राष्ट्रसङ्घले प्रतिबन्ध लगाएका अखलाघी बने इरानका नयाँ रक्षामन्त्री, अमेरिकालाई दिए कडा चेतावनी

काठमाडौं- इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगीहरूले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् । इरानी संसदबाट विश्वासको मत प्राप्त गरेपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै अखलाघीले अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावना न्यून रहेको बताए । तर त्यस्तो कदम चालिए अमेरिका र सम्पूर्ण क्षेत्रले गम्भीर परिणाम भोग्नुपर्ने उनको भनाइ थियो । ‘जनता ढुक्क भएहुन्छ, उनीहरूले हामीमाथि आक्रमण गर्ने आँट गर्ने सम्भावना निकै कम छ । तर यदि उनीहरूले त्यसो गरे भने उनीहरू आफैं र सम्पूर्ण क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्नेछ’, अखलाघीले भने । इरानी संसद्का सदस्यहरूले उनलाई नयाँ रक्षामन्त्रीका रूपमा नियुक्त गर्न अनुमोदन गरेका हुन् । सरकारी टेलिभिजनका अनुसार आइतबार भएको मतदानमा उनले खसेको कुल २७७ मतमध्ये २३७ मत प्राप्त गरेका थिए । उनले रक्षा तथा सशस्त्र बलको रसदसम्बन्धी मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । अखलाघीले पूर्वरक्षामन्त्री अजिज नासिरजादेहको स्थान लिएका छन् । नासिरजादेहको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणमा मृत्यु भएको थियो । उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित वरिष्ठ सैन्य कमान्डरहरू पनि मारिएका थिए । इरानको सरकारी समाचार संस्था आईएसएनएका अनुसार मतदानअघि अखलाघीले आफूले जिम्मेवारी पाए देशको रक्षाका लागि संवेदनशील परिस्थितिको गहन विश्लेषण र पूर्ण तयारी आवश्यक हुने बताएका थिए । उनले वर्तमान परिस्थितिको सही मूल्याङ्कन, घटनाक्रम पछाडिका कारणको बुझाइ, प्रभाव पार्ने प्रवृत्तिको पहिचान तथा भविष्यमा उत्पन्न हुनसक्ने विभिन्न अवस्थाको सामना गर्ने तयारीलाई देशको रक्षाका लागि महत्वपूर्ण मानेका छन् । सैन्य दर्जा नभए पनि अखलाघीले इरानको रक्षा मन्त्रालयमा ४२ वर्ष काम गरिसकेका छन् । सन् २०१३ देखि उनले इरानको सरकारी हतियार उत्पादक निकाय रक्षा उद्योग सङ्गठनको नेतृत्वसमेत सम्हाल्दै आएका छन् । संयुक्त राष्ट्रसङ्घले सन् २००७ मा परमाणु तथा ब्यालेस्टिक क्षेप्यास्त्रसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा अखलाघीमाथि प्रतिबन्ध लगाएको थियो । अमेरिका र इजरायलको आक्रमणपछि इरानले प्रतिकारस्वरूप विभिन्न सैन्य कारबाही सञ्चालन गरेको थियो । यस्तो अवस्थामा नयाँ रक्षामन्त्रीको चेतावनीले मध्यपूर्वमा पुनः सैन्य तनाव बढ्नसक्ने चिन्ता थपिएको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

बाढीपहिरोबाट जलजलाका ३१६ घरमा क्षति, ३५ परिवार विस्थापित
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको जानकारी दिए । ...

महत्त्वपूर्ण खेलमा नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। ...

म्याग्दी, गोरखा र सुर्खेतमा मुख्य राजमार्ग अवरुद्ध
पहिरो तथा बाढीका कारण म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा सडक आवागमन प्रभावित भएको हो। ...

चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ रामारोशन
सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन प्राकृतिक सौन्दर्य, तालतलैया र हरियाली पाटनका कारण परिचित छ । यहाँका १२ वटा ताल र १८ वटा ठूला मैदानले यस क्षेत्रलाई विशिष्ट पहिचान दिएका छन् । ...


