्ष्यका रूपमा लिएको उनले बताए ।

रास्वपालक्षित ओलीको टीप्पणी- चुनाव लड्ने क्लब बनाएर पार्टी बन्दैन

Read Complete Original Article
Published originally on पर्दाफास