Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/रासायनिक मलको विकल्पमा प्रयोग हुँदै गड्यौले मल

रासायनिक मलको विकल्पमा प्रयोग हुँदै गड्यौले मल

10/23/2026, 4:55:35 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
रासायनिक मलको विकल्पमा प्रयोग हुँदै गड्यौले मल

कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने गरेका छन् । रासायनिक मलको अभावमा स्याङ्जाका कृषक विकल्पका रूपमा गड्यौले मलको प्रयोग गर्नेतर्फ आकर्षित भएका हुन् । गड्यौले मलमा अन्य जैविक मलको तुलनामा बिरुवालाई चाहिने अधिक तथा सूक्ष्म पोषक तत्त्वलगायत सूक्ष्म तत्त्व अधिक मात्रामा पाइने भएकाले रासायनिक मलको विकल्पमा गड्यौले मलको प्रयोग बढ्दै गएको हो । गड्यौले मल एक प्रकारको जैविक मल हो, जुन केही विशेष प्रकारका गड्यौला प्रयोग गरी उत्पादन गर्ने गरिन्छ । गड्यौलालाई खानाका रूपमा गाई, भैँसीको गोबर, घरबाट निस्केका सड्नेगल्ने खालका तरकारीका छिल्का, बोक्रा, पात, केराको थाम प्रयोग गर्ने गरिन्छ । पछिल्लो समय किसानले रासायनिक मलबाट बिग्रेको माटोलाई अर्गानिक गड्यौले मल तथा कम्पोस्ट मलको प्रयोग गरी माटोको जीवन बचाउनका लागि पनि गड्यौले मलको प्रयोगलाई बढाउँदै लगेका छन् । कृषकले समयमा रासायनिक मल नपाउने र गड्यौले मललाई विकल्पका रूपमा प्रयोग गर्न सकिने भएकाले स्याङ्जाको वालिङमा गड्यौले मलको व्यावसायिक उत्पादन थालिएको छ । वालिङमा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गड्यौले मलको व्यावसायिक उत्पादनमा जोड दिएसँगै कृषक यसतर्फ आकर्षित भएका हुन् । २०७७ सालमा स्थापना भएको सहकारीले २०७९ सालदेखि सहकारीमा आबद्ध रहेका सेयर सदस्य तथा अगुवा कृषकलाई भेला गरी गड्यौले मलको व्यावसायिक उत्पादन र त्यसबाट हुने आम्दानीका बारेमा प्रशिक्षण सञ्चालन गरेसँगै यहाँका कृषक व्यावसायिक रूपमा अगाडि बढेका संस्थाका अध्यक्ष यामबहादुर गुरुङले बताए । सहकारीले सुरुका दिनमा सेयर सदस्य तथा अगुवा २६० जना कृषकलाई गड्यौला पालनसम्बन्धी तालिम दिएको थियो । तालिमपश्चात् उनीहरूलाई गड्यौलाको बीउ तथा गड्यौला पालनका लागि आवश्यक पर्ने पिट उपलब्ध गराएको थियो । सहकारी आफैँले पनि जग्गा भाडामा लिएर व्यावसायिक उत्पादन गर्दै आएको छ । “सहकारीमार्फत उत्पादन भएको गड्यौलाको बीउ तथा गड्यौलाको मल बिक्री हुँदै आएको छ”, अध्यक्ष गुरुङले भने, ‘सुरुका दिनमा गड्यौलाको मलका बारेमा कृषकलाई बुझाउन समस्या थियो, पछिल्लो समय बुझेपछि मागअनुसार पुर्‍याउन हम्मेहम्मे परेको छ ।’ सहकारीमा आबद्ध कृषकले उत्पादन गरेको गड्यौले मल तथा बीउ कृषक आफैँले पनि बिक्री गर्न सक्ने र बिक्री गर्न नसकेको खण्डमा सहकारीमार्फत बजारीकरणको व्यवस्था मिलाउँदै आएको छ । कृषकले उत्पादन गरेको मल आफ्नो खेतबारीमा प्रयोग गर्न पनि सक्ने र बाँकी रहेको मल बिक्री गरेर आम्दानी लिन सक्ने भएकाले कृषक पछिल्लो समय गड्यौले मलतर्फ आकर्षित भएका हुन् । सहकारीले वालिङ–८ खेलमैदान नजिकै पाँच वर्षलाई तीन रोपनी जग्गा भाडामा लिएर गड्यौले मल तथा बीउ उत्पादन गरिरहेको छ । ठूला २७ र साना १८ वटा गरी कुल ४५ वटा पिटमार्फत मल र बीउ उत्पादन गरिरहेको हो । सहकारीमार्फत मासिक छ हजार केजी र वार्षिक ६५ हजारदेखि ७५ हजार केजीसम्म मल उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको मल सेयर सदस्यलाई प्रतिकेजी रु ३० र अन्य उपभोक्तालाई प्रतिकेजी रु ३५ का दरले बिक्री गर्दै आएको छ । “रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति बिग्रिँदै गएको छ”, अध्यक्ष गुरुङले भने, ‘रासायनिक मलको जथाभावी प्रयोगमा न्यूनीकरण गर्दै माटो बचाउनुका साथै वातावरण संरक्षण गर्ने लक्ष्य र उद्देश्यसहित अगाडि बढेका छौँ ।’ वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक रूपमा थालेको गड्यौला मल तथा बीउ उत्पादन कार्यमा वालिङ नगरपालिकाको कार्यालय, कृषि विकास कार्यालय स्याङ्जा, हेफर इन्टरनेसनल, आस्क नेपाल, आईडीई नेपाललगायतका सङ्घसंस्थाले आर्थिक, प्राविधिक तथा बजारीकरणमा सहयोग गर्दै आएका छन् । सहकारीमार्फत गड्यौले मल तथा बीउको व्यावसायिक उत्पादनसँगै यसको अध्ययन अवलोकनका लागि टाढाटाढाबाट विभिन्न सङ्घसंस्था तथा कृषक समूह आउने गरेका छन् । यहाँ सिकेका सीपलाई आफ्नो ठाउँमा लगेर प्रयोग गर्न थालेसँगै यसलाई गड्यौले मल तथा बीउको अध्ययन पाठशालाका रूपमा विकसित गर्ने गरी योजना अगाडि बढाइरहेको अध्यक्ष गुरुङले बताए । नयाँ र नौलो प्रकृतिको व्यवसायप्रति पछिल्लो समय आकर्षण बढ्दै जाँदा आम्दानीको स्रोतका रूपमा पनि गड्यौले मल तथा बीउलाई लिन थालिएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ कुश्माचोकका हृदयश बर्माले पनि गड्यौले मल उत्पादन थाल्नुभएको छ । एकीकृत हातेमालो समाज नेपाल नामक संस्थामा आबद्ध व्यावसायिक कृषक बर्माले वालिङमा गरिएको गड्यौलापालनको अवलोकनपछि प्रेरित भई गड्यौलापालन थालेका हुन् । ‘झन्डै १२ कट्ठामा व्यावसायिक रूपमा काँक्रा खेती गर्दै आएको छु, उनले भने, काँक्रा खेतीमा रासायनिक मलको प्रयोग गर्दा उत्पादन खासै राम्रो भएन, गड्यौले मलको प्रयोगले उत्पादन दोब्बर भयो, माटोको उर्वराशक्ति पनि बढेको महसुस गरेको छु ।’ अहिले आफूलाई पुग्ने गरी मात्रै गड्यौले मल उत्पादन गरेका बर्माको आगामी दिनमा उत्पादन वृद्धि गर्ने योजना छ । उत्पादन वृद्धि भएसँगै आफूले प्रयोग गरेर रहेको मल बिक्री गर्ने सोचमा उनी छन् । ‘पछिल्लो समय गाउँघरबाट गाईगोरु, भैँसी पाल्ने क्रम हराउँदै गएको छ”, बर्माले भने, “खेतीपातीका लागि मल नभई भएन, मलका लागि गड्यौलापालन उपयुक्त लाग्यो, वालिङ गएर हेर्‍यौँ र फर्केसँगै अहिले गाउँमा गड्यौलापालन गर्ने धेरै हुनुहुन्छ, अरू पनि क्रमशः जोडिँदै हुनुहुन्छ ।’ स्याङ्जाको वालिङ–५ पित्लेकस्थित जनकल्याण कृषि सहकारीमा आबद्ध व्यावसायिक कृषकले पनि गड्यौलापालन गर्दै आएका छन् । कृषिको पकेट क्षेत्रका रूपमा पहिचान बनाएको पित्लेकका कृषकले आफ्नो बारीमा तरकारीबालीमा प्रयोग गर्नका लागि गड्यौला मल उत्पादन गर्दै आएका हुन् । यहाँका कृषकले व्यावसायिक रूपमा पनि गड्यौलापालन गर्दै आएको सहकारीका व्यवस्थापक एवम् अगुवा कृषक हुमनाथ लामिछानेले बताए । ‘सहकारीमा आबद्ध ८/१० जना कृषकले गड्यौलापालन गर्दै आएका छन्, कृषक लामिछानेले भने, उहाँहरूले तरकारी उत्पादनका लागि प्रयोग गर्नुहुन्छ भने बाँकी रहेको मल वालिङ प्रोडक्ट होल्डिङमा प्रतिकेजी रु ३० का दरले बिक्री गर्नुहुन्छ ।’ गड्यौलाको बीउ प्रतिकेजी रु एक हजार ७०० का दरले बिक्री गरेको कृषक लामिछानेले बताए । लगानी र मिहिनेत कम लाग्ने तर गड्यौला र मल दुवै बिक्री गरेर दोहोरो फाइदा लिन सकिने भएकाले पनि यसतर्फ कृषकको आकर्षण बढ्दै गएको हो । गड्यौले मलको प्रयोगले उत्पादनमा वृद्धि हुने, स्वस्थ र अर्गानिक उत्पादनमा सहयोग पुग्ने र माटोको उर्वराशक्ति बढाउने भएकाले यहाँका कृषक गड्यौलापालनतर्फ आकर्षित भएका कृषक लामिछाने बताउँछन् । कृषक लामिछानेले तीन वटा पिटबाट वार्षिक रूपमा पाँच हजार केजीभन्दा बढी मल उत्पादन गर्दै आएका छन् । मलबाहेक गड्यौलाको बीउ पनि बिक्री गरी राम्रो आम्दानी हुने गरेको छ । बजारबाट गड्यौले मल किनेर तरकारी उत्पादनमा प्रयोग गर्दै आएका वालिङ–८ का व्यावसायिक कृषक फालचन्द्र कोइरालाले केही दिनअघिदेखि गड्यौला पाल्न सुरु गरेका छन् । गड्यौले मलको प्रयोग गर्दा उत्पादन बढेको महसुस गरेका कोइरालाले आफैँले गड्यौले मल उत्पादन गर्ने उद्देश्यले वालिङ प्रोडक्ट होल्डिङबाट गड्यौलाको बीउ खरिद गरेर गड्यौलापालन थालेका हुन् । ‘रासायनिक मलको विकल्पमा गड्यौले मल किनेर प्रयोग गर्दै आएको थिएँ, कृषक कोइरालाले भने, यसको प्रयोगले उत्पादनमा वृद्धि भएसँगै रासायनिक मललाई विस्थापित गर्न आफैँले गड्यौले मल उत्पादन गर्ने सोच बनाएर गड्यौला पाल्न थालेको हुँ ।’ सुरुमा थोरैबाट सुरु गरेका कोइरालाले विस्तारै थप गर्दै लैजाने तयारीमा छन् । रासायनिक मलको धेरै प्रयोग गर्दा माटोलाई साह्रो र कसिलो बनाउने तर गड्यौले मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउन मद्दत पुग्ने भएकाले पनि गड्यौले मलको प्रयोगतर्फ कृषक आकर्षित हुँदै गएको कृषि विकास कार्यालय स्याङ्जाका कृषि अर्थविज्ञ नारायणप्रसाद पाठक बताउँछन् । रासायनिक मलको विकल्पमा गोठे मल तथा कम्पोस्ट मलभन्दा राम्रो र उपयोगी गड्यौले मल हुन्छ । गड्यौले मलमा भएको खाद्य तत्त्व बिरुवाले छिटोछरितो रूपमा ग्रहण गर्न सक्ने, माटोको उर्वराशक्ति बढाउन मद्दत गर्ने, माटोमा चिस्यानको मात्रा कायम राख्ने भएकाले पनि यो मल बढी उपयोगी र प्रभावकारी रहेको उनको भनाइ छ । यहाँ उत्पादन भएको मल तथा बीउ वालिङसहित चापाकोट, भीरकोट, गल्याङ र पाल्पाको रामपुरका व्यावसायिक कृषकले खरिद गरी लैजाने गरेका सहकारीका गड्यौले मल बिक्री शाखाका व्यवस्थापक अनिता कोइरालाले बताइन् । सहकारीमार्फत तथा सहकारीमा आबद्ध व्यावसायिक कृषकले उत्पादन गरेका गड्यौले मल तथा बीउ सहकारीमार्फत प्रशोधन गरेर बजार पठाउने गरिएको छ । सहकारीले मलको प्रशोधन गरेपछि पाँच, १०, २० र २५ केजीका बोरामा प्याकेजिङ गरेर ‘वालिङ गड्यौले मल’को नामबाट बजारीकरण गरिँदै आएको छ । “अहिले बिक्री भइरहेका ठाउँमा कृषक आफैँ आएर खरिद गरेर लैजानुहुन्छ”, व्यवस्थापक कोइरालाले भनिन्, “टाढाटाढाबाट पनि मल तथा बीउको माग हुने गरेको छ, तर अहिले टाढाटाढासम्म पुर्‍याउन सकिएको छैन ।” आलु, गहुँ, तोरी, खुर्सानी, धान, मकै तथा तरकारी बालीमा कृषकले गड्यौले मलको प्रयोग गर्दै आएका छन् । पछिल्लो समय वस्तुभाउ पाल्ने क्रम हराउँदै जाँदा पनि गड्यौले मलको प्रयोग बढ्न थालेको हो। वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीले पढ्दै कमाउँदै कार्यक्रम लागू भएका सामुदायिक विद्यालयमा गड्यौला पालन कार्यक्रमका लागि सहयोग गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

प्रभु साहको आरोप- रवि लामिछानेले बालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन्
OthersJust now

प्रभु साहको आरोप- रवि लामिछानेले बालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन्

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् । सरकार बनेको ६ महिना व्यतित नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई विस्थापित गर्नेगरि षड्यन्त्र गरिरहेको साहको टिप्पणी छ । आज (शुक्रबार) रौटतहको गरुड़ामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारलाई ...

पर्दाफास
युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
OthersJust now

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो । यो सन् २०२२ को गर्मीयाममा भएको २९ हजार ४८० ...

पर्दाफास
एउटै फर्सीको तौल १४३१ किलो, विश्व कीर्तिमान तोड्ने दाबी
OthersJust now

एउटै फर्सीको तौल १४३१ किलो, विश्व कीर्तिमान तोड्ने दाबी

अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार १५६ पाउन्ड (करिब एक हजार ४३१ किलोग्राम) तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ । हाल कायम कीर्तिमानभन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ । रोड आइल्यान्डको ग्रीनका उत्पादक रोन वालेसले न्यु इङ्गल्यान्डमा आयोजित प्रतियोगितामा आफ्नो फर्सीको ...

पर्दाफास
फ्रान्सकै जस्तो हिंसात्मक बाटोमा छ बेलायत ?
OthersJust now

फ्रान्सकै जस्तो हिंसात्मक बाटोमा छ बेलायत ?

फ्रान्समा लाखौं नागरिक प्रदर्शनमा उत्रिएपछि यसले युरोपभर सामाजिक असन्तुष्टिको आगो सल्काएको छ। आप्रवासनलाई लिएर विवादित भइरहेको बेलायतमा पनि फ्रान्सकै जस्तो हिंसा भड्किन सक्ने चिन्ता व्यक्त हुन थालेको छ। के साँच्चै बेलायत फ्रान्सकै बाटोमा जाँदै छ त ? ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play